प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि कमल ३ लाई

२०८१ बैशाख २३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कमल गाउँपालिका १ को वडा खेलकुद विकास समितिद्वारा आयोजित प्रथम वडास्तरीय वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ ।

सरङपाडामा अवस्थित नरेन्द्र जनता माविको खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ६ लाई १–० गोल अन्तरले हराउँदै वडा नम्बर ३ विजयी भएको हो ।

वडा नम्बर ३ का दिनेश मगरले दोस्रो हाफमा गरेको एक गोल नै निर्णयक बनेको थियो । उनले ५४औं मिनेटमा गोल गरेका थिए । विजेता वडा नम्बर ३ ले नगद ४० हजार नगद सहित ट्रफी, मेडल,प्रमाणपत्र प्राप्त गर्यो ।

उपविजेता वडा नम्बर ६ ले रु २० हजार नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । फाइनल खेलमा वडा नम्बर ३ का दिनेश मगर म्यान अफ दि म्याच घोषित हुँदै रु १५०० नगद पाए । त्यस्तै वडा नम्बर १ का १४ वर्षिय कलश अधिकारी उदयमान खेलाडीका रुपमा घोषित भए । उनले नगद रु १५०० प्राप्त गरेका थिए ।

वडा नम्बर ६ का विवेक लिम्बु म्यान अफ दि टुर्नामेन्ट घोषित भइ रु १५०० प्राप्त गर्न सफल भए । उनको खेल कौशलको चौतर्फी तारिफ भएको थियो । यस्तै, उत्कृष्ट गोलरक्षकको उपाधी वडा नं. ३ का ब्रोमिश लिम्बुले हासिल गरे । उनलाई पनि नगद १५०० ले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख हुकुमसिंह राईले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको बताए । अन्य पालिका भन्दा कमल गाउँपालिका खेलकुदमा पछि नपरेको उनले बताए । हरेक वडामा एक खेलमैदान निर्माण गर्ने योजनाका साथ पालिका लागिपरेको बताए ।

गाउँपालिकाले कमलमा खेलाडीहरुलाई सक्रिय बनाउनका लागि विभिन्न खेलकुद प्रतियोगिता गर्दै आएको पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताइन । साथै आगामी दिनहरुमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता र अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन गरिने उनको भनाई रहेको थियो । उक्त प्रतियोगितामा कमल गाउँपालिकाका ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिता गत बैशाख १७ गतेदेखी सुरु भएको थियो ।

वडाध्यक्ष केदार कटुवालको सभापतित्वमा भएको समापन कार्यक्रममा गाउँपालिका हुकुमसिंह राई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, वडा नं. २ का वडाअध्यक्ष अशोक सुब्बा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार