भन्छन् – `भ्रष्टाचारसंग मेरो जीवनको कुनै सम्बन्ध छैन ।´
कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आफ्नो गाडी प्रयोगसम्बन्धी सामाजिक सञ्जालमा आएका टिप्पणी र आरोपप्रति प्रतिक्रिया व्यक्त गर्दै आफूले कुनै पनि अनियमित काम नगरेको स्पष्ट गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले गाडी प्रयोगका विषयमा फैलिएका टीका टिप्पणीप्रती ध्यानाकर्षण भएको बताएका हुन् ।

बिष्टले लेखेका छन्, `मेरो जीवन पारदर्शी छ । मैले एक पैसा पनि भ्रष्टाचार गरेको छैन र गर्ने प्रश्न नै उठ्दैन । आमाको रगत खानुजस्तै भ्रष्टाचारको पैसा खान्नँ भन्ने कसम लिएर सार्वजनिक जीवनमा आएको मान्छे हुँ ।´ उनका अनुसार विगतका सभामुखहरूले जस्तै सचिवालयबाट उपलब्ध गराइने नियमित सरकारी गाडी नै आफूले प्रयोग गर्दै आएका बताए ।
नियमित गाडी बिग्रिएको अवस्थामा सचिवालयकाे निर्णयअनुसार वैकल्पिक निजी नम्बरको गाडी चलाइएको उनले उल्लेख गरेका छ्न । `भाद्र २३ र २४ को आन्दोलनपछि केही दिन सरकारी नम्बरको गाडी प्रयोग भएन । वैकल्पिक गाडी चढिएको हो । त्यसलाई अपराधसँग नजोडिई दिनुहोला ।´
प्रदेशसभामा हालै भएको आगलागीका कारण आठवटा गाडी जलेको र सचिव नियुक्त भइसकेपछि सम्बन्धित गाडी सचिवले प्रयोग गर्ने गरेको जानकारीसमेत उनले सार्वजनिक गरेका छ्न ।
निजी वा दलगत गतिविधिमा सरकारी गाडी प्रयोग गरेको भन्दै गरिएको टिप्पणी चरित्रहत्या प्रयास भएको सभामुख बिष्टको दाबी छ । उनले भने, `पदको मर्यादा बुझेर काम गर्छु । निजी वा पार्टीका काममा प्रयोग गरेको भन्ने टिप्पणीले दुःख दिएको छ ।´
गाडीसम्बन्धी विषयमा कुनै भ्रम नफैलाउन आग्रह गर्दै सभामुख बिष्टले इच्छुक सञ्चारकर्मी तथा सरोकारवालालाई प्रदेशसभा सचिवालयसँग सम्पर्क गरेर तथ्य पुष्टि गर्न पनि सुझाव दिएका छन् । गाडी प्रयोगबारे सामाजिक सञ्जालमा आलोचना बढेपछि सभामुख बिष्टले सार्वजनिक स्पष्टीकरण जारी गरेका हुन् ।





