प्रधानमन्त्रीकाे निर्देशन- ‘खोप कुनै पनि हालतमा रोकिनुहुन्न’

२०७८ पुष २४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित खतराबाट बच्न तत्कालै सीमा नाकामा ‘होल्डिङ सेन्टर’ र स्वास्थ्य परीक्षण केन्द्र स्थापना गर्न निर्देशन दिनुभएको छ ।

कोभिड–१९ निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उहाँले खुला सिमानाका कारण भारतबाट आउनेको सङ्ख्या बढ्दै गइरहेकाले प्रवेश नाकामा स्वास्थ्य परीक्षण गरेर मात्र गाउँघरतिर जान दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘सबै प्रवेश नाकामा स्वास्थ्य परीक्षण कडाइसाथ गर्नुप-यो । स्वास्थ्य अवस्था राम्रो नभएका व्यक्तिलाई होल्डिङ सेन्टरमा राखेर स्वास्थ्य अवस्था सुध्रिएपछि छोड्ने व्यवस्था मिलाउनुपर्छ ।’’

ओमिक्रोन छिटो फैलिन सकिने विज्ञहरूले जानकारी दिएको बताउनुहुँदै उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभयो–“ओमिक्रोन फैलिन नदिने वातावरण बनाउनुहोस् । त्यसका लागि मन्त्रालयले ठोस कार्ययोजना बनाउनुप-यो । कार्ययोजना कार्यान्वयन गर्न सबैले सहयोग गर्नुप-यो ।”

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘स्वास्थ्य मन्त्रालयले अब बुस्टर डोजलाई पनि व्यापक बनाउनुपर्छ । खोपलाई कुनै पनि हालतमा रोक्नुहुन्न । सारा काम छाडेर भए पनि खोपका पछाडि लाग्नुहोस् ।’’ अक्सिजन र बेडको समस्या आउन नदिने व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरीलगायतलाई सक्रिय हुन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘‘हिजोको जस्तो अवस्था भोलि नआओस् । कहीँ कतै अक्सिजन र बेड नपाएर नागरिकको ज्यान जाने अवस्था आउन दिनुभएन । काम गर्नका लागि बजेटको अभाव नहोस्, यसमा अर्थ मन्त्रालयले ध्यान देओस् ।’’ याे खबर गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार