कमन देवनका रुबाइयात

२०८२ श्रावण १८, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुबाइयात

भट्टीमा कसैले सुरा रोपेर गएदेखि
घर बिग्रियो बैरीले कुरा रोपेर गएदेखि
त्यही दिनबाट धाइते भएको छु म
तिम्रो यादले मुटुमा छुरा रोपेर गएदेखि ।
०००

मै हुँ भन्नेलाई गलाउनु छ
मूर्ति बन्नेलाई चलाउनु छ
आरिस र डाहा गर्नेहरुलाई
यसरी नै हाँसेर जलाउनु छ ।
०००

कुनै दुःखले छुँदैन अब
फेरि कोही रुँदैन अब
अन्तिम बिदाइ शानदार होस्
अर्को भेट हुँदैन अब ।
०००

सबै कहाँ साधु हुन्छन् खरानी धँस्नेहरु
बेइमान पनि हुन सक्छन् हृदयमा बस्नेहरु
फुकी फुकी पाइला चाल, खतराको संकेत हेर्दै
यत्र तत्र सर्वत्र छन् मौका पाउँदा डस्नेहरु ।
०००

आफ्नै इमान सम्झेर कस्तो कस्तो नहोस्
दाजै ! स्वाभिमान कहिल्यै सस्तो नहोस्
मित्रता भन्दा बढी गुलामीलाई मन पराउने
बरु शत्रु ठिक, छिमेकी ऊ जस्तो नहोस् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय