‘गौरादह जेसिजमा राजनीति भनेको क्षणिक हो, यसले ठुलो प्रभाव पार्दैन’

२०७७ पुष २१, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

गौरादह जेसीजको २०२१ को अध्यक्षमा एकराज घिमिरे निर्वाचित हुनुभएको छ । युवा व्यवसायी घिमिरेले आफु अध्यक्ष पदमा चयन भएपछि जिम्मेवारी र दायित्व अझ बढेको बताउनुहुन्छ । जेसीज अध्यक्ष भएपछि आगामी योजनाहरु के के छन्, उहाँसँग गरिएको कुराकानी जस्ताको तस्तै ।

अध्यक्ष हुनुभयो कस्तो लागिरहेको छ ?

म अध्यक्ष भएपछी जिम्मेवारी बढेको बोध भएको छ । गौरादह जेसिजमा रहनुभएका युवाहरुलाई सफल र क्षमतावान युवा बनाउने जिम्मेवारी मेरो काधमा आईपुगेको छ । आफ्नो क्षमता र बौद्धिकताले भ्याएसम्म गौरादह जेसीसको उन्नतीका लागि काम गर्नेछु ।

गौरादह जेसीजको बर्ष २०२१ को अध्यक्ष हुनु भएको छ, एक बर्षमा कस्ता कस्ता काम गर्ने योजना बनाउनु भएको छ ?

वर्ष २०२१ लाई सफल वर्ष बनाउनका लागि गौरादह नगर क्षेत्रमा रह्नुभएका १८-४० वर्षका युवाहरुको क्षमता अभिबृद्धि गर्न आवश्यकता अनुसारका कार्यक्रमहरु संचालन गर्ने छु । यस क्षेत्रका युवाहरुलाई कस्तो खालको तालिमको आवश्यकता छ, त्यो अनुसारका कार्यकम उहाँहरु माझबाट लिएर संचालन गर्ने छु । स्वास्थ्य क्षेत्रमा वृहत स्वास्थ्य शिविर संचालन गर्ने योजना बनाएको छु । सामाजिक क्षेत्रमा पनि स्थायीत्व रहनेगरिको काम गर्नेछु ।

एक वर्षमा यी सबै काम गर्न सम्भव छ ?

सकिन्छ, मनले गर्ने हो, जोश र जागरले गर्ने हो । म संग एउटा क्षमतावान, उर्जाशील टिमको साथ् छ । एक्लैले गर्ने होईन, टिमवर्क हुन्छ ।

जेसिजको नेत्तृत्वमा कस्ता अवसर र चुनौति रहेका छन ?

चुनौती चाहि म देख्दिन । यहाँ अवसर नै अवसर मात्र छन जस्तो लाग्छ । अवसर भएपछि सृजना गर्ने हो । त्यसलाई कार्यान्वयन गरेपछि सबै सफल हुन्छ ।

गौरादह जेसिजमा राजनीति कत्तिको हाबी छ ?

गौरादह जेसिजमा राजनीति भनेको क्षणिक हो । यसले ठुलो प्रभाव पार्दैन । होला अलिकति चुनावी प्रतिष्पर्धा गर्दै जादा कहिलेकाही छिटफुट राजनीतिक छिटाहरू देखिए होलान । तर, मत परिणाम सार्वजनिक भईसक्दा हामी फेरी एकै आगनमा बसेका छौ । कुनै आग्रह पूर्वाग्रह रहदैन ।

तपाईको कार्यकालमा नयां सदस्यता वितरण पनि हुन्छ ?

नयाँ सदस्यता हामीले युवाहरुको मागका आधारमा विस्तार हुन्छ । युवाहरुले गौरादह जेसिजलाई दिनसक्ने योगदानका आधारमा विस्तार गर्नुपर्छ ।

जेसिजमा प्रवेश किन गर्नुभयो ?

जेसिज भनेको केहि बुझेको थिइन् । सुकिला -मुकिला लुगा लगाउने, कालो कोट लगाउने, घुम्न जाने भन्ने लाग्थ्यो । तर, गौरादह जेसिजका संस्थापक अध्यक्ष विजय सिटौला दाईले धेरै सिकाउनु भयो । १० वर्षमा गौरादह जेसिज यो अवस्थामा आईपुग्न सफल भएका छौ ।

जसीसको सदस्यता लिएको युवा र गैर जेसीज युवामा के फरक देख्नु भएको छ ?

जेसिजले आफ्ना सदस्यहरुलाई स्वावलम्बी, अनुशासित बन्नुपर्छ भन्छ । जेसिज भित्र अनुशासन हुन्छ, त्यो अनुशासनको दायरा भित्र रहेर हामीले काम गर्ने हो । एउटा सिस्टम हुन्छ, त्यो सिस्टम भित्र रहेर हामीले काम गर्ने हो । बाहिरी युवाहरु थोरै अपरिपक्व भएर चलिरहेको देखिन्छ ।

तपाई गौरादहमा व्यवासय पनि गरिरहनु भएको छ, जेसिज अध्यक्ष नि हुनुहुन्छ, सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । समग्रमा हेर्दा गौरादह क्षेत्रका युवाहरुमा भएका समस्या चै केके हुन् ?

युवाहरुको सबैभन्दा ठुलो समस्या भनेको उहाहरुलाई उत्प्रेरणाको खाचो छ । युवाहरु संग क्षमता छ तर, त्यो देखाउने ठाउ छैन ।

जेसीजलाई हुने खानेहरूको संस्था हो भनिन्छ नि?

मेरो बिचारमा त जेसिज धनी बनाउने सँस्था चै पक्कै हो । जेसिजले हामीलाई उधमी बन्नुपर्छ, कमाउनु पर्छ भन्ने सिकाउछ । हामीले कमाएको केहि रकम जेसिजमा खर्च गर्ने हो ।

जेसीज कस्तो खालको संस्था हो ?

जेसिज गैरसरकारी संस्था होइन यो त विश्वव्यापी संञ्जाल भएको सिक्ने र सिकाउने थलो हो । जेसिज आफ्नो सदस्यहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो । म गौरादह जेसीजमा आबद्ध भएको स्थापना समयदेखि नै हो । यस अघि म कुनै पनि कार्यक्रममा अगाडि गएर बोल्न नसक्ने अबस्थामा थिए । अहिले जेसीजको गौरादहको नेतृत्व लिन सक्ने भईसकेको छु ।

जेसीजमा कस्ता व्यक्ति आबद्ध हुन्छन् ?

जेसिजमा १८ वर्ष काटेर ४० वर्ष ननाघेका नेपाली युवाहरु आबद्ध हुन सक्नुहुन्छ । केहि गर्न उत्सुक युवाहरुका लागि राम्रो प्लेटफर्म हो जेसिज ।

जेसीजलाई समाज विकास र परिवर्तनका विषयमा भन्दा पनि आफनै क्षेत्रमामात्र क्रियाशील छ भन्ने आरोप छ नि ?

समाज बिकास एउटा चक्र हो । जेसिजले व्यक्तिलाई सामाजिक हुन् सिकाउछ । त्यो व्यक्तिले सामाजिक काम गरिरहदा त्यो सामाजिक देन हैन र ? हामी युवाहरुलाई सामाजिक काममा उत्प्रेरणा जगाउन व्यक्तित्व विकास गराउने कार्यमा अग्रसर छौ ।

जेसीजकर्मीको नाताले आमसमुदाय तथा सरोकारवालाहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?

जेसिज एउटा अभियान हो । यो अभियानमा सकारात्मक सोचका साथ लाग्नु पर्दछ । सामाजिक रुपमा हाम्रो पनि उत्तरदायित्व रहन्छ । गौरादहवासीले धेरै माया र स्नेह दिनुभएको छ । हामीले यस्तो काम गर्छौ भन्दा उहाहरुले साथ् र सहयोग दिनु भएको छ । हामी सबै मिलेर समाजमा सकरात्मकता फैलाउनु पर्छ ।

अन्तमा केही भन्न चाहानु हन्छ ?

मलाई अध्यक्षमा निर्बाचित गर्न सहयोग गर्ने सम्पुर्ण जेसीज साथीहरुलाई धन्यवाद दिन चाहान्छु । मलाई गौरादह जेसीजको अध्यक्षसम्म ल्याई पु¥याउने अग्रजहरुलाई पनि सम्झन चाहान्छु । र अन्तमा समाज परिबर्तन गर्न चाहाने युवाहरुलाई जेसिजमा आबद्ध हुन पनि अनुरोध गर्छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार