जनसेवा र संघर्षका प्रतीक खेमकुमार पौडेल अब रहेनन्

२०८२ कार्तिक १५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गौरीगंज (झापा), कार्तिक १४ । झापा अर्जुनधारा नगरपालिका ६ का बासिन्दा तथा नेपाली कांग्रेसका अग्रज नेता खेमकुमार पौडेलको ७५ वर्षको उमेरमा निधन भएको छ । पौडेलको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा शुक्रबार साँझ करिब ६ बजे निधन भएको परिवारले जनाएको छ ।

२०१० सालमा ताप्लेजुङको दुमृषेमा जन्मिएका पौडेल पछिल्ला वर्षदेखि अर्जुनधारा ६ मा बसोबास गर्दै आएका थिए । लामो समयदेखि कांग्रेसको संगठन निर्माण र स्थानीय विकासमा सक्रिय रहँदै आएका उहाँले पार्टी, समाज र प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान गर्नुभएको छ ।

पौडेलले २०३२ सालदेखि तत्कालीन महाभरा गाउँ पञ्चायत (हाल गौरीगंज गाउँपालिका १) बाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०५४ सालको स्थानीय चुनावमा उहाँ तत्कालीन महाभरा गाविसको वडासदस्य निर्वाचित हुनुभएको थियो । उहाँ महाभरा साना किसान संस्थाका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।

२०४६ र २०६१ सालका प्रजातान्त्रिक आन्दोलनमा पौडेल सक्रिय रहनुभएको थियो । गाउँगाउँमा लोकतान्त्रिक चेतना फैलाउने र कांग्रेसलाई जनस्तरमा सुदृढ बनाउने कार्यमा उहाँको अग्रणी भूमिका रहेको सहकर्मीहरूले बताएका छन् ।

पौडेलले बाल कल्याण माध्यमिक विद्यालय, कुञ्जीबारीका व्यवस्थापन समिति र भन्सार व्यवस्थापन समितिका संस्थापक कोषाध्यक्षका रूपमा पनि योगदान दिनुभएको थियो । उहाँका पाँचै सन्तानले सोही विद्यालयबाट एस.एल.सी. उत्तीर्ण गरेका छन् ।

जनसेवा, सादगी र निष्ठाका प्रतीक मानिने पौडेलको निधनले नेपाली कांग्रेस र स्थानीय राजनीतिक वृत्तमा शोक छाएको छ । उहाँका परिवारमा पत्नी, एक छोरा र चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार