दमकमा प्रदेशस्तरीय अन्तर क्याम्पस फुटसल प्रतियोगिता

२०८० असार २९, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको दमकस्थित स्वतन्त्र बिद्यार्थी युनियन दमक बहुमुखी क्याम्पसले पहिलो पटक कोशी प्रदेशस्तरीय अन्तर क्याम्पस फुटसल प्रतियोगिता गर्ने भएको छ ।

स्ववियुले शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बिषयमा विस्तृत जानकारी गराएको हो । पत्रकार सम्मेलनमा स्ववियु सभापति सोविम न्यौपानेले साउन ७ देखि १० गते सम्म सञ्चालन गरिने फुटसल प्रतियोगितामा प्रदेशभरका कूल २१ वटा क्याम्पसहरुबाट सहभागिता रहने जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न सचिव दिपक लिम्बूको संयोजकत्वमा प्रतियोगिता मूल समिति गठन गरिएको र विभिन्न ६ वटा उपसमितिहरुले आवश्यक तयारीहरु गरिरहेको सभापति न्यौपानेले बताए ।

प्रतियोगितामा सहभागी हुन आउने टाढाका फुटसल टिमहरुलाई आवासीय व्यवस्थापन समेत आयोजकले गर्ने गरि तयारी गरिरहेको मूल संयोजक लिम्बुले बताए । उनका अनुसार यो प्रतियोगिता ऐतिहासिक महत्व राख्ने किसिमको भएकाले यसलाई दमककै शान र प्रतिष्ठाका रुपमा लिन दमकबासीहरुलाई आग्रह गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख राशीको पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने स्ववियु दमक बहुमुखी क्याम्पसकी कोषाध्यक्ष उमा राईले जानकारी दिइन ।
उनले प्रतियोगिता सञ्चालनमा कूल १२ लाख रुपैयाँ विविध शिर्षकमा खर्च हुने भएकाले दमक बहुमुखी क्याम्पस, दमक नगरपालिकासहित विभिन्न यहाँका शैक्षिक तथा खेलकुदप्रेमी सरोकारवालाहरुबाट सहयोगको अपेक्षा राखिएको बताइन ।

प्रतियोगितामा सहभागी टिमहरुको बीच उपाधिका लागि प्रतिस्पर्धा हुने र दमक बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी तथा स्थानीय सञ्चारकर्मीहरुका बीचमा मैत्रीपूर्ण फुटसल पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार