महाधिवेशन तोकिएको मितिमै हुनुपर्छ, नभए विशेष महाधिवेशन अपरिहार्य : ढुंगाना

२०८२ पुष १२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राजन ढुंगानाले तोकिएको मितिमा महाधिवेशन सम्पन्न हुनैपर्ने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले महाधिवेशन सरेमा पार्टी थप संकटतर्फ धकेलिने चेतावनी दिँदै विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन्।

ढुंगानाका अनुसार नेपाली कांग्रेस अहिले इतिहासकै निर्णायक मोडमा उभिएको छ। पार्टी अधोगतितर्फ जाने कि उन्नतितर्फ अघि बढ्ने भन्ने विषयमा निर्णय गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै उनले इमानदार कार्यकर्ताहरू पार्टीलाई उन्नतितर्फ लैजान चाहने पक्षमा रहेको बताए। त्यसका लागि तोकिएको मितिमै महाधिवेशन अनिवार्य रहेको उनको भनाइ छ।

केन्द्रिय समितिले महाधिवेशनको मिति तोक्दा देखेको आधार र अहिले सम्भव नदेखिएको कारणबारे पार्टी नेतृत्वले आम कार्यकर्तालाई स्पष्ट जवाफ दिनुपर्ने ढुंगानाको माग छ। महाधिवेशन सार्ने प्रयासप्रति असहमति जनाउँदै उनले नेतृत्वको जवाफदेहिता प्रश्नमा परेको बताए।

ढुंगानाले एमाले, नेपाली कांग्रेस र तत्कालीन माओवादीबीचको सत्तामुखी समीकरणकै परिणामस्वरूप देशमा विकृति बढेको र त्यसैको प्रतिक्रियामा जेन्जी आन्दोलन जन्मिएको उल्लेख गरे। यस्तो नयाँ राजनीतिक चेतनाको अवस्थामा महाधिवेशन नगरी यही नेतृत्वसहित पार्टी अघि बढ्न नसकिने र चुनावमा सफलता पाउन कठिन हुने उनको ठहर छ।

अन्य दलहरूले महाधिवेशन सम्पन्न गरिसकेको सन्दर्भ उल्लेख गर्दै उनले कांग्रेसले आफ्नै तोकिएको मितिमा महाधिवेशन गर्न नसक्ने अवस्था कसरी आयो भन्ने विषय गम्भीर रहेको बताए।

महामन्त्रीद्वयले प्रस्तुत गरेको संशोधित कार्यतालिकालाई बेवास्ता गर्दै चुनावपछि महाधिवेशन गर्ने अडान कार्यबाहक सभापति र केही नेताहरूले लिनु पार्टीका लागि संगठनात्मक तथा चुनावी दृष्टिले घातक हुने उनको भनाइ छ।

उनले नेकपा एमालेसँग चुनावी समीकरण गर्ने चर्चा भइरहेको बेला विगतका यस्ता प्रयास असफल भएको स्मरण गराउँदै कांग्रेस एक्लै चुनाव लड्नुपर्ने आम कार्यकर्ताको भावना रहेको बताए।

ढुंगानाले फास्ट–ट्र्याकमार्फत वार्ड र क्षेत्रको अधिवेशन सम्पन्न गरी केन्द्रको महाधिवेशन तत्काल गर्नुपर्ने प्रस्ताव राखेका छन्। बाँकी निकायको अधिवेशन फागुनमा चुनाव भए चुनावपछि र चुनाव सरेमा फागुनमै गर्नु उपयुक्त हुने उल्लेख गर्दै उनले चुनावमा जान नयाँ नेतृत्व अपरिहार्य रहेको बताए।

पुष महिनाभित्र महाधिवेशन सम्पन्न हुन नसके विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नु अपरिहार्य हुने निष्कर्ष ढुंगानाले निकालेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार