तेक्वान्दो टोली जापान जाँदै

२०८२ बैशाख ११, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
काठमाडौं । तेक्वान्दो टोली जापान प्रस्थान वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गरेको छ ।

अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ३ महिला खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६८ केजीमुनि विमल रोकायाले प्रतिस्पर्धा गर्ने छन् । महिला ७८ केजीमुनि मुना खवास मगर, ५२ केजीमुनि एन्जुना राई र ४२ केजीमुनि डोल्पा लामाले खेल्ने छन् ।
व्यवस्थापकमा समी पौडेल शर्मा छिन् । टोलीलाई नेपाल तेक्वान्दो संघका सदस्य कुमार लामा घिसिङले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

राष्ट्रिय उसु कोर्षका लागि चीनियाँ प्रशिक्षक नेपालमा
नेपाल उसु महासंघको आयोजनामा जारी सातौं राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा कोर्षमा सहभागीलाई प्रशिक्षण दिन चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वान नेपाल आएका छन् ।
उनलाई उसु महासंघका कार्यवाहक अध्यक्ष शैलेश कर्माचार्य, महासचिव नवराज ढुंगाना, उप–महासचिव राजीव महर्जनलगायतका पदाधिकारीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बैठक कक्षमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रमपछि उनले राखेपको सेमी कभर्डहलमा भइरहेको कोर्षमा सहभागीलाई प्रशिक्षण गराएका थिए । उनले शुक्रबारसम्म प्रशिक्षण दिने छन् ।
जेयाङ उसु संघका अध्यक्ष लिन सान्ताउ उसु संघका उपाध्यक्ष पनि हुन् । सातौं डान लिन जिहोङ ताइची ट्रेनिङ सेन्टरका प्रमुख प्रशिक्षक हुन् ।
महासचिव ढुंगानाले निमन्त्रणा स्वीकार गरी नेपाल आएकोमा लिनलाई धन्यवाद दिए । उनले नेपालमा अझ योग्य रेफ्री उत्पादन गर्ने उद्देश्यले कोर्ष सञ्चालन गरिएको बताउदै लिनको प्रशिक्षणबाट सहभागीले उच्च स्तरको ज्ञान हासिल गर्ने विश्वास व्यक्त गरे ।
लिनले नेपालको उसु विकासमा महासंघसंग सहकार्य गर्न तयार रहेको बताउदै सहभागीले सिकेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । साताव्यापी निर्णायक कोर्षमा ५२ तथा डिप्लोमा कोर्षमा ४२ जना सहभागी छन् ।

एपीएफ र आर्मी सेमिफाइनलमा
एपीएफ क्लब र नेपाल आर्मी आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको समूह ‘ए’ को लिग खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफले एभरेष्ट भलिबल क्लबलाई २५–१९, २५–१५ र २५–१० को सोझो सेटमा पराजित ग¥यो । एपीएफकी पूजा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
समूह ‘ए’ कै अर्को लिगमा आर्मीले एभरेष्टलाई नै सीधा सेटमा २५–१६, २५–१८ र २५–१७ ले हरायो । आर्मीकी सोफिया पुन ‘प्लेयर अफ द म्याच’ बनिन् । ३ टोली रहेको यो समूहमा लगातार दोश्रो पराजयसंगै एभरेष्ट प्रतियोगिताबाट बाहिरिएको छ ।
एपीएफ लगातार दोश्रो जितसंगै समूह विजेताका रुपमा सेमिफाइनल पुगेको हो । एक खेल जितेको आर्मी समूह उपविजेताका हैसियतले सेमिफाइनल पुग्न सफल भयो ।
सेमिफाइनलमा आर्मीको भेट प्रहरीसंग हुनेछ भने अर्को सेमिफाइनलमा एपीएफले न्यु डायमन्ड विरुद्ध खेल्ने   छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिताको दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

हिमालयन जाभा बास्केटबल लिग बैशाख २० गते, ६ टिमले प्रतिस्पर्धा गर्ने
काठमाडौं, बैशाख ११ । नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभासँगको सहकार्यमा हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ ।
पहिलो पटक आयोजना हुन लागेको हिमालयन जाभा बास्केटबल लिग यही बैशाख २० गतेदेखि हुने नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
प्रतियोगितामा ६ टोलीको सहभागिता रहने नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । जसमा टाइम्स क्लब, हाउण्ड्स क्लब, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
हिमालयन जाभा बास्केटबल लिग ६ साता चल्नेछ भने खेलहरु विकेण्डमा खेलाइनेछ । जसअन्गर्त हरेक शनिवार र आइतबार खेल हुनेछ । यस्तै मौसमको अवस्था हेरेर मंगलबार र बुधबार पनि खेल खेलाउने नेबा अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको खेलतालिका छिटै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
खेल डबल राउण्ड रोविन लिगको फम्र्याटमा हुनेछ । जसमा हरेक टिमले अर्को टिमसँग दुई–दुई पटक खेल्नेछ । लिगका खेलहरु राखेपस्थित आउटडोर भलिबल कोर्टमा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
‘होम एण्ड अवे फम्र्याटमा खेल्ने योजना भएपनि मौसमको अवस्थाले गर्दा सिंगल भेन्युमै खेलाउन लागेका हौँ । हामीले राखेपको कभर्डहल र कीर्तिपुरको कभर्डहललाई पनि विकल्पमा राखेका छौँ ।’ अध्यक्ष गुरुङले भने ।
प्रतियोगितामा ३० खेल हुनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । फाइनल खेलमा दुई प्लेअफ खेल हुनेछ । बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच  सम्झौता भइसकेको छ ।
नेपाली बास्केटबल खेल र खेलाडीको विकासका लागि यो लिग आयोजना गर्न लागेको नेबा अध्यक्ष गुरुङले बताए ।
‘हामीले पहिलो पटक परिक्षण स्वरुप विकेण्ड लिग आयोजना गर्न लागेका छौँ । यसलाई पहिलो पटक राम्रोसँग सफल पार्न सके आगामी वर्षहरुमा अझ बृहत रुपमा आयोजना गर्नेछौँ । यसले खेलाडी र बास्केटबल समर्थकहरुका लागि खेल हेर्न राम्रो अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ ।’ नेबा अध्यक्ष गुरुङले भने ।
प्रतियोगिताको लागि १५ लाख अनुमानित बजेट रहेको र यो अझै बढ्न सक्ने आयोजकले जनाएको छ । मुख्य प्रायोजक हिमालयन जाभा बाहेक अन्य प्रायोजकहरुसँग पनि छलफल भइरहेको र लिगको पुरस्कार राशी पनि केहि समयपछि सार्वजनिक गर्ने उनको भनाई थियो ।

फोटो
१. जापान जाने तेक्वान्दो टोलीलगायत ।
२. जापान जाने तेक्वान्दो टोलीलगायत ।
३÷४. चीनियाँ उसु प्रशिक्षक लिनको स्वागत ।
९÷१०. राष्ट्रिय महिला भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।
११. बास्केटबल लिग बारे जानकारी गराउदै आयोजक ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय