पुनरुत्थानको बाटोमा पर्यटन

२०७९ पुष १०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

काठमाडौँ, १० पुस (रासस) : कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष निकै सुस्ताएको नेपालको पर्यटन क्षेत्र फेरि एकपटक उठ्ने प्रयासमा छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन क्षेत्रमा देखिएका पछिल्लो केही तथ्याङ्कले यो पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन् ।

सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक ल्याउने सरकारको योजना कोरोना महामारीका कारण सम्भव हुनसकेन् । यसका कारण सन् २०१९ को तुलनामा २०२० मा विदेशी पर्यटक आगमनको सङ्ख्या ८० प्रतिशतले घटेर दुई लाख ३० हजार ८२ मा सीमित भयो ।

कोरोना महामारीको असर सन् २०२१ मा पनि देखियो । सन् २०२१ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनको सङ्ख्या ३४ दशमलव ८७ प्रतिशतले घट्यो भने सन् २०१९ को तुलनामा ८७ प्र्रतिशतले घटेको थियो । यद्यपि सन् २०२२ को ११ महिनामा नेपाल आएका पर्यटकको सङ्ख्या हेर्ने हो भने यसमा सुधार देखिएको छ । सन् २०२१ को तुलनामा यस वर्षको नोभेम्बरसम्म २६६ प्रतिशतले पर्यटक आगमन बढेको छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने सन् २०२० मा आएका पर्यटकको सङ्ख्या हेर्दा पर्यटन क्षेत्र पुनरुत्थानको बाटोमा रहेको भन्न सकिने तर्क गर्नुहुन्छ । “तथ्याङ्क हेर्दा पर्यटक आगमन सुधारको दिशामा छ, यो आगमनको आँकडाले पुनरुत्थानको सङ्केत गर्छ”,उहाँले भन्नुभयो ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष निलहरि बाँस्तोला विदेशी पर्यटक आगमन, नेपालमा औसत बसाइँ अवधि र प्रतिदिन औसत खर्च पनि बढेको बताउनुहुन्छ । “सन् २०२२ मा पर्यटकको सङ्ख्या बढेको छ तर लक्ष्य हासिलका लागि हालको पर्यटन प्रवद्र्धन रणनीतिमा सुधार गर्दै प्रभावकारी प्रचारप्रसारमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

होटल सङ्घ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह पछिल्लो समय पर्यटक आगमन बढेको र नेपालमा पनि पर्यटन क्षेत्रमा लगानी बढिरहेको बताउनुहुन्छ । “पर्यटक आगमन आगामी दिनमा अझै बढ्ने देखिन्छ, त्यसैले होटललगायतका पर्यटकीय पूर्वाधारमा पनि उल्लेख्य मात्रामा लगानी बढिरहेको छ”, उहाँले भन्नुभयो, “आजका दिनमा नेपालमा वार्षिक २५ लाखभन्दा बढी पर्यटकलाई सेवा दिनसक्ने होटल पूर्वाधार बनिसकेका छन् ।”

उहाँका अनुसार होटलमा स्वदेशी र विदेशी लगानी बढिरहेको छ भने हाल सञ्चालनमा रहेका होटलमा ५० हजारभन्दा बढी शय्या छन् । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले विभिन्न चुनौतीका बाबजुद पनि पर्यटक आगमन सकारात्मक देखिएको भन्दै यसले पर्यटन पुनरुत्थानमा मद्दत पुग्ने बताउनुभयो ।

“विदेशी पर्यटक बढाउन प्रमुख विषय कनेक्टिभिटी हो, यसका लागि स्वदेशी र विदेशी जहाजको उडान सङ्ख्या बढाउनुपर्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय ध्वजाबाहक जहाजलाई सबल बनाउँदै हवाई भाडादर पनि सस्तो बनाउनुर्छ ।”

विशेषगरी छिमेकीमूलुक भारत र चीनमा मात्रै प्रभावकारी प्रचारप्रसार गर्न सक्ने हो भने नेपालमा लक्ष्यअनुसार विदेशी पर्यटक ल्याउन सकिने पर्यटनविज्ञ बताउँछन् । नेपालमा आउने कूल पर्यटकमा भारत र चीनका पर्यटकको हिस्सा र क्रमशः पहिलो र दोस्रो स्थानमा छ ।

तथ्याङ्कअनुसार भारतबाट प्रत्येक वर्ष करिब ८० लाख पर्यटक र चीनबाट प्रत्येक वर्ष १५ करोडभन्दा बढी पर्यटक विश्वका विभिन्न देशमा घुम्न निस्कने गरेका छन् । यसमध्ये दुई प्रतिशत पर्यटक मात्रै नेपाल ल्याउन सक्ने हो भने ३० लाखभन्दा बढी पर्यटक प्रत्येक वर्ष नेपाल आउने विज्ञहरुको भनाइ छ ।

नेपाल भ्रमण दशक

कोरोना महामारीका कारण स्थगित भएको नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक आगमनको सङ्ख्या न्यून मात्रै भयो । यसले नेपालको पर्यटक विकासको गतिलाई सुस्त बनायो । यसैबीच सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई नेपाल भ्रमण दशकका रुपमा मनाउने योजना अनुरुप नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलन गरी दश वर्षे कार्ययोजनाको प्रस्तावित कार्यक्रमबारे जानकागरी दिनुभएको हो । कोभिड महामारीबाट प्रभावित बनेको पर्यटन क्षेत्रको दीर्घकालीन सोचसहितको पुनरुत्थान आवश्यक भएकाले पर्यटन दशकको अवधारणा ल्याइएको बताउँदै मन्त्री श्रेष्ठले यस कार्यक्रमबाट विश्वपर्यटन बजारमा नेपाललाई अग्रणी स्थानमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३-२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको हो ।

कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्‍याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ । दशक कार्ययोजनाअन्तर्गत देशैभरी बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्म पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्‍याउने लक्ष्य लिइएको छ ।

कोभिड-१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पु¥याउने र तत्पश्चात् पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ । यसका साथै प्रतिपर्यटक प्रतिनिधिन खर्च ४८ अमेरिकी डलरबाट एक सय २५ पुर्‍याउनुका साथै देशको कूल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पु¥याउने लक्ष्य छ । पर्यटनमन्त्री श्रेष्ठले गत साउनमा ७४ बुँदे कार्ययोजना सार्वजनिक गर्दै नेपाल भ्रमण दशकको अवधारणा ल्याउनुभएको थियो ।

मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नेपाल भ्रमण दशकमार्फत् धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउने लक्ष्यसहित योजना ल्याइएको थियो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रकुमार केसीले पर्यटन पुनरुत्थानको कार्ययोजना अन्तर्गत नेपाल भ्रमण दशक कार्यक्रमको कार्यविधि बनाउने चरणमा रहेको बताउनुभयो ।

“नेपाल भ्रमण दशक मनाउने गरी सरकारले सैद्धान्तिक स्वीकृति दिएको हो । सोही बमोजिम मन्त्रालयले कार्यविधि बनाउन छलफल गरिरहेको छ”, उहाँले भन्नुभयो । कार्यविधि बनाएपछि कार्यान्वयनको पाटो कस्तो हुने र कुन विधि अपनाउनेभन्नेबारे छिट्टै टुङ्गो लगाइने उहाँको भनाइ छ ।

आम्दानीमा पनि सुधार

विदेशी मुद्राआर्जन गर्ने माध्यमका रुपमा पर्यटन क्षेत्रलाई पनि लिइन्छ । यद्यपि पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्य हुँदा पनि नेपालले अपेक्षाकृत डलर आम्दानी भने गर्न सकेको छैन । पर्यटकीय पूर्वाधारमा कमी, ‘कनेक्टिभिटी’को अभाव तथा प्रचारप्रचारमा भएको कमीले लक्ष्यअनुसारको आम्दानी भने हुनसकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको चार (साउनदेखि कात्तिक) महिनामा नेपालले पर्यटन क्षेत्रबाट रु १७ अर्ब ९५ करोड ९० लाख ६० हजार आम्दानी गरेको छ । जुन गत आवको चार महिनाको तुलनामा १३६ दशमलव ९४ प्रतिशतले बढी हो ।

गत आवको चार महिनामा नेपालले पर्यटन क्षेत्रबाट रु सात अर्ब ५७ करोड ९० लाख ५० हजार आम्दानी गरेको थियो । राष्ट्र बैंकका अनुसार नेपालले कोरोना महामारीका कारण लकडाउन भएको आव २०७७/७८ को चार महिनामा एक अर्ब ८८ करोड ८० लाख ३० हजार मात्रै आम्दानी गरेको थियो । जबकी विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनुभन्दा अघि अर्थात् आव २०७६/७७ को चार महिनामा २७ अर्ब १४ करोड ३० लाख २० हजार आम्दानी भएको थियो । आव २०७६/७७ को चार महिनाको तुलनामा आव २०७९/८० को सोही अवधिमा पर्यटन क्षेत्रबाट भएको आम्दानी ६६ प्रतिशतले रिकभर भएको देखिन्छ ।

औसत बसाइँमा सुधार

नेपाल भित्रिने विदेशी पर्यटकको औसत बसाइँ १५ दिन रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ । पछिल्लो पाँच वर्षमा पर्यटकको बसाइँ औसत दिन क्रमशः बढिरहेको छ । मन्त्रालयले प्रकाशन गरेको ‘टुरिजम इस्टास्टिक्स-२०२१’ अनुसार सन् २०२१ मा विदेशी पर्यटकको औसत बसाइँ १५.५ दिन थियो भने सन् २०२० मा १५.१ सरदर बसाइँ थियो । त्यस्तै सन् २०१९ मा १२.७ दिन, सन् २०१८ मा १२.४ दिन र सन् २०१७ मा १२.६ सरदर बसाइँ थियो ।

बढ्दो कनेक्टिभिटी

कोरोना महामारी सुरु हुनुअघि नेपाल भित्रनका लागि एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल थियो । त्यसबाहेक केही पर्यटक भारतीय सिमाबाट स्थलगत मार्ग हुँदै नेपाल आउने गरेका थिए । तर यतिबेला भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ भने आगामी पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीमा छ ।

यसअघि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग वार्षिक ९२ लाख यात्रुलाई सेवा दिने रहेकोमा दुई नयाँ विमानस्थल सञ्चालनमा आएसँगै यात्रु क्षमता थप २० लाखले बढेको छ । भैरहवास्थित विमानस्थलको वार्षिक ३५ लाख यात्रुलाई सेवा दिने क्षमता छ भने पोखरास्थित विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

७५ प्रतिशत ‘रिकभर’को प्रक्षेपण

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले सन् २०२२ मा पर्यटक आगमन सन् २०१९ को तुलनामा ७५ प्रतिशतले रिकभर गर्ने लक्ष्य लिएको बताउनुभयो । यद्यपि उक्त लक्ष्य पूरा हुनेमा कठिन देखिन्छ । सन् २०२२ को ११ महिनामा पाँच लाख ४९ हजार पर्यटक आएका छन् जबकी सन् २०१९ मा ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए । बोर्डले लिएको लक्ष्य अनुसार ७५ प्रतिशतको ‘रिकभर’ हुनका लागि नेपालमा सन् २०२२ मा नौ लाख पर्यटक आउनुपर्छ । जबकी डिसेम्बर महिनामा मात्रै तीन लाख ५० हजार पर्यटक आउनुपर्छ । जुन औसत तथ्याङ्क हेर्दा कठिन देखिन्छ ।

पञ्चवर्षीयको लक्ष्य पूरा कठिन

हाल १५औँ पञ्चवर्षीय आवधिक योजना कार्यान्वयनमा छ । पञ्चवर्षीय योजना आव २०७६/७७ मा सुरु भई २०८०/८१ मा पूरा हुन्छ । पञ्चवर्षीय योजना अवधिमा सरकारले नेपालमा विदेशी पर्यटक आगमन वार्षिक ३५ लाख पुर्‍याउने र प्रतिपर्यटक औसत खर्च ४८ बाट बढाएर १०० डलर बनाउने योजना उल्लेख गरेको थियो ।

जुन कोरोना महामारीलगायतका कारणले पूरा कठीन देखिन्छ । साथै कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान दुई दशमलव सात प्रतिशतबाट बढाएर १० प्रतिशत बनाउने लक्ष्य पनि पूरा हुन कठीन देखिन्छ । यद्यपि पर्यटकको औसत बसाइँ १५ दिन बनाउने लक्ष्य भने पूरा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय