‘कृषिलाई बढी प्राथमिकता’

२०७८ श्रावण ३, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

झापाको पश्चिम दक्षिण क्षेत्रमा अवस्थित गौरादह नगरपालिका जिल्लाकै कान्छो नगरपालिकामध्ये पर्दछ । साविक बैगुनधुरा, महारानीझोडा, गौरादह, कोहभरा र जुरोपानी गाविस मिलेर बनेको यो नगरपालिकाको कुल जनसङ्ख्या ६० हजारभन्दा बढी रहेको छ ।

कान्छो नगरपालिका भएकाले सडक बिजुली कार्यालय भवन जस्ता भौतिक पूर्वाधार निर्माणका कुरा यहाँको मुख्य चुनौती रहेको हुन् तर स्थानीय सरकार निर्माणसँगै पूर्वाधार विकासले बिस्तारै गति लिएको छ । गत २०७४ सालको निर्वाचनमा यस नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रोहितकुमार साह निर्वाचित हुनुभएको छ ।

  • गौरादह नगरपालिकामा स्थानीय सरकारले आफ्नो चार वर्षको कार्यकालमा के कस्ता विकास निर्माणका कामहरू गरेको छ ?

गौरादह नगरपालिका जिल्लाकै सबैभन्दा कान्छो नगरपालिका मध्येको हो । यहाँ जनप्रतिनिधिको रूपमा हाम्रो टीम आउँदा अधिकांश भौतिक पूर्वाधार विहीन अवस्थामा थिए । जसले गर्दा सुरुका दिनमा कार्य सम्पादनमा धेरै समस्या भएको थियो । यिनै समस्याले गर्दा स्थानीय सरकारले भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दियौँ । अहिले चार वर्षभित्रमा नगरभित्रका अधिकांश वडा कार्यालयहरू आफ्नै भवनबाट काम गर्न थालिसकेका छन् ।

नगरका २, ३, ४, ८ र ९ नं. वडाको वडा कार्यालय भवन नयाँ निर्माण भइसकेका छन् । साबिकका पाँचवटा गाविस मिलेर बनेको नगरपालिकाका अधिकांश भित्री सडक कच्ची थिए । स्थानीय सरकारले यी सडकको स्तरोन्नती गरी ग्राभेल गरिसकेको छ । सडक अन्तर्गत पर्ने आवश्यक नदीमा पक्की पुल, कल्भट, निर्माण सम्पन्न गरिएको छ । अब चाँडै पिच गर्ने योजनाअघि बढाइएको छ । धेरै बस्तीमा विद्युत् बिस्तार हुन सकेको थिएन । अहिले नगरको ९० प्रतिशत घरमा बिजुली पु¥याउन सफल भएका छौँ । ग्रामिण बस्ती धेरै भएको यो नगरपालिकामा परम्पारदेखि लाग्दै आएका साप्ताहिक हाटबजारलाई साजसजावट, टाली ओछ्याउने र ढल निर्माण गरी व्यवस्थित बनाइएको छ ।

नगरभित्रका गौरादह, डोरामारी, बालुबथान, कोहभरा र दामुना हाटबजारमा छाना हाल्नेदेखि पूर्वाधार निर्माण सम्पन्न भएको छ । जसलाई नगरको आम्दानीको दिगो श्रोतको रूपमा विकास गरिएको छ । यो नगरभित्रका मानिसको मुख्य पेशा कृषि भएकाले कृषि थोक बजार स्थापना गरी सहज बनाइएको छ ।

  • नयाँ नगरपालिकामा पहिलो पटक स्थानीय सरकार गठन भएपछि कस्ता चुनौती खेप्नु परेको थियो ?

तीन तहका सरकार बीचको समन्वय नहँुदा अधिकांश विकास निर्माणदेखि किसानको अनुदान कार्यक्रमसमेत प्रभावित हुने कुरा मुख्य चुनौतीका रूपमा देखियो । सङ्घीय र प्रदेश सरकारले नगरभित्र गरेका अधिकांश योजनामा स्थानीय सरकारले थाहा नपाउने समस्या रहेको थियो । जसले कतिपय नयाँ योजना बनाउन नै समस्या भयो । अनुदान वितरणमा समेत समन्यव नगरि माथिबाट वितरण हुँदा वास्तविक किसानले नपाउने र नक्कली किसानले दोहोरो सुविधा लिने क्रम बढ्यो ।

कर्मचारी समायोजनदेखि कानुनी जटिलतासमेत भोग्नु परेको छ । यो चार वर्षको कार्यकालमा संरचना अनुसार कर्मचारी नहुनु अर्को चुनौतीको रूपमा भोग्नु प¥यो । यहाँ प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुख बाहेक सबै शाखामा अधिकृत दरबन्दी खाली नै भए । गौरादह नगरपालिकाको कार्यपालिकामा नगर प्रमुख अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास हुन त्यति नै समस्या भए । यो अवस्थामा नेपालको ऐन नै संशोधन गरेर पालिका प्रमुखसहितको बहुमतले पास गर्नु पर्ने व्यवस्था राख्नु पर्ने आवश्यक देखियो ।

अधिकांश स्थानीय तहमा पालिकाका प्रमुख, उपप्रमुखसहित बहुमत कार्यपालिका भएका क्षेत्रमा त्यस्ता समस्या देखा परेनन् । कार्यपालिकामा बहुमत एउटा पार्टीको हुने र पालिकाका प्रमुख नै अर्कैपार्टीको हुँदा प्रमुखको सहमति बिनानै कार्यपालिकाको बहुमतले काम गर्दा वार्षिक नीति कार्यक्रमसमेत प्रभावित भएको अनुभव यो पालिकामा रहेको छ ।

  • यस नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कस्तो रहेको छ ?

अन्य अवस्थामा भन्दा शिक्षा क्षेत्रमा गौरादह नगरपालिका अब्बल रहेको छ । कुल ३२ वटा सरकारी विद्यालय मध्ये आठवटा माध्यमिक विद्यालय रहेका छन् । त्यस्तै निजी विद्यालयको अवस्थासमेत धेरै खुलेका छन् । एउटा कृषि क्याम्पससमेत रहेको छ । जहाँ बिएसीएजीसम्मको अध्ययन हुने गरेको छ भने एउटा बहुमुखी क्याम्पससमेत सञ्चालनमा रहेको छ । यतिका विद्यालय सञ्चालन भएपनि माध्यमिक विद्यालयमा भने अङ्ग्रेजी, विज्ञान र गणित विषयमा अहिले पनि विषय शिक्षकको अभाव रहेको छ । समयमा विषय शिक्षकको दरबन्दीमा नयाँ शिक्षक नियुक्ति गर्नु पर्ने आवश्यक छ ।

नगरमा सबै वडा कार्यालयमा आधारभूत स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् भने एउटा सहरी स्वास्थ्य केन्द्रसमेत सरकारको तर्फबाट सञ्चालनमा रहेको छ । शिक्षामा जस्तै स्वास्थ्यमा पनि दरवन्दी अनुसारका चिकित्सक छैनन् । नगरभित्र रहेका निजी तथा सरकारी अस्पताललाई व्यवस्थित गरी सञ्चालन गरिँदै आएको छ ।

  • अधिकांश भूमि कृषि क्षेत्र र अधिकांश नगरवासी किसान भएको नगरमा कृषि क्षेत्रका लागि विशेष योजना कस्ता छन् ?

यस नगरको मुख्य आम्दानीको मुख्य स्रोत कृषि भएकाले कृषिलाई व्यवसायीकरणमा जोड दिएको छ । वार्षिक नीति तथा कार्यक्रममा सबै भन्दा बढी कृषिलाई प्राथमिकता दिएका छाँै । सबैभन्दा पहिला भूमिको पहिचान गरी कुन क्षेत्रमा कस्तो खेती गर्न उपयुक्त हुन्छ भन्ने अध्ययन गरी खेतीलाई विभिन्न वर्गमा छुट्याइएको छ । नगरभित्र खेती योग्य जमिनलाई पकेट, ब्लक, जोन र सुपर जोन क्षेत्र घोषणा गरी उत्पादनलाई प्राथमिकता दिएको छ । धान, च्याउ र बाख्राको पकेट क्षेत्र छुट्याइएको छ ।

यस्तै धान र माछा ब्लक क्षेत्र घोषणा गरिएको छ । जोन र सुपर जोन क्षेत्र भनेर धान उत्पादनलाई छुट्याइएको छ । पेशाबाट विस्थापित भएका किसानलाई खेतीमा फर्काउन आधुनिक प्रविधि मैत्रीसमेत बनाउँदै लगिएको छ । हरेक वर्ष किसानलाई अनुदानमा हाते मेसिन, धान काट्ने सानो मेसिन, पावरटेलर, बोरिङ, बीउ तथा मलसमेत उपलब्ध गराउँदै आएको छ । यस्तै निःशुल्क पशु बीमा कार्यक्रम निक्कै प्रभावकारी बन्दै गएको छ । अनुदानमा नै पशुको दाना बनाउने मेसिन चिलिमेभ्याट, खोप, औषधि र ह््रयाचरीमा नगरले वार्षिक रूपमा नै कार्यक्रम छुट्याउँदै आएको छ ।

  • नगरभित्रका योजना नीति कार्यक्रम कतिको पारदर्शी छन् ?

नगरले सञ्चालन गरेका हरेक योजना, बजेट तथा कार्यक्रम नगर सभाबाट पास गरिएका मात्र छन् । राजस्व सबै कम्प्युटर बिलिङ प्रविधिमा रहेकाले यसमा समस्या छैन । सामाजिक सुरक्षा भत्ता सबै बैङ्क मार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको छ । त्यसैले कार्यालयका सबै काम पारदर्शी बनाइएको छ ।

  • आफ्नो कार्यकाल भरिमा नगरलाई कस्तो बनाउने लक्ष्य रहेको छ र कति पुरा भए ?

नगरभित्रका सबै फुसको छानो हटाएर टिनको छानो हाल्ने पहिलो योजना लगभग पुरा हुने अवस्थामा पुगेको छ । अगामी एक वर्षभित्रमा सबै फुसको छानो हटाउने योजना रहेको छ । कम्तिमा सबै बस्तीलाई ग्राभेल सडकले जोड्ने योजना छ । यसका लागि केही स्थानमा कल्भट, पक्की पुल निर्माणको काम धमाधम भइरहेको छ । सबै घरमा विद्युत् विस्तार गरी सक्ने योजना रहेको छ । यस्तै ग्रामिण बजार व्यवस्थित गरेर स्थानीय उत्पादन बिक्री वितरणलाई सहज बनाउने योजना छ । बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण, अपराध नियन्त्रण ठाउँ ठाउँमा सीसी क्यामेरा जडान गरिसक्ने योजना रहेको छ ।

त्यस्तै नगरभित्रका सबै वडा कार्यालयको काम आफ्नै भवनबाट सेवा प्रदान गर्ने गरी योजनाअघि बढाइएको छ । यो योजना अन्तिम चरणमा पुगेको छ । अहिले परीक्षणको रूपमा रहेको स्वास्थ्य बीमा र पशु स्वास्थ्य बीमा कार्यक्रम नगरका सबै वडामा लगिने छ । गौरादहलाई स्मार्ट सिटी निर्माणका लागि सङ्घीय र प्रदेश सरकारसँग निरन्तर पहल भइरहेको छ ।

  • विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड–१९ को उपचार व्यवस्थापन कसरी सञ्चालन भएका छन् ?

यो महामारीबाट हाम्रो नगर पनि अछुतो रहन सकेन । नगरमा पहिलो बन्दाबन्दीपछि नै सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको थियो । सक्रिय सङ्क्रमितलाई उपचार गर्न नगरले ३० बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ । विभिन्न दुई स्थानमा गरी एक सय जनाको क्षमता भएका क्वारेन्टाइन सञ्चालन गरिएका छन् । नगरभित्र अहिलेसम्ममा १५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने दुई सय जना भन्दाबढी सङ्क्रमितको उपचार भएको छ । सङ्क्रमितका लागि नगरले निःशुल्क एम्बुलेन्स र औषधिको व्यवस्था गरेको जनाइएको छ ।

नगरप्रमुख साहसँग गोरखापत्रका झापा समाचारदाता टीकाराम उप्रेतीले समसामयिक विषयमा गर्नुभएको कुराकानी 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार