कमलमा पहिलोपटक वृत्ती परामर्श तथा रोजगार मेला हुदै

२०८० असार १५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको कमलमा यहि असार १६ गते वृत्ती परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ ।नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुरयाउने उद्धेश्यले कमल गाउँपालिकाले कमल उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजना गरिने मेलाका बिषयमा गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

हेल्भटास नेपालको प्राविधिक सहयोगमा कमल ३ स्थित केर्खामा रहेको केर्खा खैलामैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन हुने मेलामा गाउँपालिकाको रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहने जनाइएको छ । त्यहाँ रोजगारको खोजीमा रहेका र प्राविधिक धारको बिषय पढन चाहने बिद्यार्थीहरुलाई राज्यका तर्फबाट उपलब्ध हुने सेवा सुविधा लगायतका बिषयहरुको बारेमा समेत जानकारी गराइने पत्रकार सम्मेलनमा जनाइएको छ ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाबासीलाई यो मेलामा सहभागी भएर आवश्यक जानकारी लिन आव्हान गरे । उनले कमलमा पहिलो पटक यस किसिमको मेला आयोजना भएकाले यसको विशिष्ट महत्व रहने पनि उल्लेख गरे ।

गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले रोजगारका अवसरहरुको बारेमा सुसुचित गराउने मुख्य लक्ष्यसहित स्थानीय उत्पादनहरुको बजारीकरण र प्रवद्र्धनका लागि समेत यो मेला सहयोगी बन्ने विश्वास व्यक्त गरिन् । हेल्भटास नेपालका रामअवतार यादवले सीप सिक्न चाहने र आत्मनिर्भर बनाउने काममा यसले सहयोग पुरयाउने बताए । सो मेलाको उदघाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले गर्ने जनाइएको छ । उक्त कार्यक्रम पालिकास्तरमा झापाको दमक र कमलमा आयोजना गरिएको र जिल्लाका चार वटा विद्यालयमा समेत प्राविधिक विषयमा सहयोग पुरयाँउदैआएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार