बोनम्यारो पीडित श्रेष्ठको परिवारलाई अमेरिका र अष्ट्रेलियाबाट साढे ५ लाख सहयोग, वडाध्यक्ष भण्डारी र दाता परिवारका प्रतिनिधले गरे हस्तान्तरण

२०८० माघ २१, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुको अलग अलग समूहले झापा दमक १० शान्ति टोलका बिरामी श्रेष्ठ परिवारको उपचारका लागि नगद साढे पाँच लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेका छन । एउटै परिवारका तीन जनामा जटिल रोग देखिएपछि उपचारका लागि सहयोगको याचना गरेको पीडित परिवारका लागि दाताहरुले यति ठुलो सहयोग प्रदान गरेका हुन ।

दमक १० शान्ती टोल निवासी बोनम्यारो पीडित ४८ बर्षिय धनबहादुर श्रेष्ठसहित उनको परिवारका तीन जनामा जटिल रोग देखिएपछि सो परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो । सो परिवारको अवस्थाका बारेमा सजलसन्देश ड्टकम र पत्रिका मार्फत प्राथमिकतापूवर्क समाचार सामग्रीहरु प्रकाशन गरेको थियो ।

श्रेष्ठ परिवार र दमक वडा नम्बर १० का वडाध्यक्ष राजेन्द्र भण्डारीसहित वडा समिति परिवारले गरेको सार्वजनिक अपिलपछि अमेरिकामा बस्दै आएका भगिरथ श्रेष्ठ र शिवराज गौतमको पहलमा उहाँहरुसहित ७५ जना सहयोगी हातहरुबाट तीन लाख ९ हजार ३ सय ५७ रुपैयाँ नगद सहयोग प्राप्त भएको हो ।

त्यसैगरी अष्ट्रेलियामा बस्दै आएका उर्लाबारीका प्रदिप कार्कीको पहलमा त्यहाँ सहयोगी दाताहरुले १ लाख ९२ हजार रुपैयाँ सहयोग रकम पठाएका हुन । प्राप्त सहयोग रकम आज पीडित श्रेष्ठको निवासमानै पुगेर वडाध्यक्ष भण्डारी र कार्कीका बुबा उपेन्द्र कार्कीले संयुक्त रुपमा परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

वडाध्यक्ष भण्डारीले मानवीय सेवामा दाताहरुले देखाउनु भएको सहयोग र सदभावको प्रशंसा गर्दै सबैमा धन्यवाद प्रकट गरेका छन । सो अवसरमा वडा सदस्य रविन्द्र लिम्बु, स्थानीय युवा नविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, प्रदेश समिति सदस्य बिष्णु सुब्बा, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईसहित छरछिमेकी र पीडित परिवारका सदस्यहरु उपस्थित थिए ।

बोनम्यारो पीडित श्रेष्ठको काठमाडौंस्थित सिभिल अस्पतालमा विशेषज्ञ डाक्टर विशेष पौडेलको टिमले उपचार गरिरहेको छ । उनलाई तत्काल १२ हप्ता सम्म चलाउनु पर्ने औषधी दिइएको र सोपछि मात्रै बोनम्यारो प्रत्यारोपणबारे निधो लिने चिकित्सकहरुलाई उदृत गर्दै श्रेष्ठ परिवारले जनाएको छ ।

धनबहादुरका दाजु रामकुमार श्रेष्ठको पनि एउटा मिर्गाैला १७ बर्षअघिनै खराब भएर फँयाकिसकिएको छ । रामकुमार अहिले एउटा मिर्गाैलाको भरमा मात्रै हुनुहुन्छ । उहाँले शरिरको एउटा अंगनै नभएको अवस्थामा कडा परिश्रम गर्न र जिवनयापनमा निक्कै कठिनाई ब्यहोर्नु परिरहेको बताउनुभयो ।

धनबहादुर र रामबहादुरका ७२ बर्षिय बुबाको पनि विर अस्पताल काठमाडौंमा उपचारपछि घर ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय