भूमिकर तथा सम्पति कर बढेकोमा ध्यानाकर्षण

२०८० श्रावण २८, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा – गौरादह नगरपालिकाले आर्थिक बर्ष २०८० /०८१ बाट लागु हुनेगरी कर बढाएको प्रति यहाँका दुई राजनीतिक दलले नगरपालिकाको ध्यानाकर्षण गरेका छन् । नगरपालिकाभित्र क्रियाशील नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार नगरप्रमुख छत्रपति सुवेदीलाई छुटाछुटै भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

रास्वपाका गौरादह नगर सभापति जगत अधिकारीको नेतृत्वमा गएको टोलीले ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा मालपोत कार्यालयमा ५००० वर्गमिटर भन्दा बढी क्षेत्रफललाई कृषि क्षेत्रमा गणना हुने तर नगरपालिकाले पक्की बाटो छोएको जग्गाको जतिसुकै क्षेत्रफल भए पनि सहरी, आवासीय क्षेत्र भनि बर्गिकरण गरि सम्पति कर लिएको उल्लेख छ ।

ध्यानाकर्षण पत्र बुझाउँदै रास्वपा गौरादह नगर सभापति जगत अधिकारी

यस्तै, एकीकृत सम्पति करमा घरले चर्चेको क्षेत्रफललाई दोब्बरसम्म र घरको मोलसमेत जोडी पुन: उक्त कित्ताको सम्पूर्ण क्षेत्रफलको मोलसमेत कोडी सम्पति कर लिँदा एकै जग्गाको घरले ओगटेको क्षेत्रफलको दोहोरो कर लिएको, भूमि मालपोत करमा बृद्वी भएको, घरबहाल कर २% बाट बढाएर ६% बनाएको, नगर र वडाले प्रदान गर्ने सिफारिस शुल्कमा व्यापक बृद्वी गरेको उल्लेख गरिएको छ ।

यस्तै, सो पार्टीले राजस्व परामर्श समिति र जनप्रतिनिधिको भूमिका प्रयाप्त नदेखिएको, महारानीझोडा अनतर्गतको भूमि समस्यालाई हल गरेपछि मात्र बृहत कर प्रणाली लागु गर्नुपर्ने माग गरेको छ । रास्वपाले बुझाएको पत्रमा नगरको आम्दानीका स्रोत बढाउन तीन बुंदे सुझाव समेत समेटेको छ ।

नेपाली कांग्रेस गौरादहले बुझाएको ध्यानाकर्षण पत्र

नेपाली कांग्रेसले पनि गौरादहका ९ वटै वडा र नगरपालिकामा ध्यानकर्षण पत्र बुझाएको छ ।प्रत्येक वडामा कांग्रेस वडासभापति र नगरमा गौरादह नगरपालिकाका निवर्तमान नगरप्रमुख रोहितकुमार साहको नेतृत्वमा तीन बुंदे ध्यानकर्षण पत्र बुझाएको हो ।

कांग्रसले बुझाएको पत्रमा भूमिकर तथा सम्पति कर संशोधन गर्नुपर्ने, भूमिको अबैज्ञानिक वर्गीकरण व्यवस्थित गर्दै बैज्ञानिक बनाउनुपर्ने र बाटोको प्रकृति अनुसार भूमिकर लिने प्राबधान अबैज्ञानिक भएकाले उत्पादकत्व अनुसार भूमिकर कायम गरिनुपर्ने माग गरिएको छ । पत्र बुझाउने क्रममा निबर्तमान नगरप्रमुख साहले जनभावनाविपरीत काम भएकाले नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय