सांस्कृतिक परम्पराको संरक्षणमा गुरुङ समुदायको भूमिका प्रशंसनीय : राष्ट्रपति भण्डारी

२०७९ पुष १५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

न्युज कारखाना
काठमाडौं, १५ पुस
राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको तमु ल्होसार पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धन मार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताएकी छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बिच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास लिएको छु,’ उनले भनेकी छन् ।

उनले तमु ल्होसार पर्वले आपसी विश्‍वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य‚ सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि व्यक्त गरेकी छन् ।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ‚ कास्की, पर्वत लगायतका जिल्लामा यो पर्व मनाउने गरिन्छ ।

तमु ल्होसारको दिन गुरुङ समुदायका महिलाहरू शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुषहरू टोपी, भोटोमाथि भाङ्ग्रो‚ कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी‚ कौडा जस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार