गौरादह, कार्तिक ४ । गौरादह १ स्थित कृष्णगंगा घाटमा आउँदो कार्तिक १० गते भव्य रूपमा छठपर्व २०८२ मनाइने भएको छ ।
स्थानीयवासी, युवाहरू र धार्मिक श्रद्धालुहरूको संयुक्त आयोजनामा घाट सरसफाइ, प्रकाश व्यवस्था र सजावटको तयारी तीव्र गतिमा भइरहेको आयोजक समितिले जनाएको छ ।

समाजसेवामा सक्रिय रहँदै आएका भुपालराज कटुवाल र बिनिता अधिकारी कटुवाल दम्पतीले छठपर्वको तयारी र व्यवस्थापनका लागि रपच्चिस हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कटुवाल दम्पतीले समाज र धर्म–संस्कृतिको जगेर्ना समुदायको साझा जिम्मेवारी भएको बताउँदै, आफ्नो श्रम र आम्दानीको केही हिस्सा समाजोपयोगी कार्यमा खर्च गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
गत वर्षदेखि कृष्णगंगा घाटमा छठपर्व मनाउन थालिएको हो । पहिलो वर्षदेखि नै स्थानीयहरूको उत्साहपूर्ण सहभागिता रहँदै आएको यस पर्वले गौरादह क्षेत्रमा धार्मिक एकता, सहकार्य र संस्कृतिप्रतिको लगाव बढाएको छ ।
छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै सूर्यदेवको आराधना गर्ने परम्परा रहेको छ । यस वर्ष पनि गौरादहका विभिन्न टोल र वडाबाट सयौं श्रद्धालुहरूको सहभागिता रहने अनुमान गरिएको छ ।





