पुस्तक वार्ता : आतोओडा

२०७९ फाल्गुन १८, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

लेखक जानुका खतिवडाको पाँचौ कृतिका रुपमा ’आतोओडा’ केहि महिना अघि सार्वजनिक भएको छ। यसअघि उहाँका ’शून्य’, ’असल साथी’, ’कसले चोर्यो चकलेट’, ’उज्यालोको रङ’ जस्ता पुस्तक प्रकाशित छन्। प्रस्तुत छ उपन्यास ’आतोओडा’को सेरोफेरोमा रहेर खतिवडासंग सजलसन्देश डटकमले गरेको संक्षिप्त कुराकानी।

१) उपन्यास आतोओडाले उठाएको मूल विषय के हो ?

आतोओडा उपन्यास नेपालको सुदूर पूर्वमा रहेको एउटा सिमान्तकृत जातिको कथा हो। यसमा सिमान्तकृत सन्थाल जातिको सामाजिक, राजनीतिक, आर्थिक पक्षको उजागर गरिएको छ। व्यवस्था परिवर्तनमा महत्वपूर्ण हिस्सा भएको एउटा जाति कसरी सामाजिक रूपमा पछाडि पर्न गयो भन्ने कुरालाई यसले उठाएको छ। साथै यसमा नेपाली समाजको यथार्थ चित्रण पाउन सकिन्छ। खासमा यो सन्थाल समुदायको पृष्ठभूमिमा उभिएको पूर्वी तराईको कथा हो।

२) झापाका सीमान्तकृत सन्थाल समुदायको विषयमा कलम चलाउन केले प्रेरणा दियो ?

झापाका सीमान्तकृत सन्थाल समुदायको विषयमा कलम चलाउन उनीहरूको दैनिकी र दयनीय अवस्थाले मलाई प्रेरित गर्‍यो।
सन्थाल जाति रहेकै सेरोफेरोमा म हुर्किएकी र सानैदेखि उनीहरूसँग हिमचिम भएको भए पनि त्यति धेरै मलाई उनीहरूका बारेमा थाहा थिएन। तर जब दाजु ठाकुर खतिवडाको स्नातकोत्तर तहको शोधपत्र तयार हुँदै थियो त्यति बेला दाजुसँगै म पनि सन्थाल बस्तिमा पुगेँ र त्यहाँको वास्तविक अवस्थाका बारेमा साक्षात्कार हुने मौका पाएँ जसले मलाई यो उपन्यास तयार पार्न प्रेरणा दियो।

३) व्यवस्था परिवर्तनमा योगदान दिएका सन्थाल समुदाय पिछडिनुको कारण के होला ?

नेपालको व्यवस्था परिवर्तनमा सन्थाल जातिको महत्वपूर्ण योगदान छ। उनीहरूले व्यवस्था परिवर्तन गर्न त योगदान दिए तर उनीहरूकै अवस्था चाहिँ ज्युँका त्युँ रह्यो। यसको मुख्य कारणका रूपमा उनीहरू अल्पसंख्यक हुनु, उनीहरूका बारेमा बोलिदिने र सुनिदिने व्यक्तिको अभाव हुनु, केही व्यक्तिमा पूर्ण  शिक्षा र सचेतना भए पनि बहुसंख्यक व्यक्तिहरू अशिक्षित, गरिब हुनु, उनीहरू संगठित रूपले अगाडि बढ्न नसक्नु र आफ्नै संसारमा रमाउनु आदि विविध कारणहरू विद्यमान रहेको पाइन्छ।

४) राज्यले सन्थाल समुदायको उत्थानका लागि के गर्नुपर्छ ?

राज्यले प्रथमत उनीहरूलाई शिक्षाको मूल धारमा ल्याउन सक्नुपर्छ जसका लागि उनीहरूको आर्थिक सबलीकरणको विषयलाई सबैभन्दा पहिला सम्बोधन गरिनुपर्छ। जबसम्म आर्थिक अवस्थामा परिवर्तन ल्याउन सकिँदैन तबसम्म कुनै परिवर्तन देखा पर्दैन। अधिकांश समुदायका व्यक्तिहरूको पहिलो प्रथमिता भनेकै बिहान बेलुका हातमुख जोर्नु रहेको छ। खाली पेट अन्य के सम्भव हुन्छ र?

५) आतोओडा उपन्यासको कस्तो रेस्पोन्स पाइरहनुभएको छ?

आतोओडा उपन्यासको विषयमा पाठकबाट सकारात्मक प्रतिक्रिया नै आएको छ। एउटा सीमान्कृत जातिको विषयमा अध्ययन र विश्लेषणसहितको नेपाली समाजको चित्रण गर्नु आफैँमा जोखिम थियो। तर अहिले पाठक प्रतिक्रिया हेर्दा मलाई लाग्छ यो उपन्यासले जून विषयको उठान गरेको छ त्यसप्रति कृतिले न्याय गरेको छ।

६) यो वर्ष नेपाली भाषामा थुप्रै आख्यानका पुस्तक आएका छन्। उपन्यासको भीडमा ‘आतोओडा’ उपन्यासको पृथक कुरा के छ ? पाठकले यो उपन्यास पढ्नु पर्ने कारण के होला ?

व्यवस्था परिवर्तनसँगै आएको राजनीतिक चेतनाका कारण नेपालका धेरै जाति वा समुदायको उत्थान हुँदै गरेको अवस्थामा पनि यी सबै कुराबाट अप्रभावित, आज पनि दमित जिन्दगी बाँच्न विवश सिमान्तकृत एउटा समुदायको सम्पूर्ण पक्षलाई उपन्यासले उजागर गरेको छ। यो यसको सबल पक्ष हो। यसका बारेमा एउटा सामान्य नेपाली नागरिकदेखि सांस्कृतिक अध्येता र राजनीतिज्ञसम्म सबैले जानकारी राख्न जरुरी छ। त्यसैले पनि यो उपन्यास पढ्नु पर्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार