‘बिहीबारदेखि चार प्रदेशमा यस वर्षकै बढी वर्षा हुने’

२०७७ असार २४, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि चार प्रदेशमा यो वर्षकै बढी पानी पर्ने जनाएको छ। चार दिनसम्म भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

असार २५ देखि असार २८ गतेसम्म प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने प्राधिकरणले जनाएको हो। यस वर्ष वैशाखदेखि नै धेरै पानी परिरहेकाले बिहीबारदेखि हुने भारी वर्षाले बाढी, डुबान र पहिरोको जोखिम बढ्ने प्राधिकरणको भनाइ छ।

पहाडी भेगको माटो गलिसकेकाले बिहीबादेखि हुने वर्षाले कतिपय स्थानमा पहिरोसमेत जानसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

शुक्रबारदेखि आइतबारसम्म कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी आउन सक्ने र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ। १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ।

तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवनलगायतका जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। ठूला नदीनालामा आउने बाढीको जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नं. ११५५ र आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको टोल फ्री नं. ११४९ मा २४ घण्टा सेवा उपलब्ध हुने जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय