झापा, कात्तिक २०। एलभीडी झापा महिला गोल्डकप अन्तर्गत बिहीबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको दुधे रंगशालामा भएको खेलमा आर्मीले सुरुदेखि नै खेलको नियन्त्रण आफ्नो पक्षमा राख्दै आक्रामक प्रदर्शन गरेको थियो । खेलको १६औं मिनेटमा विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसअघि १०औं मिनेटमा विमला चौधरीले गोलको अवसर गुमाएकी थिइन् ।

३३औं मिनेटमा हिमा चौधरीको असिस्टमा विमला चौधरीले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन् । पहिलो हाफको इन्जुरी समयमा विमला विकले कर्नरबाट आएको बलमा उत्कृष्ट फिनिसिङ गर्दै आर्मीलाई ३-० को अवस्थामा पुर्याइन् ।
दोस्रो हाफमा पनि आर्मीले बल पोजेसन र आक्रमणमा दबदबा कायम राख्यो । खेलको ८५औं मिनेटमा सञ्जु कुमालको पासमा विमला चौधरीले व्यक्तिगत दोस्रो गोल गरिन् । ९०औं मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै स्कोरलाई ५-० बनाइन् । इन्जुरी समयमा अनिता लम्जेलको कर्नरमा विमला चौधरीले हेडर गोल गर्दै ह्याट्रिक पूरा गरिन् र आर्मीको जितलाई ६–० मा टुङ्ग्याइन् ।
आर्मीका लागि विमला चौधरीले ह्याट्रिक गर्दा विमला विक, जेनिफर राना र शर्मिला थापाले एक–एक गोल गरे। पोखराको डिफेन्स र गोलकिपिङ कमजोर रहँदा आर्मीको पासिङ र फिनिसिङ प्रशंसनीय देखियो ।
खेलकी प्लेयर अफ द म्याच आर्मीकी विमला चौधरी घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन् ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुटबल क्लबबीच तथा दोस्रो सेमिफाइनलमा एपिएफ र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते दुधे रंगशालामा हुनेछ । विजेताले १० लाख १० हजार रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ तथा विभिन्न उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।





