
दमक । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवम् आयामीले कवि वैरागी काइँला (तिलबिक्रम नेम्बाङ) को ८७ औं जन्मदिनको अवसरमा माङगेन्नासहित कविता वाचन गरेर मनाइएको छ ।
आइतबार झापाको दमकमा मुन्धुम अनुष्ठानबाट चर्चित कवि वैरागी काइँलाको माङगेन्ना गरेर (शिर उठाएर) सुरु भएको कार्यक्रममा स्रष्टाहरुले काइँलाका नेपाली साहित्यमा प्रख्यात कविताहरु वाचन गरेका थिए । कार्यक्रमको सुरुवातमा वरिष्ठ साहित्यकार लछामी सेर्मा पापोले माङगेन्ना मुन्धुम वाचन गरेर काइँलाको माङगेन्ना उठाएका थिए ।

नेपाल लिटरेरी ग्रुपको आयोजना, किरात मुन्धुम प्रतिष्ठान र फरक आयामको सहकार्यमा सम्पन्न कार्यक्रमबीच कवि तथा गजलकार शिव रेग्मी प्रणतले कवि वैरागी काइँलाको मातेको मान्छेको भाषण ः मध्यरातपछिको सडकसित वाचन मात्रै गरेनन्, आयामेली आन्दोलनका अभियान्ता इन्द्रबहादुर राई र ईश्वर वल्लभलाईसमेत सम्झेका थिए ।
प्राज्ञ सुमित्र वाङ्देल ‘चेली’ले कविता वाचनसहित तेस्रो आयामले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याएका चर्चा गरिन् । याक्थुङ प्रतिष्ठान दमकका कुलपति सेसेमी से नाल्बोले बि. काइँलाले याक्थुङ साहित्यमा ठूलो योगदान पुर्याएको बताए ।
फरक आयामका संयोजक साङसेन पन्धाकले जन्मदिनमा केक काट्नु भन्दा माङगेन्ना गरेर जन्मोत्सव मनाउनु एउटा नेपाली मौलिक संस्कृतिलाई जिवन्त बनाउने कार्य भएको जिकिर गरेका थिए ।
कार्यक्रममा विक्रम वनेम फागो, रचना लाओती कुसाङ, चोमु पासाङ शेर्पा, दिल भुटानी र जिवन विवश बेघाले कवि वैरागी काइँलाका कविता वाचन गरेका थिए ।
नेपाल लिटरेरी ग्रुपका अध्यक्ष प्रकाश बुढाथोकीले कवि वैरागी काइँलाको कविता वाचन र साहित्यिक योगदानको चर्चा गर्दै कार्यक्रम समापन गरेका थिए ।