तरुण दल आफ्नो योगदानको विज्ञापन खोज्दैन : लोलिम पोमू लिम्बू

२०७८ जेष्ठ १५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

मोरङको उर्लाबारीका युवा ब्यबसायी तथा नेपाली कांग्रेसका युवा नेता लोलिम पोमू लिम्बू सँग गरिएका कुराकानीका केही अंशहरु:

१. नेपाल तरुण दलको ईतिहास र अहिलेसम्मका संगठानात्मक अवस्थाबारे बताइदिनुहोस्न ?

:- वि.पि.को आदर्श र प्रेरणामा आर्थिक र सामाजिक क्रान्तिको माध्यमबाट लोकतान्त्रिक र समतामूलक संस्कृतियुक्त राज्य व्यवस्था निर्माण गर्ने उद्देश्यले नेपाली कांग्रेसको भातृ संगठनको रुपमा २०१० साल कार्तिक १० मा स्थापित गरिएको संस्था हो भन्ने कुरा अभिलेख र जानकारहरुबाट थाहा हुन्छ ।

जहाँसम्म अहिलेसम्मको संगठनात्मक अवस्था र यसको गतिविधिको कुरा छ । विधानत यो केन्द्रदेखि गाउँ, सम्म विस्तारित छ । प्रजातान्त्रिक पद्दतिबाट यसका समितिहरु निर्माण हुन्छन् र यी उल्लेखित कुराहरु कार्यान्वयनमा पनि आजको दिनसम्म छ ।

वि.सं. २०१७ सालमा गरिएको शाही ‘कु’ पश्चात त्यसको विरुद्ध तरुण दलको योगदान भुल्न हुँदैन जस्तो लाग्छ । वि.सं. २०४६ को वा २०६२।०६३ को जनआन्दोलनमा आफ्नो राजनीतिक र सामाजिक उद्देश्य अनुसारनै नेपाल तरुण दल परिचालित थियो । तरुण दल आफ्नो योगदानको विज्ञापन खोज्दैन तर आफ्नो उद्देश्यअनुसार कुनै पनि उत्तरदायित्व वहन गर्न पछि पर्दैन । आजको राजनीतिक नेतृत्व पुस्ता हिजो तरुणले जन्माएको पुस्ता हो ।

२. तरुण दल उर्लाबारीले बिगतमा के के सामाजिक अभियान गर्यो र अब के गर्दैछ?

:- उर्लाबारी नगरको सन्दर्भमा विगत २ दशकअघिबाट पाटी सुदृढिकरण, संगठन निर्माण, विस्तार र चलायमान गर्दै नेपाली कांग्रेसले अघि सारेका नीति, कार्यक्रम कार्यान्वयन गर्न नेताहरुलाई दवाव सृजना गरी खवरदारी गर्ने तरुण दलले सधैं महत्वपूर्ण भूमिका खेलेको ईतिहास छ । वि.सं. २०६४ को कोशी बाढी पिडीत, २०७२ को महाभुकम्प पिडीतदेखि लिएर अहिलेको कोरोना महामारीमा पिडीतको सहयोगमा प्रभावित क्षेत्रमै उपस्थित भएर उर्लाबारी तरुण दलले आर्थिक, भौतिक साथै श्रम सहयोग गरेको निवेदन गर्न चाहन्छु । उर्लाबारीका युवाहरुलाई समेट्दै समाजको मूलधारमा ल्याई समाजमा हुने दुर्ब्यशनी, कुलत जस्ता विकृति विसंगतिमा कमी ल्याई अपराध न्यूनिकरण गर्न तरुण दल उर्लाबारीले उल्लेख्य सफलता हात पारेको छ ।

दुई तिहाई प्राप्त कम्युनिष्ट सरकारले बेला–बेलामा गर्ने असम्बैधानिक कदम विरुद्ध खवरदारी गर्ने कार्यमा तरुण दल उर्लाबारी सचेत छ । माओवादी युद्धमा धेरै साथीहरु प्रभावित हुनु परेतापनि संगठनप्रति उहाँहरुमा कहिल्यै विचलन आएन फलस्वरुप उर्लाबारीबाटै आज जिल्ला समितिका महत्वपूर्ण जिम्मेबारीमा हाम्रा साथीहरु रहनुभएको छ । यो महामारीबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरणका लागि पनि उर्लाबारी तरुण साथीहरु दिलोज्यानले अघि बढिरहनु भएको जानकारी गराउन चाहन्छु ।

मेरो बिचारमा तरुण दल उर्लाबारीले के गर्दैछ, भन्दापनि यसरी अघिबढ्दा उत्तम होला जस्तो मलाई लाग्छ। तरुण दल सदस्य संख्या बढाउने मात्र नभएर पार्टी भित्र गाँजिएका आन्तरिक कमी कमजोरीहरुलाई सुधार्दै तरुण दलको मुल्य मान्यतालाई आत्मसात गर्दै युवाहरु नेतृत्वमा परिपक्व बनाउँदै, समाजको चौतर्फी रुपान्तरणको लागि नेपाली कांग्रेसको नेतृत्व स्थापना गर्न बल पुर्याउनुपर्छ । तरुणहरु चुनावका बुथ रक्षक मात्र हुन भन्ने हाम्रा नेताहरुको मानसिकता बदल्न सक्नुपर्छ । आत्मनिर्भर दक्ष युवाशक्ति उत्पादनमा जोड दिनु पर्छ । समाजको विकृति, विसंगति भ्रष्टाचारका विरुद्ध सदैब आवाज बुलन्द गर्नुपर्दछ । खर्चिलो र भड्किलो निर्वाचन परम्पराको विरोध गर्दै सामान्य हैसियतको कार्यकर्ताले पनि क्षमता भएमा नेतृत्वमा पुग्न सक्ने वातावरण बनाउनुपर्छ ।

३. तरुण दलले युवा केन्द्रित के कस्ता कार्यक्रम गर्दैछ?

:- कुनैपनि संस्थाले आफ्नो स्थापनाको उद्देश्य अनुरुप नै कार्यक्रम दिने हो वा आफ्नो गतिविधिहरुको योजना बनाउने हो । तरुण दलको आफ्नै पद्दति छ । यो संगठनात्मक रुपमा युवा पुस्ता र जनतासम्म पुग्छ । बि.पि.ले एउटा दुरदर्शिता राख्नुभयो आर्थिक, राजनीतिक र सामाजिक कान्तिको सम्बाहक भनेको युवा पुस्ता हो । त्यसैले तालिम प्राप्त, सचेत र राम्रो सुजबुझ युक्त युवा पुस्ता भयो भने मानवका हरेक पक्षमा परिवर्तन भई समृद्धि भित्रिन्छ ।

हामीले अपेक्षा गरे अनुसारको समाज निर्माणको जग युवा पुस्ता हो । सिप र पारस्परिक सम्बन्ध यसै विश्वास र मर्मलाई आत्मसात गरेर तरुण दलले युवा पुस्तालाई राजनीतिक रुपमा प्रतिनिधित्व गराउने, विद्यमान राजनीतिक अवस्थाका बारेमा बहस गराउने, तरुण दलको उद्देश्यअनुसार युवा पुस्तालाई सामाजिक आचरण निर्माण गर्न प्रेरित गर्ने, समाजमा न्यायपूर्ण वातावरण निर्माणका लागि संगठनात्मक भूमिका निर्वाह गर्न प्रेरणादायिक विभिन्न भेला, गोष्ठी तथा युवा केन्द्रीत अन्तरक्रियात्मक कार्यक्रमहरु गर्दछ ।

४. अन्य राजनैतिक पार्टीका युवाभन्दा नेपाली कांग्रेस निकट युवाहरुमा के फरक पाउनु भएकोछ ?

:- व्यक्तिगत रुपमा युवा पुस्ताका बारेमा यो ठीक वा अर्को बेठिक जस्तो मेरो टिप्पणी छैन तर संस्थागत दृष्टिकोणमा तरुण दल निश्चयनै अरु राजनीतिक दलहरुको भातृ संस्थाहरु भन्दा फरक छ । युवा भातृ संस्थाहरु आफ्ना नेताहरुको सुरक्षाका लागि खटिएको सुरक्षा बल जस्तो देखिन्छ, जुन तरुण दलको चरित्र होइन । दोश्रो कुरा, तरुण दल सैदान्तिक जगमा स्थापित भएको संस्था हो भन्ने कुरा यसको ऐतिहासिक पृष्ठभूमिबाट थाहा हुन्छ, हामीले अघि नै भनेका छौं ।

यहाँनिर भन्नै पर्ने हुन्छ अरु युवा भातृ संस्थाहरुको सैदान्तिक जग कमजोर देख्छु, क्षणिक स्वार्थपूर्तिका लागि निर्माण भएका जमात जस्तो लाग्छ । तेस्रो कुरा माउ संस्थाको र यसको नेताहरुको अन्धोभक्त व्यवहार गर्ने तरुण दलको चरित्र हैन । जसले गर्नुहुन्छ वहाँ तरुण दलको सदस्य हुन सक्नु हुन्न । तरुण दल अभिव्यक्ति स्वतन्त्रता राख्दछ । लोकतन्त्र, समतामूलक व्यवहार सामाजिक न्याय तरुण दलका मार्गनिर्देशनहरु हुन् । अरु युवा भातृ संस्थाहरुको वास्तविक व्यवहार हेर्दा सामाजिक आदर्श विहिन पाउँछु । यिनीहरु यस मेन संस्थाहरु हुन तर तरुण दलका युवाहरु कांग्रेसका नेताहरुका विरुद्धमा मुर्दावादको नारा लाउन सक्ने स्वतन्त्रता राख्दछ । यी कारणहरुले गर्दा तरुण दल अरु भातृ युवा संस्थाहरुभन्दा विशिष्ठ रुपमा फरक छ ।

५. अहिलेको मुलुकको राजनैतिक घटना क्रमलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ?

मलाई के लाग्छ भने राजनीतिक मञ्च भित्र अराजनीतिक व्यवहार भइरहेको छ । लोकतन्त्रको अपमान भएको छ । युवा भातृ संस्थाहरु समर्थनमा अन्धोभक्तको ब्यबहार गरिराखेका छन् । म कांग्रेसको सत्ताको पक्षको कुरा गरिराखेको छुइन । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन, यही हो तरुण दल र अन्य युवा भातृ संस्था बीचको मुख्य फरक प्रधानमन्त्री के.पी. ओली आफुले विश्वासको मत लिन सक्दिन भनेर सिफारिस गरेपछि बेलुका बहुमतको निवेदन कुन धरातलबाट प्राप्त भयो ? दोश्रो कुरा, निवेदन आव्हान गरेपछि उक्त निवेदनहरु माथि कारवाही अगाडि बढाउनु पर्थ्यो । प्रकृयाले निवेदनहरुलाई गलत सावित गरे भइहाल्थ्यो नी, तर यो भएन, विधि अनुसार गरिएन लोकतन्त्रलाई आर्यघाटमा पुर्याउने काम भएको छ ।

विधिलाई पन्छाएर मनोगत शैलिमा राज्य सञ्चालन गर्ने हो भने यसले अस्थिरता र समाज विग्रहको अवस्था निम्त्याउँछ । क्रान्ति सत्तामा व्यक्ति परिवर्तनका लागि हुँदैन व्यवहार परिवर्तनका लागि हुन्छ । राणाहरुको शासन शैली र केपी, विद्याहरुको शैलिमा केही भिन्नता देखिदैन । सवाल शेरबहादुर देउवा अन्य कोही प्रधानमन्त्री हुनुपर्छ भन्ने होइन, जुन राजनीतिक अवधारणाको जगमा त्यो ठाउँमा पुग्नु भो । त्यसै माथि प्रहार हुँदैछ । यसबाट नेपालका लोकतान्त्रिक आन्दोलनहरुले परिकल्पना गरेको सामाजिक क्रान्तिको गन्तव्यमा पुग्न सक्दैन । आन्दोलनहरु भए, क्रान्ति हुन सकेको छैन । संविधान र कानुनको पूर्ण परिपालना र नैतिकताको मुल्य राख्ने राजनीतिक संस्कारको विकास गर्नु जरुरी देख्दैछु ।

६. अहिलेको अवस्थामा युवाहरु राजनैतिक रुपमा कांग्रेस निकट हुनुपर्ने कारणहरु बताईदिनुहोस्न ।

:- १. यो नेपालको अभिभावकको भूमिका निर्वाह गर्ने दल हो । चाहना नहुँदा पनि यो वास्तविकता स्वीकार्नु पर्छ , युवालाई चाहिने अभिभावक चरित्र नै हो ।
२. पूर्ण लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने दल हो ।
३. सिप, क्षमता र सृजनशिलता युवामा नै हुन्छ र यही जनशक्तिलाई सही परिचालन गर्न सके परिवर्तन सम्भाव छ । भन्ने दुरदर्शिता वि.पि.ले राख्नु भो र उहाँकै प्रेरणामा तरुण दल स्थापित भयो । त्यसैले युवाहरु नेपाली कांग्रेसमा आकर्षित हुनुपर्छ ।
४. फरक मत अभिव्यक्तिको स्वतन्त्रता कांग्रेसमा छ । युवा यो चाहन्छ ।
५. समावेशिता, समतामूलक व्यवहार, सामाजिक न्याय मार्फत समाजवाद युक्त समृद्ध समाजको निर्माण वि.पि.को परिकल्पनामा कांग्रेस आजका दिनसम्म स्थापित छ । त्यसैले कांग्रेस निकट युवाहरु कांग्रेसका लागि होईन, समाजका लागि हुनुपर्छ ।
यी विषयमा बहस गरौ, कमजोर सावित भए अन्य दल विकल्प हुन सक्छन् तर म चाही अन्य सम्भावना देख्दिन ।
७. नेताहरुलाई तपाईको सुझाव के छ ?
:- दलका नेताहरुलाई सुझाव दिन हैसियत त म राख्दिन होला, तथापी मेरा केही आग्रहहरु छन् ।
१. दलहरु बीच राजनीतिक समन्वय हुनुपर्छ ।
२. संविधान र कानुनको पूर्ण परिपालना गरौं ।
३. सत्ताको लागि जालझेल नगरौं । सरकार बाहिर रहँदा पनि जन उत्तरदायित्व बन्न सकिन्छ ।
४. राष्ट्रिय सरोकार र जनताका हितका काममा दलगत स्वार्थ त्यागी राष्ट्रिय एकता कायम गर्नुपर्दछ ।
५. सबैको समान अस्तित्व स्वीकार्नु पर्दछ ।
६. अहंकारले प्राप्त राजनीतिक र सामाजिक उपलब्धीहरु गुम्न सक्छ । सचेत रहनुपर्छ ।
७. व्यक्तिको समर्थन वा विरोधमा भाँडभैलो नमच्चाऔं, नीति र प्रकृयाको विवेकपूर्ण शालिन समर्थन वा विरोध गरौं ।

८ .तरुण दलका साथीहरुलाई के अनुरोध गर्न चाहनुहुन्छ ?

:- तरुण दलका साथीहरुलाई तरुण दलको उद्देश्यमा समर्पित भई सामाजिक व्यवहार गर्न अनुरोध गर्दछु । सही कुराको समर्थन गरौं, सम्बन्ध र निकटताको आधारमा व्यवहार गर्दा वास्तविकता र संस्थागत उद्देश्य ओझेलमा पर्छ । सम्बन्ध र पद्धति फरक–फरक हुन् । पद्दति र वास्तविकताका अनुशरण गरौं । हामी नेताको शैनिक नबनौं । नागरिकको सेवक बन्ने कुरामा हाम्रो शक्तिलाई सृजनशिल भएर प्रयोग गर्नुुपर्छ । यी वाहेक अनुशासन कायम गरौं ।

९ . अन्त्यमा केही भन्नु छ कि ?

:- तरुण दलको सैद्धान्तिक आधारमा समर्पित हुन तमाम तरुणहरुलाई अनुरोध गर्दछु । आउनुहोस् वहस यही मञ्चमा गरौं, युवा जनता र सामाजिक व्यवहारका बारेमा, तरुण दल कुनै लडाकु दस्ता होइन तर लोकतन्त्र र समतामूलक समाज निर्माणको हिमायती संस्थागत समूह हो । त्यसैले यसैसँग हातेमालो गरौं सबैलाई विशेष अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार