सबै काम `फूलै संसार´ प्रकृतिले प्रस्तुत हुदैनन् !

२०७९ असार ३२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

`गौरादहमा हुने पत्रकार साथीहरू यहीँ नगरको भएको हुदा, गौरादहको शीर उच्च राख्न यहाँहरुको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रचार प्रसार गर्नुहोस । नगरपालिकाले पत्रकारको उच्च मूल्याङ्कन गर्छ ।’

माथिका भनाई हुन्, शुक्रबार झापाको गौरादह नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीका । चर्चित गीत ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भने जस्तै नगरका प्रवक्ता भण्डारीले नगरपालिकाको काममा फूलै संसार देख्न घुमाउरो पाराले अनुरोध गरेको प्रष्ट हुन्छ । कतिपय नगरपालिकाले पत्रकारलाई खुसी पार्न ल्यापटप बाँडेका छन् । कतिले हरेक वर्ष पुरस्कार दिने थिति बसाएका छन् । भण्डारीका भनाईमा गौरादह नगरपालिकाले पनि पत्रकारलाई नजानिँदो पाराले लोभमा पार्न खोजेको झल्को आउँछ ।

नगरपालिकाले पत्रकार र पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि कुनै नीति र कार्य विधि निर्माण गरेको छैन् । नगरका समग्र नीति तथा कार्यक्रम पनि कार्यान्वयन हुने भन्दा मतदाता खुसी पार्ने प्रकृतिका छन् । ठोस कार्यक्रम छैनन् । बिगतका कुन कुन कार्यक्रमलाई निरन्तरता दिने त्यसको प्रष्ट खाका छैन् । गौरादह नगरपालिका कृषि जन्य उद्योगका लागि उर्भर क्षेत्र हो । तर, त्यसका लागि ठोस कार्यक्रम छैन् । कार्यक्रम निर्माण हुनु पूर्व पत्रकारसंग अन्तरक्रिया गर्न नगरपालिकाले आवश्यक ठानेन । अहिले आएर एक दिन खाजा खुवाएर पत्रकारलाई राम्रो मात्र लेखिदेउ भन्ने अधिकार नगर प्रवक्तालाई छैन् । पत्रकारले आम मानिसका समस्याको उठान गर्ने हो । समस्या समाधान गर्ने होइन । बिग्रिएको ठाउँमा बनाउन सुझाव दिने हो । बनाउन माटो, ढुङ्गा बोक्न जाने होइन ।

नगर प्रवक्ता भण्डारी नगरपालिकाले गरेका सबै कामलाई फूलै संसारको प्रकृतिले प्रस्तुत गरिदिन पत्रकारसँग आग्रह गर्छन । पत्रकार बिचारसँग बाँधिएको हुन्छ, तर समाचारमा आस्था झल्किनु हुँदैन । विगतमा शालिक र स्मारक निर्माणमा करौडौं रुपियाँ खर्चिएको नगरपालिकाले विपन्न परिवारलाई अर्थोपार्जनमा जोड्न सकेन । जनता आवास कार्यक्रमले मुहुर्त रुप लिन सकेन । नदी नियन्त्रणका काम ज्यूँका त्यूँ छन् । असार लागेपछि खोलामा कटान रोक्न बाँसको पाइलिङ गर्ने अनि साउनको बाढीले बगायो भनेर लाखौं रुपियाँ सक्ने थितिको अन्त्य हुनुपर्छ । सहरका एलिट वर्गका महिलालाई अचार बनाउने, डल निर्माण गर्ने, सेनेटरी प्याड बनाउने, ढाका बुन्ने जस्ता तालिममा सहभागी गराउने र लाखौं रुपियाँ सक्ने विगतको ढाँचामा परिवर्तन ल्याउनु पर्छ ।

पत्रकारलाई हजार पन्ध्र सय हाजिरा दिएर राम्रो लेखि देउ भन्नु भन्दा अलि परबाट आएको पत्रकारले पनि आहा, गौरादह भन्ने गरी काम गर्नुहोस । गौरादहका मात्र होइन, देश देशान्तरका पत्रकारले गौरादहका विषयमा लेख्नेछन् । शीर उच्च बनाउने गरी काम गर्नुभयो भने पत्रकारले थाङ्ग्रो लगाइरहनै पर्दैन, आफै ठडिन्छ शीर । तर, करोडौं रुपियाँ खर्च गरी चुनाव जितेका जनप्रतिनिधिको पहिलो प्राथमिकता कमिसन आउने ठेक्का, तालिम र सेमिनार हुनु हुँदैन । कुन कार्यक्रम कस्लाई दिँदा मेरा खातामा कति पैसा जम्मा गरिदिन्छ भन्ने सोचेर काम गर्नुभयो भने त्यो कामले शीर गिर्छ । एउटा नेपाली उखान ख्याल गर्नुस, भुक्ने कुकुरले टोक्दैन र टोक्ने कुकरले भुक्दैन ।

अनियमितता र भ्रष्टाचारका छिद्र टाल्नका लागि यो अभिब्यक्ति दिनु भएको हो भने त्यो सर्वथा गलत हो । अब पत्रकारले गौरादहमा भएका हरेक विकास निर्माणका कामलाई एङ्गल एङ्गलबाट आवश्यकता, गुणस्तर र प्रभावकारिताका बिषयमा अध्ययन गर्नेछन् ।
पत्रकारले दिएको खाएर काम गर्ने होइन । काम गरेर खाने हो, यो बिधिलाई स्थापित गर्न पत्रकारहरू सधैं क्रियाशील हुने छन् । किनकी पत्रकारहरू आवाज बिहीनहरूको आवाज हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार