कमल गाउँपालिका कोशी प्रदेशमै पहिलो बालमैत्री गाउँपालिका घोषित

२०८० माघ २०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापाको कमल गाउँपालिका कोशी प्रदेशमै पहिलो स्थानीय सुशासनयुक्त बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आज कमल गाउँपालिका वडा नं ५ स्थित निर्माणाधिन आदिवासी रंगाशाला परिसरमा गाउँपालिकाद्धारा आयोजित घोषणा समारोहमा सो पालिकालाई बालमैत्री घोषणा गर्दै कमल गाउँपालिकाले देशको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने काम गरेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार भविष्य निर्माणका आधारशीला बालबालिकाको स्वास्थ्य शिक्षासहित मौलिक हक अधिकारको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले प्रदेश सरकारले १० बर्ष मुनिका बालबालिकाको निशुल्क स्वास्थ्य उपचार गर्ने बन्दोबस्ती मिलाएको बताउँदै बालबालिकाहरु सुरक्षित नभए सम्म देशको भविष्य सुरक्षित नहुने कुरामा कसैको पनि फरक मत हुन नहुने बताए ।

मुख्यमन्त्री कार्कीले प्रतिपक्षीहरुलाई इंगित गर्दै भने , मैंले सबै बालबालिका बिरामी हुँदा उपचार सेवा निशुल्क पाउने व्यवस्था मिलाएर के गल्ती गरें ? उनले भौतिक पूर्वाधारको बिकास मात्रैलाई बिकास ठान्ने र सामाजिक बिकासमा ध्यान नदिने हो भने देश सधैं पछि पर्ने पनि उल्लेख गरे ।

ज्येष्ठ नागरिकका आश्रम, सामुदायिक भवन, कुल मन्दिर आदिको लागि बजेट माग गरिनु राम्रो नभएको बताउँदै त्यस्ता संरचनाहरु सम्बन्धित सरोकारवालाहरुको आफनै प्रयासबाट बनाइनु पर्ने आफनो धारणा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले पूर्वाधार बिकास भन्दा नागरिकहरुको सामाजिक र संवेगनात्मक बिकासमा जोड दिए ।

कार्यक्रममा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भटटराईले स्थानीय तह मध्ये कमल गाउँपालिका कोशी प्रदेशको चौथो बाल मैत्री स्थानीय तह र गाउँपालिकाहरु मध्ये पहिलो तथा देशभरको २३ औं बालमैत्री गाउँपालिका बनेको जानकारी गराए ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुगं, कमल गापाकी पूर्व अध्यक्ष मेनुका काफ्ले प्याव्सन झापाका जिल्ला अध्यक्ष गौरीमान फागोसहित विभिन्न राजनीतिक दल, संघ संस्था, बाल क्लब सञ्जाल लगायतका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्वागत मन्तव्य राखेकी थिइन भने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बालमैत्री घोषणाको तयारी सम्बन्धिको प्रतिवेदन पेश गर्दै कमल गाउँपालिकाको कूल जनसंख्याको २९ प्रतिशत बालबालिका रहेको उल्लेख गरे ।

उनले पालिकाका गाउँ टोल मार्फत घर घरमा बालमैत्री घोषणाका लागि आवश्यक सुचकहरु पुरा भए नभएको तथ्याकं लिइएको उल्लेख गरे । उनले २०७७ सालबाट पालिकामा शुरु भएको यो प्रयासले अहिले यो सफलता पाएको पनि जनाए ।

यसका लागि जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, बाल सहजकर्ता, अभियानकर्मीहरु लगायतको भुमिकाको प्रशंसा गरे ।

कमल बाल सञ्जालका बालबालिकाहरुले उदघोषण गरेको सो घोषणा कार्यक्रममा पालिकास्थित विभिन्न सामुदायिक र संस्थागत बिद्यालयहरुमा क्रियाशील बाल क्लबका बालबालिकाहरुले देशभक्ती,बाल सचेतनामुलक र मनोरञ्जनात्मक गीत, नृत्य आदि प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

बिद्यालयमा अवस्थित स्काउटरहरुले मुख्यमन्त्री कार्कीसहित विशिष्ट व्यक्तित्वहरुलाइ सलामी अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय