गौरीगञ्ज गाउँपालिका कारवाहीमा ,कमल फाईनलमा

२०८० फाल्गुन १०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा गौरीगञ्ज गाउँपालिकाले नियम विपरीत खेलाडी समावेश गरेको पाइएपछि आयोजक शिवसताक्षी नगरपालिकाले गाउँपालिकालाई कारवाही गरेको छ ।

बुधबार कमल गाउँपालिकाका कर्मचारीसँग पहिलो सेमिफाइनल खेल खेलेको गौरीगञ्जको टिमबाट समावेश सरोज साउदेन, निरबहादुर प्रधान र विशाल श्रेष्ठ गाउँपालिकाको कर्मचारी नभएकाले गौरीगञ्जको टिमलाई खेलबाट बर्खास्त गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गौरीगञ्जको टिम नियम विपरितको भएसँगै उ सँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गरेको कमल गाउँपालिकालाई विजयी घोषणा गरेको छ । सो सम्बन्धिको शिवसताक्षी नगरपालिकाले कमल गाउँपालिकालाई आज पत्र पठाएको जनाइएको छ ।

यससँगै सो प्रतियोगिताको फाइनल खेल अब बिर्तामोड नगरपालिकासँग खेल्नेछ । यसअघि पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडेनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइबे्करमा दुवै टिमबाट ३–३ गोल भएपछि खेल सडेनडेथमा धकेलिएको थियो । सडेनडेथमा ३–२ गोल अन्तरले विजयी हुँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको भएपनि कमलले आफना प्रतिष्पर्धी टिम विरुद्ध उजुरी हालेको थियो । त्यस्तै विर्तामोडले दोस्रो सेमीफाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई हराएको थियो ।

अन्तरपालिका कर्मचारीहरुको फाइनल खेल शुक्रबार १ बजेदेखि हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रतियोगिताको बिजेता टिमले नगद रु ७० हजार र उप बिजेता टिमले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार