झापा/ सत्तारुढ पार्टी नेकपा एमालेको गौरादह नगर अधिवेशन यहि जेठ ४ र ५ गते हुँदैछ । अधिवेशन नजिकिएसँगै नगर अध्यक्ष काे बन्ने ? पार्टी भित्र चर्चा सुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निर्वाचन क्षेत्र भित्र पर्ने गाैरादहकाे नगर अध्यक्ष बन्न तीन/चारजना शक्ति केन्द्र धाउन थालेका छन् ।
पार्टीको अध्यक्ष भएर पनि शक्ति केन्द्रले बजाएकाे मादलकाे तालमा नाच्नुपर्ने गाैरादह, दमक, कमल र गाैरीगञ्जकाे नियति नै हाे । तर,ग्रासरुटका कार्यकर्ताहरू नगरकाे नेतृत्व नगरकाे संगठन निर्माण गर्ने व्यक्तिलाई दिनुपर्ने बताउँछन् ।
गाैरादह, पञ्चायत कालदेखि कम्युनिस्ट कार्यकर्ता जन्माउने कारखाना नै मानिन्छ । यस्तो ठाउँमा एकसा एक नेता छन् । ति मध्ये पनि नगर हाँक्न सक्ने नेतृत्वकाे वागडाेर लिन सक्ने नेता दुर्गा गौतम मात्र भएको स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
गाैतमकाे पारिवारिक पृष्ठभुमि कम्युनिस्ट हाेइन । काङ्ग्रेस परिवारमा जन्मिए पनि गौतमले पारिवारिक विचारलाई चटक्कै छाेडेर घरका एक्ला कम्युनिस्ट बने । विचारधारा जे भए पनि उनको राजनीतिक यात्रामा पारिवारिक असहयोग भने भएन ।
एमाले, जनताकाे बहुदलीय जनवाद, पार्टी , संगठन र पार्टीले ताेकेका उम्मेदवारलाई चुनाव जिताउँदा जिताउँदै कपाल पाक्न लागेका नेता हुन्, गाैतम । तत्कालीन गाैरादह गाउँ कमिटी एक कार्यकाल अध्यक्ष बनेका गाैतमले दुई कार्यकाल क्षेत्रीय कमिटीको सदस्य बनेर काम गरे ।
हालसम्म राजनीतिक नियुक्ति र जनप्रतिनिधि बन्ने अवसर नपाएका गाैतम द्वन्द्वले मुलुक जलिरहेका बेला माओवादीकाे बन्दुकसँग बिचाररकाे लडाइँ लड्दै युवा संघ झापाकाे अध्यक्ष बने । लगातार तीन कार्यकाल अध्यक्ष बनेका उनले द्वन्द्वको चाङलाई पन्छाउदै पार्टीको संगठन गरे ।
माओवादी धम्की, पार्टी परिवर्तनको दवाव, एमाले माथिकाे हस्तक्षेप जस्ता विषम परिस्थितिलाई पन्छाएर संगठनमा हाेमिएका गाैतम साेहि कारण युवासंघको एक कार्यकाल केन्द्रिय सदस्य र सचिवालय सदस्य बन्न सफल भए । त्यति मात्र हाेइन, उनलाई नेतृत्वले पत्यायाे र त्यसै बेला युवासंघको मेची इन्चार्ज बनायाे ।
गाैतम पार्टी प्रति सतिसाल जस्तै दृढ छन् । शक्ति केन्द्रसँग फरक मत राखेर अघि बढ्न सक्ने उनकाे क्षमता कै कारण अहिले उनको नाम नगर अध्यक्षमा प्रस्ताव गरिएको छ ।
जनता मावि गौरादहमा कक्षा ८ मा पढ्दै गर्दा अनेरास्ववियुमा संगठित भएका गाैतम गाैरादह क्याम्पसकाे समेत अध्यक्ष बने । १५ वर्षको उमेरमा अनेरास्ववियुमा लागेर कम्युनिस्ट राजनीतिमा पाइला टेकेका गाैतम पछि झापा जिल्ला सदस्य समेत भए ।
कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन, युवा संगठनमा काम गरेको अनुभवकाे भारी छ, उनीसँग । उनी भन्छन् – पार्टीको विरासद अब मदन भण्डारी र मनमाेहनका आदर्शले मात्रै जाेगाउन सकिन्न । केन्द्रीय नेतृत्व प्रति ओैंला ठड्याउन सक्ने स्थानीय नेतृत्व अबकाे आवश्यकता हाे । २०५१ सालमा एमालेकाे संगठित सदस्यता लिएका गाैतमले सामाजिक क्षेत्रमा पनि थुप्रै सार्वजनिक पदमा बसेर काम गरेका छन् ।
उनले तत्कालीन झापा उद्योग वाणिज्य संघ गौरादह शाखाको सदस्य, गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे उपाध्यक्ष भएर काम गरिसकेका छन् ।
उमेरले ५० वर्ष पुगेका गाैतम हालसम्म धैर्य भएर पार्टी नेतृत्वले दिएको जिम्मेवारी पुरा गरिरहेकाे बताउँछन् । उनले भने- `म कुनै गुटकाे उमेदवार हाेइन । व्यक्ति भन्दा पार्टीको सामुहिक हितमा काम गर्ने मेराे लक्ष्य हाे ।´
साथीहरूकाे भब्य सहयोग रहेकोले गाैतम पार्टी अध्यक्ष बन्न सक्ने स्थानीय एमाले कार्यकर्ता बताउँछन् ।