गौरीगञ्जमा पुष २८ गते आदिवासी जनजाति फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम हुने

२०८० पुष २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापाको गौरीगंजमा प्रथम ऐतिहासिक आदिवासी जनजाति फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । आदिवासी जनजाति महासंघ गौरीगंजको आयोजनामा यहि पुस २८ गते शनिवार विहान ८ बजेदेखि शुरु हुने फुडफेस्टिवल तथा सांस्कृतिक कार्यक्रमको बारेमा आयोजकले आज पत्रकार सम्मेलनको अयोजना गरेर जानकारी गराएको हो ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज माविको प्राङ्गणमा हुने फेस्टिबलमा स्थानीय १२ वटा भन्दा बढी जातजातिको मौलिक लोक नृत्यसहितको खानाका परिकार रहनेछ । आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगाप्रसाद राजवंशीका अनुसार गौरीगंज गाउँपालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रममा खानाका परिकार, जातिय नृत्य सहित सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । आदिवासी जनजाति जेष्ठ नागरिक सम्मान संगै निर्वाचित गाउँपालिका अध्यक्षहरूको सम्मान गरिने कार्यक्रम स्थलमा आदिवासी जनजाति सेल्फी बोर्ड समेत राखिने छ ।

कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने जनाईएको छ । राजवंशी, ताजपुरिया र गन्गाई जातिको भाक्का, पिठ घुम्नीमुरी, गुन्जुर र सिद्ल (शिध्रा), नेवारको यमरी, सन्थालको खिचडी, राई जातिको तरूल, मकै र कोदो, फापरको रोटी, सेलरोटी, लिम्बुको फिलिङ्गेको अचार, मेसुको अचार, तामाङ्गको सखरखण्ड लगायतका मौलिक परिकार पाईने उक्त महोत्सवमा रहेका मौलिक खानपान आउने सबैलाई निशुल्क वितरण गरिने छ । कार्यक्रममा मौलिक नृत्य र आदिवासी जनजाति आधुनिक गीत र नृत्यहरूको प्रदर्शन गरिने जनाईएको छ ।

कार्यक्रमलाई व्यवस्थित बनाउन ३ सदस्यीय आर्थिक समिति समेत बनाइएको छ । आदिवासी जनजाति महासंघ गौरिगञ्जका उपाध्यक्ष आत्माराम राजवंशीको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । समितिको सचिवमा अशोक कुमार ताजपुरिया र कोषाध्यक्षमा सायरा श्रेष्ठ, राजेन्द्र राई रहनु भएको छ ।

गौरीगंजमा भएका आदिवासी जनजातिहरुको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाहरुको जगेर्ना र संरक्षण गर्ने, खानाको बजारीकरण गरी व्यवसायमा सहयोग गर्ने, आदिवासी जनजातिहरुको नेतृत्व विकाश र शसक्तिकरणमा सहयोग पुर्याउने अध्यक्ष राजवंशीले बताउनु भयो । सत्तरी प्रतिशत भन्दा बढी आदिवासी जनजाति बसोबास रहेको गौरीगंज गाउँपालिकामा राजवंशी, ताजपुरिया, गन्गाई, सन्थाल, नेवार, राई, लिम्बु, तामाङ्ग, मगर, भुजेललगायत आदिवासी जनजातिहरु छन् ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गंगा प्रसाद राजवंशी, उपाध्यक्ष आत्माराम राजवंशी, सचिव अशोक कुमार ताजपुरिया, सहसचिव राजेन्द्र राई, राजवंशी समाज विकास समितिका गौरीगंज अध्यक्ष गोपाल प्रसाद राजवंशीसमेतको उपस्थिति थियो । कार्यक्रममा सहभागी हुने सबैले आफ्नो जातिय पहिरनमा सहभागी भएर कार्यक्रमलाई भव्य र सभ्यरूपमा सफल बनाईदिन अनुरोध गर्दै आयोजकले निमन्त्रणासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार