लाइफलाइनमा आर्थिक घोटलाकोे दाबी गर्दै उजुरी, आन्तरिक लेखा परिक्षण गर्न अस्वीकार

२०८० भाद्र ८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दमक ५ मा सञ्चालित लाइफलाइन अस्पताल प्रालिभित्र आर्थिक पारदर्शीता नभएको जिकिर गर्दै सञ्चालक समितिका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईसहित पूर्व अध्यक्ष र कतिपय सञ्चालकहरु विरुद्ध न्यायिक समितिमा उजुरी परेको छ । ३३ जना शेयरधनीको सामुहिक स्वामित्व रहेको सो कम्पनीले अस्पतालका अतिरिक्त सिटीइभिटीका कार्यक्रमहरु समेत चलाउँदै आएको छ ।

अस्पतालका पूर्व मेसु तथा सञ्चालक डा. सूर्यनारायण साह, सञ्चालक विक्रमकुमार साह, भिम पौडेल, डा. भिम सुब्बासहित ११ जना शेयर सदस्य तथा सञ्चालक समितिका सदस्यहरुले पटक पटक आन्तरिक रुपमा समस्याको समाधान खोज्न गराइएको ध्यानाकर्षणप्रति डा. भट्टराइ नेतृत्वको टिमले वेवास्ता गरेको भन्दै आफूहरुको लगानी सुरक्षाका लागि दमक नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेका सार्वजनिक भएको हो ।

यो पनि पढ्नुहोस: स्वीकृत नलिई संरचना बनाउँदै लाईफलाइन अस्पताल, लगानीकर्ताहरुनै असन्तुष्ट 

सञ्चालक समितिका पूर्व अध्यक्ष डा. बालचन्द्र सुब्बा, डा. प्रेम देवकोटा, सञ्चालक राजकुमार भट्टराइ, कम्पनी सचिव मोहन न्यौपानेसहितका विरुद्ध परेको उजुरीका बिषयमा न्यायिक समितिले पहिलो चरणमा गरेको छलफल निष्कर्षहिन भएपछि यो बिषय थप बाहिर आएको हो ।

छलफलमा असन्तुष्ट पक्षहरुले राखेको आन्तरिक लेखा परिक्षण गरी आर्थिक अपचलन गर्नेमाथि कारवाही र लगानी सुरक्षाको वातावरण बनाइनुपर्ने मागका बिषयमा अध्यक्ष डा. भट्टराई सहमत नभएपछि शेयरधनीहरु आक्रोशित बनेका छन । उनीहरुले कम्पनीमा भएको हरहिसाब तथा आर्थिक कारोबारको यथार्थ विवरण कम्पनीका शेयरधनीहरुलाई उपलब्ध गराउन नखोज्नुले अध्यक्ष डा. भट्टराईको नियतमाथि झनै शंका बढेको बताए ।

अध्यक्ष डा. भट्टराईले भने छलफलका क्रममा कम्पनीका कुनै पनि बिषय मिडियामा जान नहुने भन्दै न्यायिक समितिलाईनै चेतावनी दिएका थिए । उजुरीकर्ता पक्षहरुले भने सार्वजनिक सेवा दिने उद्धेश्यले स्थापित कम्पनीका हरेक बिषय सार्वजनिक हुनुपर्ने र अपारदर्शी ढंगले कम्पनीको बैंक खाताबाट झिकिएको २ करोड २४ लाख हाराहारीका बिषयलाई लिएर माथिल्लो निकाय सम्म जाने चेतावनी दिएका छन ।

खोला मिचेर अस्पतालको संरचना

यो अस्पतालका नेतृत्वले आन्तरिक रुपमा शेयरधनीहरुलाई मात्रै नभएर सिंगो राज्यलाई नै चुनौती दिएर खोलामाथि अस्पतालको संरचना बनाएका छन ।

यो अस्पतालका संरचना दिपिनी खोलामाथिनै बनाइएको पाइन्छ । खोलामाथी संरचना बनाइएका कारण दमकको अधिकांश क्षेत्र बर्खामा दिपिनी खोलाका कारण डुबानमा पर्ने गरेको छ ।

स्वीकृत नलिई भवन, स्थानीय सरकार रमिते

सो कम्पनीले स्थानीय सरकारबाट स्वीकृति नलिई धमाधम थप संरचनाहरु निर्माण गरिरहेको छ ।
अस्पतालमा सञ्चालित विभिन्न विधाका प्राविधिक बिषयहरुको अध्यापन गराउने प्रयोजनका लागि भवन मापदण्ड तथा दमक नगरपालिकाले तोकेका न्यूनतम शर्तहरुको उल्लंघन गर्दै निर्माण कार्य जारी राखेको हो ।
नगरपालिकाले ति संरचनाहरुको निर्माण कार्य रोकेर प्रकृयामा आउन पटक पटक गरेको पत्राचारलाई समेत वेवास्ता गर्दै आफूखुशी संरचना निर्माण गरिरहेपनि स्थानीय सरकारले त्यसलाई रोक्न सकेको छैन ।

दमकका जनप्रतिनिधि, चिकित्सक, सामाजिक , राजनीतिक रुपमा नाम कहलिएका उद्योगी व्यवसायीहरु समेत ३३ जनाको लगानी रहेको सो अस्पतालका सिमित पदाधिकारीहरुले राज्यद्धारा निर्देशित ऐन, कानुन
भवन निर्माणको प्रकृया अघि बढाउँदा लाइफलाइन अस्पताल प्रालिले खरिद ऐनले न्यूनतम शर्तहरु समेत पालना नगरेको भन्दै अस्पतालका सञ्चालकहरुलेनै आपत्ती जनाउँदै आएका छन ।

नियम विपरीतका सबै कृयाकलाप रोकिनु पर्छ– पौडेल

यो अस्पतालका सञ्चालक मध्येका एक जना दमक नगरपालिका ७ का वडाध्यक्ष भिम पौडेलले आफू राज्यले तोकेको मापदण्ड उल्लंघन गर्ने कुनैपनि कृयाकलापको पक्षमा नरहेको बताउँदै आएका छन ।

नगरपालिकाले अस्पतालको संरचना मापदण्ड अनुसार भए नभएको हेरेर र नियमविपरीत भए गरेका सबै कामहरुलाई रोक्नुपर्ने र यसमा आफनो सकारात्मक भुमिका रहने यसअघिदेखिनै बताउँदै आएका छन । उनले भनेका छन– अस्पताललाई यि बिषयमा सम्बन्धित शाखाबाट पत्राचार पनि भएको छ ।

अटेरी गर्ने अस्पताल होस वा संस्थाका आधिकारिक व्यक्तिमाथि आवश्यक छानबिन र कारवाही हुनुपर्ने आफनो स्पष्ट धारणा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार