कमल गाउँपालिकाकी कर्मचारीले जेनजी आन्दोलनमा आन्दोलनकारीलाई उक्साएको आरोप

२०८२ भाद्र २९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापा / कमल गाउँपालिकाकी एक महिला कर्मचारीले हालैको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत आन्दोलनकारीलाई उक्साएको तथ्य सार्वजनिक भएको छ । भदौ २४ गते कमल क्षेत्रमा आन्दोलन तीव्र बनेका बेला स्वास्थ्य शाखामा कार्यरत सबिता गुरुङले फेसबुकमा लेखिएका दुई टिप्पणी अहिले विवादको केन्द्रमा छन् ।

स्थानीय स्रोतका अनुसार सो दिन बिहानदेखि जेनजी आन्दोलनका समर्थकहरूले कमल गाउँपालिकाको विभिन्न कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । आन्दोलनको क्रममा १ नम्बर वडा कार्यालयको केही फर्निचर र कार्यालयका झ्यालका सिसा तोडफोड भएको थियो । त्यही सम्बन्धमा आएको संक्षिप्त सूचनामूलक पोस्टमा गुरुङले `ओ, बल्ल स्टार्ट भएछ, कमलमा चाहिँ किन छुट ? वेल डन´ भन्दै टिप्पणी गरेकी थिइन् । केही समयपछि अर्को फेसबुक पोस्टमा उनले `आगो है आगो´ भनेर छोटो तर उत्तेजक प्रतिक्रिया दिएकी देखिन्छ । स्थानीयवासीले यी टिप्पणीलाई आन्दोलनकारीलाई अझ उक्साउने खालको भनेर आलोचना गरिरहेका छन् ।

हेर्नुस दुई स्कृनसट : 

जेनजी आन्दोलनका क्रममा झापाको धेरै पालिकामा तोडफोड, आगजनी र अवरोधका घटना देखिएका थिए । त्यही श्रृंखलामा कमल गाउँपालिकाभित्र पर्ने केरखा प्रहरी चौकी र क्याम्पास्थित क्याम्पा प्रहरी चौकीमा पनि प्रदर्शनकारीले क्षति पुर्‍याएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ । कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार, गाउँपालिका मुख्य कार्यालय र अन्य वडा कार्यालयमा भने ठूलो क्षति भएन । `आन्दोलनकारीहरूले गाउँपालिका प्रवेशद्वारमा ताला लगाएर फर्किएका थिए,´ ढकालले भने।

स्थानीय नेताहरूले आन्दोलनको उद्देश्य र कर्मचारीको भूमिकाबारे छानबिनको माग गर्दै आएका छन् । गाउँपालिका भित्रकै कर्मचारीले यस्तो उक्साउने टिप्पणी गर्नु अत्यन्त गैरजिम्मेवार भएको उनीहरूको तर्क छ । जेनजी आन्दोलनको तातो माहोलमा आएको यो घटना कमल गाउँपालिकामा थप विवाद र असन्तोषको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय