जनता मावि भवन निर्माणका लागि भारत सरकारको करिब ९ करोड सहयोग स्वीकृत

२०८२ कार्तिक ५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा / भारत सरकारले झापाको गौरादह नगरपालिका १ मा अवस्थित जनता माध्यमिक विद्यालयको भवन निर्माणका लागि करिब ९ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग स्वीकृत गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण शाखाका काउन्सलर अविनाश कुमार सिंहले नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रबिलाल पन्तलाई पठाएको पत्रमार्फत उक्त सहयोग स्वीकृत भएको जानकारी दिएका हुन् ।

पत्रअनुसार विद्यालय भवन निर्माण परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत अघि बढाइनेछ । परियोजनाको कुल लागतको ९० प्रतिशत भारत सरकारले व्यहोर्नेछ भने बाँकी १० प्रतिशत रकम गौरादह नगरपालिकाले उपलब्ध गराउने छ ।

दुवै देशबीच २०२४ जनवरी ४ मा हस्ताक्षर गरिएको समझदारीपत्र (MoU) अन्तर्गत परियोजना कार्यान्वयन हुने पत्रमा उल्लेख छ । परियोजनाको समझदारीपत्र भारतीयको दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गौरादह नगरपालिका बीच हस्ताक्षर गरिनेछ ।

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण कार्य सम्पन्न भएपछि गौरादह क्षेत्रका विद्यार्थीहरू गुणस्तरीय शैक्षिक पूर्वाधारबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार