गौरादहमा रामकृष्ण ढकालको एकल सांगीतिक साँझ सम्पन्न

२०८२ पुष १, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादहमा चर्चित गायक रामकृष्ण ढकालको एकल सांगीतिक साँझ भव्य रूपमा सम्पन्न भएको छ ।

लाइन्स क्लब अफ गौरादहको आयोजनामा शुक्रबार गौरादह उद्योग वाणिज्य संघको अतिथि भवनमा आयोजित कार्यक्रममा ढकालले आफ्ना नयाँ–पुराना गरी दुई दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शक–श्रोतालाई मन्त्रमुग्ध पारे ।

‘बिहान उठ्ने बित्तिकै’ गीतसँगै स्टेज उक्लिएका ढकालले ओराली लागेको, मन पराउने हजार, हीरा काट्ने, माया जदौ, छिटको गुन्यू, बाँचुञ्जेलीलाई लगायतका चर्चित गीत सुनाए ।

पछिल्लो समय रुचाइएको ‘फूलको आफ्नै कथा’ तथा निर्माणाधीन फिल्म ‘मालती मंगले’को एक गीत पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । युगल गायनमा गायिकाद्वय टीका प्रसाईं र सञ्जिता बरालले साथ दिएका थिए ।

कार्यक्रमबाट संकलित रकम एक असहाय वृद्ध आमाको सुरक्षित आवास निर्माणका लागि खर्च गरिने आयोजक संस्था लायन्स क्लब अफ गौरादहकी प्रेसिडेन्ट बिनिता अधिकारी कटुवाल जनाइन् । गायक ढकालले पनि व्यक्तिगत रुपमा ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

यस अवसरमा गौरादहलाई चिनाउने गीत ‘गौरादहको बजारैमा’का सर्जक तथा गायक सीताराम ताजपुरियालाई सम्मान गर्दै ढकालले सोही गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार