गौरादह नगरपालिकाको विज्ञप्ति : आन्दोलनपछि शान्ति र पुनर्निर्माणको आग्रह

२०८२ भाद्र २९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा, भदौ २९ – गौरादह नगरपालिकाले हालैको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्दै शान्ति, सहमति र पुनर्निर्माणको अपिल गरेको छ ।

नगरपालिकाले आइतबार जारी गरेको विज्ञप्तिमा भदौ २३ गतेको भ्रष्टाचारविरोधी प्रदर्शन जेनजी नामक समूहका युवाको नेतृत्वमा भएको भए पनि त्यसपछि देखिएका हिंसात्मक घटना नियोजित रहेको उल्लेख छ । सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, कार्यालयमा आगजनी, सरकारी गाडी र मोटरसाइकलमा क्षति पु-याउने जस्ता गतिविधिले नगरको विकास- निर्माणलाई असर पारेको विज्ञप्तिमा जनाइएको छ ।

नगर प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशीलगायत वडाध्यक्ष तथा नगर कार्यपालिकाका १९ जना सदस्यको हस्ताक्षरयुक्त विज्ञप्तिमा आन्दोलनका क्रममा मृत्यु भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, स्थानीय जनताले शान्ति, सुरक्षा र विकासलाई प्राथमिकता दिँदै भड्किलो गतिविधिबाट टाढा रहन अपिल गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, `नागरिकका न्यायोचित माग सम्बोधनका लागि नगरपालिका सधैं तयार छ तर सार्वजनिक सम्पत्ति नष्ट पार्ने कार्य अस्वीकार्य छ ।´ नगरपालिकाले घटना छानबिन गरी दोषीमाथि कानूनी कारबाही हुने विश्वास दिलाएको छ ।

नगरपालिकाले सर्वसाधारणलाई अफवाहमा नफस्न, संवाद र मेलमिलापमार्फत समस्या समाधानमा सहभागी हुन आग्रह गरेको छ । साथै, विकासका अधुरा योजनालाई अगाडि बढाउन सबै सरोकारवालाको सक्रियता आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय