लेटाङमा शालिक विवाद: विद्यालय परिसरमै राख्न विप्लवको पार्टीको माग

२०८० माघ १०, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको लेटाङमा ‘सहिद’को शालिक तोडफोड हुनुमा माओवादी केन्द्रलाई दोष दिएको छ । लेटाङ ५ स्थित शिक्षा विकास मावि अगाडी राखिएको माओवादी जनयुद्धका सहिद हरि भट्टराईको शालिक निकालेर माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताले गत माघ ४ गते लेटाङ बसपार्कको खाली स्थानमा शालिक ठड्याएको थिए ।

लेटाङ नगरपालिकाका नगर प्रहरीले सो शालिक हटाएपछि त्यो कार्यको माओवादी केन्द्रले विरोध जनाउदै आएको छ । यसै विषयलाई लिएर विप्लव नेतृत्वको नेकपाले सहिद भट्टराईको शालिकलाई पुर्ववत अवस्थामै शिक्षा विकास मावि परिसरमै राखिनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको हो । ‘लेटाङ ५ स्थित शिक्षा विकास मावि परिसरमा फलैचासहित सो शालिकलाई पुन: ससम्मान स्थापित गरियोस्’, विज्ञप्तिमा भनिएकोृ छ ।

यस्तै, साविकका लेटाङ, भागटेनी, जाँते र वाङ्गी गाविसमा सहादत प्राप्त गर्ने १६ जना सहिदको नाममा सहिद स्मारक पार्क बनाउनपनि विज्ञप्तिमा माग गरिएको छ ।
नेकपाका पुर्वी मोरङ जिल्ला सचिव डिल्ली सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ‘नाटकीय ढंगबाट भएका दुबै घटनाले नेकपा मोरङको गम्भीर ध्यानाकर्षण भएको छ ।’

शालिक राखिएको स्थान वरपरका बासिन्दालाई जानकारी नगराएको र विरालोले न्याउरा सारे जसरी अन्यत्र स्थानान्तरण भएको भन्दै मओवादी केन्द्रलाई दोष दिएको नेकपाले नगरपालिकाको पनि गल्ति औंल्याएको छ । लेटाङ नगरपालिकाले सुरक्षाका नाममा प्रहरी कार्यालयमा शालिक राखेको जनाउदै सो कार्य संवेदनशील र अराजक भएको टिप्पणी गरिएको छ ।

शालिक हटाउने र राख्नेजस्ता कार्य दु:खद परिस्थिति भएको जनाउदै दुबै पक्षलाई समस्या समाधान गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय