गौरादह नगरपालिकाले गरेको करवृद्धि पुनःमूल्यांकन गर्न कांग्रेसको माग

२०८० माघ १, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाको गौरादह नगरपालिकाले गरेको कर वृद्धि अव्यवहारिक भएको भन्दै कर पुनःमूल्यांकन गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस गौरादह नगरसमितिले आज गौरादहस्थित सिटीसेन्टरमा पत्रकार सम्मेलन गरि अवैज्ञानिक ढंगले नगरपालिकाले बृद्धि गरेको कर पुनःमूल्यांकन नभए थप आन्दोलनमा उत्रन बाँध्य हुने चेतावनी दिएको छ ।

कर वृद्धिमा आन्दोलनरत कांग्रेसद्धारा गठित स्थानीय तह समन्वय तथा खबरदारी समितिका संयोजक समेत रहेका पूर्व नगर प्रमुख रोहितकुमार साहले स्थानीय सरकार जनतामुखी बन्न नसकेको आरोप लगाउदै कर वृद्धि एउटा उदाहरण मात्र भएको टिप्पणी गरे । अवैज्ञानिक किसिमको यो करले जनताको ढाड सेक्ने काम भएको उनले भनाई राखे । नगरपालिकाले भूमिकर,वहालकर,सम्पत्तिकर तथा सिफारिस दस्तुर अचाक्ली कर वृद्धि गरेपछि कांग्रेसले दबाबमूलक आन्दोलन गरिआएको कांग्रेसद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

गौरादहसंग जोडिएका कमल, गौरीगञ्ज र दमक नगरपालिकाले लिदै आएको कर भन्दा दोव्वर बढी कर लादेर सत्तास्वार्थमा लिप्त भएको उनले दावी गरे । बाटोवारी गौरादह वाटो पारी कमलमा बस्ने जनताले एकै प्रकृतिको सुविधा लिदाँ लाग्ने दस्तुर व्यवहारिक नभएको उनले स्पष्ट पारे । यसअघि नगरपालिकाले कांग्रेसकै आन्दोलनका कारण कर वृद्धिमा थोरै शंसोधन गरेपनि त्यो व्यवहारिक नभएको उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा कांग्रेस प्रदेश (क) का सभापति जीवन राईले करवृद्धि अवैज्ञानिक भएकाले त्यसलाई न्यायोचित शंसोधन नभएसम्म कांग्रेस स्थानीय सरकार विरुद्ध आन्दोलित हुने उल्लेख गरे । कांगे्रसद्धारा जारी विज्ञप्तिमा अस्वभाविक कर वृद्धि शंसोधन गर्न दबाबमूलक धर्ना,ज्ञापनपत्र, विरोधसभा गरिआएपनि स्थानीय सरकार यसप्रति संवेदनशील नहुदाँ नगरवासी आर्थिक मन्दीका अवस्थामा थप मर्कामा परेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा पार्टी नगरसभापति गोपाल कोइराला, प्रदेश (क) सभापति जीवन राई र स्थानीय तह समन्वय तथा खबरदारी समितिका संयोजक रोहितकुमार साहको हस्तक्षार छ । प्रेस विज्ञप्ति कांग्रेस नगर उपसभापति मेघराज अधिकारीले प्रेस विज्ञप्ति वाचन गरेका थिए ।पत्रकारसम्मेलनमा कांग्रेस महाधिबेशन प्रतिनिधि हेमन्त कार्की, वीपी अध्ययन प्रतिष्ठानका अध्यक्ष कोमल ढुंगाना, कांग्रेस युवा नेता ताराकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय