बुढासुब्बा गोल्डकपको टिकट किन्ने देखी अनलाइन अपडेट हेर्न मोबाइल एप्स

२०७९ फाल्गुन ८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुढासुब्बा गोल्डकप हेर्न रङ्गशाला पुगेर टिकट काउन्टर खोजी रहनु पर्दैन । अब मोबाइलबाटै टिकट किनेर सिधै ग्राउण्डको गेट गए भो । खेलको अपडेट बुझ्न अनलाइन साइटहरू पनि खोजी रहनु परेन । सबै कुरा प्ले स्टोरबाट ‘बुढासुब्बा गोल्डकप’ एप्स डाउनलोड गरेपछि मोबाइलमै पाइन्छ ।

फागुन १३ गते देखी सुरु हुने २३ औँ गोल्डकपलाई यसपालि आयोजक धरान फुटबल क्लबले सञ्चार प्रविधिसँग जोडेको छ । ‘बुढासुब्बा गोल्डकप’ नामको मोबाइल एप्स क्लबले धरानको आइटी कम्पनी कोड आइटीसँग सहकार्य गरी बनाएको हो ।

यो एप्स प्ले स्टोरबाट डाउनलोड गरेपछि बुढासुब्बा फुटबलको टिकट अनलाइन नै किन्न सकिन्छ । एन्ड्रोइड मोबाइलको लागी प्ले स्टोर र एप्पल मोबाइलको लागी एप्स स्टोरबाट यो एप्स डाउनलोड गर्ने सुविधा उपलब्ध छ ।

टिकट खरिदका साथै गोल्डकप सँग सम्बन्धित समाचार, सहभागी क्लब, खेलाडीहरूको बारेमा जानकारी, खेलको अनलाइन अपडेट मोबाइलमै हेर्न सकिन्छ । टिकट काटेपछि टिकटको क्युआर कोड गेटमा स्क्यान गरी प्रवेश गर्ने प्रविधि यसपालि जडान गरिएको छ ।

एप्सबाट परिवार वा साथीहरूको लागी पनि टिकट काटन सकिन्छ । यसरी ग्रुपमा काटेको टिकट लिएर गेटमा प्रवेश गर्दा ग्रुप नै प्रवेश गर्नु पर्नेछ ।

गोल्डकपलाई सञ्चार प्रविधिसँग जोड्न क्लबसँग सहकार्य गरिएको एप्स बनाउने कोड आइटी धरानका प्रमुख कार्यकारी अधिकृत सजल श्रेष्ठले बताए । यस्तो एप्स नेपालका कुनै पनि प्रतियोगितामा प्रयोग भएको नदेखिएकोले बुढासुब्बा गोल्डकप एप्स नै यस्तो पहिलो एप्स भएको उनको भनाई छ ।

एप्सले धरान बाहिरका दर्शकलाई लाइभ टेक्स्ट अपडेट मार्फत धरान रङ्गशाला पुगेको अनुभव गराउने उनले बताए । कोड आइटी धरानले एप्स मार्फत टिकट खरिद गर्नेहरू मध्ये एक जना लाई हरेक दिन लक्की ड्र मार्फत फुटबल उपहार गर्ने प्रायोजन पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार