‘सत्ता र सिफारिसको खेलमा कांग्रेसको आत्मा मरेको छ’ : भट्टराई

२०८२ आश्विन २६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

महेन्द्र भट्टराई, पूर्व नेता

नेपाल विद्यार्थी संघ (नेविसंघ )

नेपाली कांग्रेस आज crossroads मा छ । सिद्धान्त, संगठन र नेतृत्व तीनै तहमा । म पार्टीको लामो यात्रा हेर्दा निराश हुन्छु, किनभने जुन संस्थाले लोकतन्त्र ल्यायो, आज त्यही संस्थाभित्र लोकतन्त्रको घोर अभाव छ ।

पहिलो कुरा भातृ र भगिनी संगठनहरू – यी पार्टीको मेरुदण्ड हुन् । तर विगतका केही वर्षमा तिनको आवधिक अधिवेशन गरिएन । उल्टै, `बाउ–आमासँग अंश मागेझैँ´भागबण्डा गरेर संगठन चलाइयो । यो केवल गैर – लोकतान्त्रिक मात्र होइन, नैतिक पतनको पनि संकेत हो । बिधानमाथि बहस हुनुपर्ने ठाउँमा मौनता छ, सिद्धान्तभन्दा व्यक्ति ठूलो भएको छ ।

दोस्रो कुरा, संसदीय अभ्यासमा विचलन – संसदीय व्यवस्थामा पहिलो दलले सरकारको नेतृत्व गर्नुपर्ने प्रष्ट परम्परा छ । तर, हामी दोस्रो हैसियतमा रहँदा पनि सत्तामा प्रवेश गर्दा चुप बस्यौं । बरु मन्त्रीको अंश माग्ने, सत्ताको स्वाद लिने प्रवृत्ति हावी भयो । यसले पार्टीको आत्मा कमजोर बनायो, जनता सँगको सम्बन्ध खुकुलो बनायो ।

तेस्रो, नेतृत्व विकासको अवसर हरायो । पार्टीभित्रका युवा, सक्रिय र सक्षम कार्यकर्तालाई अघि बढाउनुभन्दा निष्क्रिय बनाइयो । भातृ संगठनहरूलाई थन्क्याइयो, विधि र विधानमाथि बहस रोकियो। जसले नयाँ पुस्ता निराश बनायो ।

चौथो, कृयाशील सदस्य वितरण र संगठन सुदृढीकरणमा चरम अव्यवस्था छ । कुनै मापदण्ड छैन, कसलाई क्रियाशील बनाउने भन्ने कुरा सिफारिस र पहुँचमा टेकेको छ । पार्टीको प्रशिक्षण कार्यक्रम हराएका छन्, कार्यकर्तालाई व्यावसायिक, सिर्जनशील वा जिम्मेवार बनाउने कुनै योजना छैन । बरु नेतामुखी संस्कृतिले जरो गाडेको छ ।

पाँचौँ, गुठबन्दी र अवसरवाद पार्टीभित्र संस्थागत भइसकेको छ । गाउँटोलमा संगठन सुदृढ गर्नुभन्दा नेताको झुण्ड बोकेर देश दौडाहा गर्ने चलन बढेको छ । यसले निष्ठावान् कार्यकर्तालाई किनारामा पुर्यायो र धनबाद, डनबाद प्रवृत्तिलाई बढावा दियो ।

छैटौँ, नेतृत्वको मौनता र लाचारी – गल्ती देखेर पनि केही नभएको जस्तो गर्ने संस्कृतिले पार्टी लाचार बनेको छ । संगठन क्षयीकरणमा पुगेको छ तर शीर्ष नेतृत्व मौन छ । यो मौनता अब अपराधजस्तै हो ।

र अहिले, १५औं महाधिवेशन नजिकिँदै गर्दा, `विशेष अधिवेशन´ को नाममा नेतृत्व कब्जा गर्ने दुस्साहस भइरहेको छ । १४औं अधिवेशनका प्रतिनिधिहरूको म्याद सकिँदै गर्दा तिनकै हस्ताक्षर प्रयोग गरेर अधिवेशन धकेल्ने प्रयास, यो बिधान र लोकतन्त्र दुवै माथिको कुठाराघात हो ।

त्यसैले म स्पष्ट भन्छु – अब पुरानै प्रवृत्तिले पार्टी चल्दैन । कांग्रेसलाई नयाँ सोच, नयाँ पुस्ता र ताजा जनादेश चाहिएको छ । विशेष अधिवेशनको नाममा पुरानै चेहरा कायम राख्ने खेल नितान्त स्वार्थी र कपटपूर्ण हो ।

अब विधिवत अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नु अपरिहार्य छ ।
त्यो नेतृत्व न सिद्धान्त बिर्सियोस्, न संगठन बेचेओस्, न कार्यकर्तालाई किनारा पारोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार