वाणि माविका अध्यक्ष अरुण भण्डारीले गरे पूर्व हेडमास्टर डाँगी र समग्र विद्यालयको अवस्थाबारे नयाँ खुलासा

२०८१ जेष्ठ ३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट

श्री वाणि माध्यमिक विद्यालयका आदरणिय अभिभावकज्यूहरु, यस पवित्र शिक्षारुपी मन्दिरमा शिक्षा ग्रहण गरि आज देशविदेशमा छरिएर रहनु भएका तमाम बाणीका पूर्वबिधार्थीहरु, स्थानिय बुद्धिजिबी तथा शिक्षाप्रेमी महानुभावहरु, बाणीलाई हुर्काउन बढाउन अतुलनिय योगदान पुराउनुहुने मेरा अग्रज, गुरु तथा संस्थापकहरु, प्यारा नानीबाबु तथा शुभचिन्तकहरु सवैमा म श्री बाणी माध्यमिक विद्यालयको ब्यवस्थापन समितिको अध्यक्षको हैसियतले आज यो दुःखका साथ तपाईहरु माझ म ‘बाणी बचाऔ ‘भन्दै सहयोगका लागि विनम्रतापूर्वक अपिल गर्दैछु ।

तपाई हामीलाई थाहै छ, हाम्रो बाणी मा.वि. यो भेगकै एक ऐतिहाँसिक सामुदायिक विद्यालय हो । यहाँ बर्षेनी हजारौ विद्यार्थी भर्ना भई आज सम्म आईपुग्दा हजारौ विद्यार्थीहरु उत्पादित भई देशविदेशमा पुगी इज्जतका साथ केहि न केहि पेशा, ब्यवसाय गरि जीउन सफल भएका छौ । जुन यहि विद्यालय र यहाँका गुरुहरुको योगदान हो । तसर्थ सर्वप्रथम त म यस बाणी जस्तो पवित्र मन्दिर र यसका पुजारी÷गुरुहरु प्रति हार्दिक नमन तथा आभार प्रकट गर्दछु ।

आँफू हुर्किएको, खेलेको र शिक्षा दिक्षा प्राप्त गरेको यस विद्यालयको तपाई हामीलाई असाध्यै माया लाग्दछ र यसको गुन कुनै दिन, कुनै न कुनै रुपले तिर्नु पर्छ भन्ने तपाई हामी सवैलाई लागिरहेको छ । तपाई हामीले देखिरहेका छौ विगत केहि बर्ष देखि राजनितिक तथा अन्य ब्यक्तिगत वा गुटगत स्वार्थका कारणले यस विद्यालयलाई विगार्ने तहसनहस पार्ने खेलहरु खेलिए । विद्यालयलाई बदनाम गराइयो र बाणी खत्तम भयो भन्ने आभास गराइयो ।

फलस्वरुप केहि हुने खानेले आफ्ना बालबालिका निजीमा पढायौं त नहुने मजदुर, किसान र निमुखाहरुले यहि बाणीलाई फेरी राम्रो पार्न सकिन्छ भनि बालबालिका बाध्यतावस त्यहिं पढाई विद्यालयलाई अगाडी बढाई रहनु भयो । यसै दौडानमा गत शैक्षिक सत्र २०८० मा तपाई अभिभावकहरु सवैले ठूलो आशाका साथ राजनितिक रुपमा न्यट्रल ब्यक्ति आइदिनु पर्यो भनेर मलाई अध्यक्ष बनाउनु भयो ।

म पनि बडो उत्साहका साथ अव बाणी जोगाउनु पर्छ, आफूलाई बनाउने बाणी अब हामीले नै बनाउनु पर्छ, विद्यालयको गुन तिर्ने मौका यहि हो भनि म निश्वार्थ भावले विद्यालय छिरे । मलाई नपुग्दो केहि थिएन र छैन पनि । मलाई यहाँ बाट केहि पाउनु थिएन र छैन पनि । म त यहाँ पाउन हैन दिन आएको थिँए । बिधार्थी र अभिभावकको माग अनुसार मैले एक्लै आफ्नो निजि श्रोतबाट ६/६ जना निजी शिक्षक राखेर अंग्रजी माध्यमबाट कक्षा शुरु गराँए र अहिले सम्म त्यो मेरै सहयोगको भरमा चलिरहेको छ । अन्य कुराका लागि सबै संग सहयोगको याचना गरे । त्यस अनुरुप दाताहरुकै सहयोगबाटै बिद्यार्थीका लागि सुबिधा सम्पन्न शौचालय बनाईयो । सरहरुका लागि अलग्गै शौचालय बनाईयो । भत्केको पर्खाल बनाईयो । सबै कक्षा कोठामा पंखा जाडान गरियो ।

बिद्यार्थीका लागि खाजा खने कचौरा चम्चाको जोहो गरियो ।बिधार्थिलाई पानी खाने फिल्टर ल्याईयो । निशुल्क पोशाक वितरण गरियो । केहि अक्षय कोष स्थापना भए । अन्य कुरामा सहयोगी मनहरु जोडीदै जादै हुनुहुन्थ्यो, केहि ब्यक्तीहरुबाट त सहयोगका प्रतिबद्धता पनि आइसकेका थिए । अभिभावकमा आशा पलायो र विद्यार्थी भर्ना उल्लेख्यरुपले बृद्धी भयो । मैले मेरा दुइवटी छोरीहरु पनि निजी स्कुलबाट झिकेर यसै विद्यालयमा भर्ना गराएँ । जसले अभिभावकहरुमा झनै आशा पलायो । मैले विद्यालयका समस्याहरु नजिकबाट अध्ययन गरेँ ।

अध्ययनबाट के पाएँ भने, बाणीमा पढाई हुँदैन भन्ने भान र छाप अभिभावकमा परेको, टाठाबाठाका छोराछोरी यहाँ नपढ्ने र निमुखाका छोराछोरी मात्र पढ्ने जसलाई विद्यालयमा गई बिधालय र शैक्षिक गुणस्तर हेर्ने, रेखदेख गर्ने, सल्लाह सुझाव र सहयोग दिने समय र सामथ्र्य दुबै नभएकोले विद्यालय अभिभावक विहिन जस्तो भएको, राजनितिक दलहरुले मेरो स्कुल र तेरो स्कुल भनि शिक्षा सेवा दिएका छौ है भनि भोटको खेति गर्ने एउटा अखडा मात्र बनाई रहेको पाए । जहाँ एउटाले अखडा बनाउन खोज्ने, अर्कोले त्यो अखडा भत्काउन खोज्ने गर्दा रहेछन् ।

त्यसैगरि केहि समय देखि शिक्षा दिक्षा दिईरहनु भएका तथा केहि नयाँ मिहेनति गुरुहरु चै जति गरे पनि यहाँ जश आएन भनि निराश हुनुभएको रहेछ । उहाँहरुलाई म हार्दिक सम्मान पनि गर्दछु तर गुरुहरुको ठूलो हिस्सा चाहि म यो पार्टीको शिक्षक र उ पार्टीको भन्दै विद्यालय भित्रै घोषित÷अघोषित रुपले गुट गुट बनाई तिनै राजनितिक दलहरुको भरमा जसो तसो जागिर खाईरहनु भएको रहेछ । मुस्किलले बाणीको कक्षाकोठामा छिरेको शिक्षकको मन चाहि अन्यत्र भएझै पाएँ । आवश्यकता अनुसार बिधालय समय पछिको केहि समय दिएर भए पनि बिधालय सुधार गरु भन्ने भावना खासै कसैमा देखिएन ।

आफ्ना बिधालयबाट बर्षेनी आफ्ना बिधार्थीहरु अन्यत्र बिधालयमा गईरहदा पनि कसैले चिन्दा चासो लिएर समिक्षा गरेको देखिएन । यहा समय दिनु भन्दा पनि अन्यत्र पढाउन जाने, यो बाणीको तलब त उसै आइहाल्छ नि भन्ने पुर्ण विश्वास प्राय शिक्षकमा देखियो । यहाँ त सिता बाणीका,े गीत अर्कैको गाएर समय विताएको पाइयो, शिक्षकले नै आफ्ना बच्चाबच्चि पनि अन्यत्र पढाउने गरेको पाइयो । त्यसै गरि प्रधानाध्यापक लक्ष्मी डाँगी सर नाम मात्रको प्र.अ. हुनुहुँदो रहेछ,। शिक्षकलाई काम लाउन नसक्ने, कुनै टिमवर्क र योजना भिजिन नभएको ।

मलाई कुनै दलको आर्शिबाद छदैछ भनि कहिले पेन्सन पाक्ला भनि औंला भाँच्दै हेडसर हुँ भन्दै झोला भिर्दै यता र त्यता दौडिनु हुँदो रहेछ । उहाँ अ्रग्रेजी बिषयको शिक्षक भएर पनि अंग्रेजी बिषय नपढाएर सामाजिक बिषय पढाउनु हुँदो रहेछ । खै अ्रग्रेजी किन पढाउनु हुन्न थाहा भएन । अंग्रेजीको स्थाई शिक्षकले अंग्रजी नपढाई अन्य बिषय पढाए पछि त्यहाँका बिधार्थीको अंग्रेजी बिषय कस्तो होला आँफै अनुमान लगाउनुहोस । अन्य सरहरु पनि पढाउनेले पढाई रहेको छन । नपढाउने नपढाई रहेको छन । अधिकांश शिक्षकहरु मलामी जाने बाहानामा बिधालयबाट बाहिरीने परिपाटीले बिधालयको पढाई इन्तु न चिन्तु भएको रहेछ ।

सबै आआफ्नै ताल र मस्तीमा जस्तो देखिदो रहेछ । शब्दमै बर्णन गर्न नसकिने समस्याहरुले गाँजेको रहेछ बाणीलाई ! यि तमाम समस्या चिर्न मैले कोशिस गरेँ, सरहरुलाई छोराछोरी पनि बाणीमै र आँफू पनि बाणीमा मात्र, भन्ने कुरा स्थापित गराउन खोजेँ तर यो भत्किएको पालिकामा मेरो केहि नलाग्ने बनाए । किनकी पालिका नै सार्वजनिक शिक्षा सुधार गर्ने पक्षमा छैन । उ पनि ५ वर्ष त होनी भनि औंला गनिरहेको छ । पालिकाबाट पटक्कै सहयोग पाइएन ।

लक्ष्मी सर लाई केहि महिना हेरे, सुझाव दिँए तर उहाँको पारा बदलिएन, अन्तमा यो बिधालय यो अवस्थामा पुर्याउन बिधालयको मियोको रुपमा रहेका लक्ष्मी सर नै मुख्य जिम्मेवार ब्यक्ति भएको ब्यवस्थापन समितिले ठहर गर्यो । तव मैले तपाई केहि परिवर्तन तिर नलाग्ने भए पद ओगटेर नबस्न सुझाव दिँए । तव उहाँले विगत देखि नै विद्यालयमा नपढाई खान पल्केको, नपढाउनका लागि शिक्षकका गुट बनाउदै हिँडेको, हिजो प्र.अ.लाई असहयोग गरि विद्यालयलाई असफल बनाउन ठूलो हात भएको, विद्यालय भन्दा पनि बाहिर जागिर खान जाने शिक्षक तेजनाथ भट्टराई सरलाई हामी वि.ब्य.स.को कुनै परामर्श बिना निमित्त प्र.अ. दिएर राजीनामा दिनु भयो ।

मानौ उहाँले त आँफू नभए पछि झन स्कुल बिग्रियोस भन्ने अभिप्रायले कसलाई सुम्पिदा स्कुल बिग्रिन्छ भन्दै नियोजित रुपमा तेजनाथ सरलाई जिम्मा लाउनु भयो । मलाई त यहाँ मेरो तेरो यो पार्टी उ पार्टी भन्ने थिएन । त्यसैले तेजनाथ सरलाई पनि केहि महिना हेरें । उहाँ त झन अन्त कलेज पढाउने, सधैं विद्यालय हस्याङफस्याङ गर्दै आउने, कुनै योजना छैन, कुनै समन्वय छैन, शिक्षकको टिमवर्क छैन, अभिभावक समितिको मतलब छैन, खाली म सबै भन्दा सिनियर हो भन्दै फेरी पुरानै पाराले शक्तिकेन्द्र पो धाउन थाल्नु भयो । ब्यवस्थापन समिति, पि.टि.ए., अभिभावक, अनुगमन समिति जो विद्यालय सुधारमा यो पार्टी उ पार्टी नभनि एक ढिक्का भएर लागेको छ, एकमत छ त्यसलाई नि चुनौती दिँदै ब्यवस्थापन समितिले बैठक बोलाउन निर्देशन दिँदा बैठक नबोलाउने, विद्यालयका यि समिति तथा अभिभावकहरु केहि जान्दैनन् । मै त हो नि सिनियर भन्दै उसै पदमात्र ओगटेर विद्यालयलाई झन छेउभित्तामा पुर्याउन उद्यत्त भएको पाइयो ।

अंग्रजी मिडियमाका बिधार्थीका अभिभावक धेरै किचकिचे हुँदा रहेछन । यसको काम छैन भन्दै अंग्रजी मिडियम बन्द गराउने तिर पो अग्रसर हुन थाले तव यसको समाधनार्थ समितिले प्र.अ. नियुक्तीको प्रक्रिया अनुसार मा.वि.का स्थायी शिक्षकहरुसँग विद्यालय बिकास प्रस्ताव सहितको निवेदन माग्यो, केहि शिक्षकले निवेदन हाल्नु भयो तर तेजनाथ सरले शक्तिकेन्द्रको हवला दिदैं हुड्नु भयो तर हेडसर हुनका लागि आवस्यक पर्ने बिधालय विकास प्रस्ताव नै हाल्नु भएन । समितिले मेरो बिरुद्धमा निर्णय गर्ला की भनेर होला उहाँले हाल सम्म बिधालयको दर्ता किताब र माइनुट बुक लुकाएर राख्नु भयो । त्यस पछी हेडसर छनौट प्रकृया नै लथालिंग भयो । त्यस पछि धेरै पटक मैले बैठक राखौ भने तर उहाँले टेर पुच्छर लगाउनु भएन । मैले यो कुरा पटक पटक पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई जानकारी गराए । तर उहाँहरु यो बिषयमा गम्भीर भएको कहिलै पाईन । मैले भने जस्तो भएन भने धरमपुरको भानु मा.बि.को हाल बनाउछु भन्दै हिड्नु भयो ।

यस्तो परिस्थितीमा पालिका प्रमुखको राय सल्लाह अनुसार ब्यवस्थापन समितिले विगत लामो समय देखि इमान्दार पूर्वक विद्यालयमा केहि गरौं भन्ने भावना भएका जगन्नाथ फागो सरलाई हाललाई निमित्त दिई काम चालाउदै जाँउ भनि निर्णय गरि सो को जानकारी पालिकामा लेखि पठायौ र नयाँ निमित्त प्र.अ. बाट बैङ्क खाता सञ्चालन गरि विद्यालय अगाडी बढाउन अनुमति माग गर्यौ तर अहिले पालिकामा राजनितिक हिसावकिताव र भागबण्डाको जोडजाम हुन थाल्यो र पालिकाले अनुमति दिन आनाकानी गरिरहेको छ । जसले गर्दा विद्यालयमा राजनिति फेरी छिर्ने खतरा बढेर गयो । शिक्षकहरुले विगत ४÷५ महिना देखि तलव खान पाएका छैनन् । क्यान्टिनवालाले भुक्तानी नपाएर खाजा रोकेपछि बिधार्थीले दिवा खाजा खान पाएनन । यसले न पालिकालाइ नै पोल्यो न शिक्षा शाखालाई नै दुख्यो । तर म लामो समय गरिबका छोराछोरी भोकै बसेको टुलु टुलु हेरेर बस्न सकिन, तत्काल मेरो गोजीबाट रु एक लाख दिइ खाजा सुचारु गराएँ ।

तर विद्यालयका अन्य कामकारबाही भने ठप्प हुने अवस्थामा पुगेको छ । पालिका आँफैले अगाडी लागेर ल यसरी समाधान गरौ भनि समाधान दिनु पर्ने ठाँउमा म र हाम्रो समिति, अभिभावकको डेलिगेशन जाँदा समेत पालिका राजनितिक दाउपेचमै परिरहेको हूदा एक्लो बृहस्पति झुटा ठानेर मैले पद छोड्नुपर्ने बाध्यता भयो । बिधालय राम्रो संग संचालन गर्ने, गरिबका छोराछोरीलार्ई पनि अंग्रेजी माध्यमबाट पढ्ने अवसर प्रदानका लागि विगतदेखि संचालित अंग्रेजी माध्यमलाइ निरन्तरता दिन सक्ने जो कोहि अध्यक्ष बने मेरो सहयोग निरन्तर रहनेछ । मलाइ अध्यक्ष बन्ने कुनै रहर छैन । म बाणी राम्रो भएको हेर्न र सुन्न चाहन्छु ।

बिभिन्न संचार माध्यममा बाणीमा २ जना प्र.अ. भनेर समाचार आइ बिधालय तथा यस पालिकाको प्रतिष्ठा देशै भरी गिर्दा पनि कसैलाइ चासो छैन । लाज लाग्नु पर्ने ब्यक्तीलाइ लाज लागेको छैन । बेथीती बिसंगती बिरुद्ध आवज उठाउने संचार माध्यम तथा पत्रकारहरुले पनि बाल मैत्री घोषणा भइसकेको पालिकामा बालबालिका पढ्ने बिधालयको यो अवस्था पुग्दा र बाल मैत्री पालिका केवल कागजमा मात्र सिमित हुँदा समेत यो कुरालाइ जोडतोडले उठाउने तथा खबरदारी गर्ने सहास देखाउन सक्नु भएको छैन । आखिर यो विद्यालय कसैलाई नचाहिने भए मलाई पनि २ वटी छोरी पढाउने कुनै न कुनै विकल्प खोज्ने सुुविधा त मसँग पनि छ ।

तसर्थ अव बाणीलाई के गर्ने, कहाँ पुराउने भन्ने जिम्मा तपाईहरुकै काँधमा आएको छ । मलाई विद्यालयको अझै धेरै माया छ । केहि गर्न सकिन्छ भन्ने अझै आशा छ, म हारेको छैन । अझै पनि पालिकाले यि कुराहरुलाई गम्भिरता पुर्वक लिई बाणी मैत्री वातावरण बनाउन सहयोग गरे अझै यो बाणी बनाउने अठोट म मा मरेको छैन । त्यसैले बाणी प्रेमी सम्पूर्ण महानुभावहरुलाई आवश्यक सुझाव, सल्लाह र सहयोगको लागि हार्दिक अपिल गर्दछु । अव म बाणीबाट हात झिकौ कि कसरी अगाडी बढौ आवश्यक मार्गदर्शनको आशामा छु । अन्तमा, म राजनितिमा दिलचस्पी नभएको मान्छे यस्ता फोहोरी राजनिति खेलमा नमुछि दिनुहुन सबैमा विनम्रतापूर्वक आग्रह पनि गर्न चाहन्छु । धन्यबाद, जय बाणी ।

अध्यक्ष अरुण भण्डारीको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय