`सहकारी अभियन्ता राजनीतिबाट सञ्चालित हुनु हुँदैन´

२०८० पुष ५, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

नेपाल बचत तथा ऋण सहकारी सङ्घ लि. (नेफ्स्कुन)को उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नु भएकी गोमा नेपाल मोरङको नारी सङ्कल्प साकोसको अध्यक्ष हुनुहुन्छ । यस अघि लगातार दुई कार्यकाल सञ्चालक सदस्य निर्वाचित हुनु भएकी नेपाल यस पटक पदाधिकारीमा उठ्ने तयारीमा हुनुहुन्छ ।

खासगरी नेफ्स्कुनलाई साना ठूला सबैखाले सहकारीको अभिभावक बनाउने मुद्धालाई अघि सारिरहनु भएकी नेपालले सहकारी सञ्जालको ब्यवस्थापन अहिले चुनौतिका रुपमा रहेको बताउँदै आउनु् भएको छ ।

३२ औं वार्षिक साधारणसभा,अबको नयाँ नेतृत्व चयन र साकोसको आगामी बाटोको विषयमा नेपालसँग गरिएको कुराकानीको सारसंक्षेप ।

– ३२ औं साधारणसभा आउन केही दिन मात्र बाँकी छ ? अहिले के मा ब्यस्त हुनुहुन्छ ?

० हो, साधारणसभाको मिति नजिकिदै गएको छ । यो साधारणसभाले ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ,त्यसैले ब्यवस्थापकीय मात्र होइन । अबको नेतृत्वले चुनौतिका बिच अवसरको खोजि गर्नुपर्ने हुन्छ । आफू पनि उमेद्वार भएकोले प्रारम्भिक सहकारी संस्थाबाट प्रतिनिधि बनेर आउनु भएका साथीहरूसँग भेटघाट चलिरहेको छ ।

– नेफ्स्कुनको नेतृत्व पनि पछिल्लो समय आशन, भाषण र शासन केन्द्रीत हुँदै गएको आरोप छ नि ?

० नेफ्स्कुन बचत ऋण सहकारीको छाता सङ्घ हो । छाता सङ्घको नेतृतवमा पुगेपछि माथि भनिएका कुरा थोर बहुत जोडिन्छ नै । तर, त्यसैमा नेतृत्व केन्द्रीत भयो भनियो भने पाप लाग्छ । किनकी साकोस अभियान बिगतको तुलनामा धेरै समृद्ध र सफल भएको छ ।

नेफ्स्कुनका हरेक कार्यक्रम प्रारम्भिक सहकारीको श्रीवृद्धिका लागि केन्द्रीत छन् । तर, कसले कति ज्ञान प्राप्त गर्न सक्छ वा लिन सक्छ भन्ने कुरा उसको क्षमतामा निर्भर हुन्छ । प्रारम्भिक संस्थाको माग,आवश्यकता अनुसार नै नेफ्स्कुनका कार्यक्रम बन्ने गरेका छन् । त्यसैले आसन, भाषण र शासनका लागि नेतृत्व केन्द्रीत छ भन्नु फगत आरोप मात्रै हो ।

– नेफ्स्कुनले जति नै स्कुलिङ गरेपनि पछिल्ला ३÷४ वर्ष यता सहकारीको सामाजिक शाख त गुमेको छ नि ?

० हो, बिगतको तुलनामा सहकारीकोे साख गुमेको छ ।तर, कस्ता सहकारीका कारण आम सहकारीको साख गुम्यो । त्यो महत्वपूर्ण विषय हो । देशभरका नेफ्स्कुनसँग आवद्ध ५हजार साकोस मध्ये १ प्रतिशत साकोसमा समस्या देखिएको होला ।

तर, ति पनि फर्कनै नसक्ने गरी बिग्रिएका होइनन्। केही प्राविधिक समस्या भयो होला । नेफ्स्कुनको स्कुलिङमा रहेका राम्रा सहकारीको चर्चा नै भएन । जहाँ समस्या देखियो ति सहकारीहरूका कारण अरु सहकारी प्रति पनि मानिसको दृष्टिकोण बदलिएको छ । सहकारी प्रति बदलिएको दृष्टिकोणलाई पूर्व अवस्थामा ल्याउनु अबको हाम्रो मुख्य काम हो ।

सहकारीमा ५६ प्रतिशत महिला सहभागिता रहेको छ । तर, महिला नेतृत्वमा पुग्नै पाउँदैनन् । आज पनि दिएको पदमा बस्नुपर्ने बाध्यता छ । आजसम्म जहाँ जति सहकारी संस्था समस्याग्रस्त भए ,त्यसमा महिलाद्वारा सञ्चालित एउटा पनि सहकारी बिग्रिएको छैन् । मैले लैङ्गिक विषय उठान गर्न खोजेको होइन । तर, भएको यर्थाथलाई त मान्नु प¥योनि ।

– साकोस अभियानका मुख्य चुनौति के देख्नु भएको छ ?तपाईले उठान गर्ने विषय के हुन ?

० साकोस सञ्जाल व्यवस्थापन अहिलेको प्रमुख विषय हो । खासमा अन्तर्राष्टिय सहकारी महासंघ, विश्व ऋण परिषद् र एशियाली ऋण महासंघले पनि सञ्जाल व्यवस्थापनलाई उच्च महत्व दिएको छ । नेपालको सन्दर्भमा भन्ने हो भने सञ्जाल व्यवस्थापन चुनौतीको विषय बनेको छ । मुलुक संघीयतामा गएसँगै सहकारी र साकोस अभियानको तहगत संरचना के कस्तो हुने भनेर बहस चलेको छ ।

क्रिया र प्रतिक्रियाहरु आएका छन् । नेफ्स्कून र अझ मेरो तर्फबाट भन्नुपर्दा अभियान, सरकार र सरोकारवालाहरुसँगको वृहत् गोलमेच सम्मेलन मार्फत यो विषयमा साझा धारणा बनाउनुपर्छ । तहगत संरचना अन्तर्गत कुन संघले के काम गर्ने भन्ने प्रष्टता आवश्यक भएको छ । प्रारम्भिक संस्थाहरुबाट पनि निकै जोडदार आवाज उठेको छ ।

म निर्वाचित भएपछि यो विषयलाई प्रधानताका साथ उठाउँछु । हामीले बुझ्नुपर्ने कुरा के हो भने सञ्जाल हाम्रो शक्ति हो । एकका लागि सबै र सबैका लागि एक तथा बसुधैव कुटुम्बकम जस्ता सहकारीका मन्त्रहरुले पनि प्रत्यक्ष परोक्षरुपमा बलियो सञ्जालको परिकल्पना गर्दछ । सबैको डिफाइन्ड रोल र रेस्पन्सिबिलीटी हुँदा समस्या हुँदैन भन्ने लाग्छ । हामीलाई एशियाली ऋण महासंघले पनि आफ्नो रणनीतिक मार्गचित्रमा भएको सञ्जाल व्यवस्थापनमा विशेष जोड दिन बारम्बार आग्रह गर्दै आएको म स्मरण गराउन चाहन्छु ।

मेरो अर्को प्राथमिकता भनेको महिला शसक्तिकरणका दिशामा हुनेछ । सहकारी र साकोस अभियानको नीतिगत तहमा नजितामुखी महिला सहभागिता बढाउने चुनौती छ । व्यवस्थापनको पनि उच्च तहमा महिलाको उपस्थिति आवश्यक छ । भर्खरै मैले पढेकी थिएँ, अमेरिकाको क्रेडिट युनियन अभियानमा ५० प्रतिशत भन्दा बढी महिला सिईओ छन् । हामी कहाँ छौं? यसतर्फ पनि नीतिगत व्यवस्था र उत्प्रेरणात्मक अभियान सञ्चालन गर्नुपर्नेछ ।मैले अघि पनि भनेको छु ।

करोडौं पुँजी भएका सहकारी महिला नेतृत्वबाट सञ्चालित छन् । ति आज पनि बिगतमा जस्तै समूदायलाई खुसी बनाएर सञ्चालन भएका छन् । लय गुमाएका छैनन् । तर, नेतृत्वमा पुग्ने बेलामा भाग खानु पर्ने अवस्था छ । अहिलेको अर्को मुख्य विषय भनेको सुशासन नै हो । जबसम्म संस्थामा सुशासन र अनुशासन हुँदैन केही पनि कामको परिणाम प्राप्त हुँदैन र भएका परिणामहरु पनि ओझेलमा पर्दछन् ।

सञ्चार माध्यममा देखि रहनुभएको सुशासनबाट स्खलित भएका विषयहरुलाई जोडदार रुपमा उठाउने छु । नीतिगत र आवश्यक पर्दा संरचनागत सुधारकै लागि पनि हामीले बहस पैरवी गर्नुपर्ने हुन्छ । राम्रालाई प्रोत्साहन, कमी कमजोरीलाई सुधार र गलत गर्नेलाई कारवाही नै सुशासन कायम गर्ने उत्तम उपाय हो भन्ने लाग्छ ।

अर्को भनेको दिगो विकासलाई साकोस अभियानसँग जोड्ने कुरामा हामी सचेत छौं । सन् २०३० सम्मको हाम्रो लक्ष्य नै त्यही हो । हाम्रो योगदान मापनयोग्य बनाउने भन्ने हो । यसमा पनि म भूमिका खेल्नेछु । नेफ्स्कूनका तालिम शिक्षा र स्तरीकरणका कार्यक्रमलाई प्रभावकारी र समयसापेक्ष बनाउनेतर्फ बलियो आवाज उठाउनेछु ।

साकोस अभियानको खस्केको छविलाई सुधार गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित गर्नेछौं । महिलाद्वारा सञ्चालित र साना मझौला सहकारीको गुणस्तरीय वृद्धि बिकासमा जोड दिँदै आवश्यकतामा आधारित तालिम, गोष्ठी लगायत सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्नेतर्फ ध्यान दिनेछौं ।

– नेफ्स्कुनका कार्यक्रमहरू ठूला र धेरै पुँजी भएका संस्था केन्द्रीत भए भन्ने आरोप छ नि ?

० हामी ५० को दशकमा गाउँ गाउँमा सहकारी निर्माणको अभियानमा थियौं । समय बदलिएसँगै सहकारी संस्था पनि एकीकरण गरी बलियो सहकारी बनाउनु पर्छ र समृद्ध संस्था बन्छ भन्ने अवधारणा आयो । नेफ्स्कुन यही बाटोमा छ । तर, हामीले बारम्बार भनिरहेका छौं, कमजोर सदस्य, बलियो सङ्घ हुन सक्दैन । त्यसैले अबको नेफ्स्कूनको ध्यान सदस्य सबल, सक्षम, सुशासित र वित्तीय रुपमा स्वस्थ्य बनाउनेतर्फ केन्द्रीत हुनेछ ।

कमजोरलाई सीप क्षमता र तालिम दिएर बलियो र सक्षम संस्था बनाउनु पर्छ । त्यसका लागि सहकारी संस्थाको पँुजी,सदस्य सङ्ख्या र कारोवारका आधारमा वर्गिकरण गर्नुपर्छ । संस्था वर्गिकरणका आधारमा सेवा प्रदान गर्न सकियो भने साना संस्थाले पनि अपनत्व ग्रहण गर्न सक्छन् ।

– तेस्रो पटक पदाधिकारी भएर नेतृत्वमा पुग्ने तयारीमा हुनुहुन्छ । तर,अलग्गै बचत तथा सहकारी ऐन,कर्जा सूचना केन्द्र ,ऋण असूली न्यायाधीकरण,बचत तथा कर्जा सुरक्षण कोष गठन र कार्यान्वयका विषयमा नेफ्स्कुनको भुमिका पनि प्रभावकारी देखिएन नि ?

० सञ्चालकको रुपमा यि विषय धेरै उठाएँ । कतिपय कार्यान्वयनको चरणमा छन् भने कतिपय कार्यान्वयन हुन सकेका छैनन् । एउटा सञ्चालक सदस्यले मात्र गर्न सक्ने विषय पनि होइनन् । अबको नेतृत्वले वाक द टक गर्नेछ । फेरि सदस्यको रुपमा भन्दा पदाधिकारीको रुपमा काम गर्न अलि सहज हुनेछ ।

–केही छुट्यो कि ?

० साकोस अभियान राजनीति मुक्त हुनुपर्छ भन्ने लाग्छ । बहुदलीय ब्यवस्था भएको मुलुकमा दल बिहीनता कल्पनागर्न सकिन्न । बैचारिक रुपमा हरेक मानिस कतै न कतै जोडिएको हुन्छ । यो सामान्य विषय हो । पछिल्लो समय सहकारीमा देखिएको राजनीतिले थप दुर्घटनाको सङ्केत गरिरहेको देख्छु । यो एउटा विशुद्ध अभियान हो । सहकारीले शेयर सदस्यको बचत सुरक्षामा चिन्ता लिनुपर्छ । तर, हामी कहाँ दलले टिकट दिन नसकेका ब्यक्तिलाई लगेर थन्क्याउने ठाउँ भएको छ , सहकारी अभियान । अभियन्ता राजनीतिबाट सञ्चालित हुनु हुँदैन ।

काम गर्न सक्ने योग्य र क्षमतावानहरू राजनीतिक आस्थाका कारण अवसरबाट बञ्चित छन् । त्यसकारण अभियान राजनीति मुक्त हुनपर्छ भन्ने लाग्छ । अर्को कुरा नयाँ सञ्चालक समिति निर्वाचित भएसँगै नेफ्स्कूनले अब आफ्नो छैठौं रणनीतिक व्यावसायिक योजना बनाउनेछ । पाँचौं एसबीपीको अवधि सकिएको छ । यो हाम्रा लागि सही समय पनि हो । तपाईहरुको आवाज संघको एसबीपीमा मुखरित हुने गरी हामी गृहकार्यमा लाग्नेछौं । अहिले पनि म प्रतिनिधि साथीहरूसँग नेफ्स्कूनको एसबीपीमा के कस्ता विषय अटाउनुपर्छ भन्ने विषयमा सुझाव लिइरहेकी छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय