‘यो एउटा किताब मात्र नभएर अभियान पनि हो’ : लेखक रामकुमार नेपाल

२०७८ बैशाख ७, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

लेखक रामकुमार नेपालको दोस्रो कृति ‘प्लिज डन्ट डिभोर्स’ यहि वैशाख १० गते विमोचन हुदैछ। झापाको दमक स्थायी ठेगाना भएका लेखक नेपाल यतिबेला पुस्तक विमोचनकै लागि भनेर काठमाडौंमा छन्। लेखक नेपाल विशेषत: उत्प्रेरणा जगाउने खालका विषयमा कलम चलाउन माहिर छन्। उनको लेखनको विशेषता भनेकै मानव सभ्यताको वृहतर हितका पक्षमा छ। उनै लेखक नेपालसंग सजलसन्देशले गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश पढ्नुहोस।

१) साहित्य सिर्जनामा कसरी प्रवेश गर्नुभयो ? के ले प्रेरित गर्यो ?

साहित्य भनेको प्रत्येक व्याक्तिमा निहित हुने गर्छ। कोहि उजागर गर्न सफल हुन्छन कोहि आफै भित्र दमन गरेर मरी रहन्छन। मेरो सन्दर्भमा, म सात वर्षको हुँदा गीता, रामायण, महाभारत पढिसकेको थिए। मलाई पढने रुचि त्यसैबाट उत्पन्न भयो यो मेरो सौभाग्य नै थियो। त्यसपछि पढन र लेख्न रुचि बढेर गयो।

जब मनुष्य सकारात्मक चिन्तन गर्छ , लेख्न थाल्छ या धेरै धेरै पढन थाल्छ अनि उसले कृति लेख्न थाल्छ। जस्तै कुनै भाडामा पानी भरिएपछि पोखिन थाल्छ त्यसरीनै धेरै चिन्तन र अध्ययन गरेपछि पानी भरिए झैँ पोखिन थाल्छ। पोख्नु भनेको नै साहित्य लेख्न हो भन्छु म। म भागवत् गीताबाटै प्रेरित भएको हु र समाजमा उत्पन्न भएको नयाँनयाँ समस्या नै मेरो प्रेरणा हुन्।

२) तपाइँ कुन लेखकबाट प्रभावित हुनुहुन्छ ? किन ?

म धेरै जसो प्रेरणादायक किताब पढ्ने गर्छु। त्यसमा पनि गीता र रामायण जतिको प्रेरणा त कुन होला र! मलाई फिलोसोपी धेरै मनपर्छ। म यथार्थ, सत्य र बायोग्राफी मन पराउछु। किनकि कल्पना गरिएको भन्दा सत्य र यथार्थ पढ्दा धेरै ज्ञान पाइन्छ। ज्ञान पाउनुपर्ने सत्यको नजिक हुनु हो। म कविता पनि धेरै पढ्ने र सुन्ने गर्छु। मैले पनि निकै कविता लेखेको छु। तर हिन्दीमा धेरै छन्। किनकि मेरो शिक्षा भारतबाट भयो। रबिन्द्र नाथ टेगौरका कविता सार्है मनपर्छ।

३) अहिले सम्म प्रकाशित भएका र नभएका गरि कतिवटा पुस्तक लेखिसक्नु भयो ?

मेरो पहिलो किताब ‘गन्दी राजनीति’ ले आत्माहत्या गरियो। १९८९ मा मैले दिल्लीमा हुदा लेखेको थिए। मैले आफैले आगो लगाए। म २३ वर्षको थिए। त्यसपछि मेरो प्रकाशित भएको ‘मेरो खोज तपाइँको सफलता’ लाई नै पहिलो भन्नु पर्छ। अनि अब ‘Please Don’t Divorce’ विमोचनको तयारीमा छ। अनि लगतै प्रकाशन हुन तयारीमा रहेको ‘Campus Life’ नेपालीमा छ।

यो पुस्तकको केहि भाग दमक ना.पा. को ‘दमक ज्योति‘ भन्नेमा प्रकाशित भइसकेको छ। र “Quest of Positive Thought” हिन्दीमा छ।

छोरीको व्यथा (नेपाली उपन्यास), महिलाको अधिकार (नेपाली फिलोसोपी), कस्ती नारी उनि (नेपाली उपन्यास), सकारात्मक सन्देश (नेपाली बाल कथा), लक्ष्मण रेखा (हिन्दी फिलोसोपी), तनावमुक्त जीवन (हिन्दी फिलोसोपी), बुढापा एक कड्वी सच (हिन्दी फिलोसोपी), प्रश्न और जीवन (हिन्दी फिलोसोपी), राजनीतिकि सिद्धान (हिन्दी फिलोसोपी) लगयातका पुस्तक तयारी अवस्थामा छन्।

४) ‘प्लिज डन्ट डिभोर्स’ पुस्तकले उठाएका विषयहरु के के हुन् ?

मेरो यो किताबले विशेष गरि दाम्पत्य जीवनलाई लक्षित गर्छ र पारिवारिक सम्बन्धलाई कसरी, के के गर्दा, कस्तो सोच्दा, सम्बन्ध बनिरहन्छ भन्ने विषयलाइ नै लक्षित गरेको छ। यो Divorce भन्ने एउटा बिमार मात्र हो, यो मानसिक बिमारी हो, यसको ईलाज हुन्छ। त्यसैको दबाई हो यो किताब।

हामी सानो भन्दा सानो वस्तुको मर्मत गर्छौ। जस्तै घडी, रेडियो, कार, गाडी, घर, हतियार, शरीर तर हामी कहिले आफ्नो सोचको, आफ्नो मस्तिष्कको, आफ्नो सम्बन्धको मर्मत गर्दैनौ र नाना-भाती काम गर्छौ, यो किताबले मर्मतको काम गर्छ। Divorce भन्ने बिमारले परिवार,समाज र देशलाई नै ठुलो चुनौती दिईरहेको छ।

जसलाई मैले २८ वर्ष लगाएर रिसर्च गरेर तयार पारेको छु ता’कि कसैको परिवार विखण्डन न होस् भन्ने मेरो कामना हो। यो एउटा किताब मात्र नभएर यो एउटा अभियान नै हो। प्रत्येक घर घरमा पुगोस। यो बिमारी हाम्रो संस्करमा छैन र रहन पनि दिनुहुन्न भन्ने मलाई लाग्छ। किनकि डिभोर्सले महिलालाई मात्र पीडा दिएको देखिन्छ।

५) यो पुस्तक पढिसकेपछि आम पाठकले आफुमा के परिवर्तन महसुस गर्न सक्छन ?

यो पुस्तक राम्रो मन लगाएर पढ्यो भने अदालत सम्म पुगेको डिभोर्सको केश छ भनेपनि मिलेर बस्ने बनाउछ र आफुलाई सकारात्मक सोच्न बाध्य बनाउछ। किनकि मनुष्य जब कुनै नराम्रो कार्य गर्छ भने त्यसको मुख्य कारण नै नकारात्मक सोचद्वारा उत्पन्न हुन्छ। डिभोर्स पनि नकारात्मक सोचकै परिणाम हो।

६) अहिले डिजिटल युगमा मुलुक गएको बेला पाठकले पुस्तक पढ्ने फुर्सद कतिको राख्छन ?

मलाई यो डिजिटल भन्ने बित्तिकै हासो लाग्छ। के हाम्रो नेपाल र नेपाली मात्र डिजिटल युगमा प्रवेश गरेको हो? अमेरिका, बेलायत नेपाल भन्दा २५० वर्ष अगाडी भएर चलिरहेको छ। र पनि त्यहाँ प्रत्येक महिना एउटा या दुइटा किताब बिमोचन हुन्छन र बेस्ट सेलर बन्छन, लाखौ लाख किताब बिक्रि हुन्छन।

भारतमा पनि त्यस्तै छ तर हामी नेपाली आफ्नो अधुरो ज्ञान लुकाउन डिजिटल भन्छौ। पढ्न चाहादैनौ त्यसैले “अल्प ज्ञानम: भयानकम:” भनिन्छ। यो जगत रहुन्जेल किताब लेखिन्छ र पपढिन्छ, यहि सत्य हो। कस्ले के भन्छन त्यसको त्यति महत्व हुदैन। पढ्न मन नगर्ने व्यक्तिलाई अवस्य नै असर गर्छ।

७) तपाइँलाई यो पुस्तक लेख्न आवस्यक किन पर्यो भन्ने लाग्छ?

यो विषयमा धेरै लामो अनुभव छ। त्यो सबै बयान गर्न निकै गाह्रो काम हो। यो डिभोर्स भन्ने बिमारी मेरो घरमा त लागेको छैन। तर पनि म बचपन देखि नै भारतको दिल्लीमा बस्थे त्यस बखत मैले धेरै भयानक-भयानक डिभोर्सका केशहरु देखे। कसरी महिलालाई बाध्य बनाएर डिभोर्स गराइदो रहेछ। महिलाहरु कसरी रुदा रहेछन।

म एक पटक भारतको मध्य प्रदेश भुपाल गएको थिए। त्यहाँ मैले एउटा डिभोर्स केश देखे। त्यसले मलाई रुन बाध्य बनायो। झुठो आरोपमा सात महिना कि गर्भवती महिलालाई रक्ताम्बे हुनेगरी कुटेर घरबाट निकाले। पुलिस पनि राजनीतिको प्रभावमा परेर रमिते बनेको थियो। पंचायतले फैसाला गरेर साँझपख घरबाट निकालियो। माइतीले पनि मद्दत गर्न पाएनन।

आखिरमा उनले तीनदिन पछि आत्माहत्या गरिछन। नदीमा लास भेटियो। यस्तै अनेकौ डिभोर्सका केशहरु देखेर मैले यो किताब लेख्ने योजना बनाए।

८) विदेशमा हुनेहरुका लागि इन्टरनेटमै पढ्ने सुविधा हुन्छ कि हुदैन ?

यो अलिकति प्राबिधिक विषय हो। यसको बारेमा हामी विचार गरिरहेका छौ। अवस्यनै त्यसको माग भएमा उपलब्ध गराउनु नै पर्ने हुन्छ।

९) लेखन साहित्यमा भिजेकाहरु अलिकति व्यवासायिक भन्दा पनि आत्मरतिमा रमाउने , मनमनै रमाउने खालका अहिले भइरहेको छन्। साहित्यलाई व्यवासायिक रुपमा लानुपर्छ भन्ने कुरामा कति को सजक हुनुहुन्छ ?

यो विषयमा मैले बुझे अनुसार नेपालमा मात्र यस्तो देखिन्छ। आत्मरतिमा रमाउने उच्चतम अवस्था हो तर आत्मा मात्र रमायो भने यो हाड, मासु, मल, मुत्रले शरीर को के होला? यदि तपाइँको लेख उत्कृष्ट छ भने व्यवासायिक नै गर्नु पर्ने हुन्छ। किनकि यदि तपाइँको लेख प्रत्येक व्यक्तिमा पुग्दैन भने लेखक को के औचित्य र? धेरै भन्दा धेरै व्यक्तिको हातमा पुर्याउनलाई व्यवासायिकनै हुनुपर्ने हुन्छ।

हामी विदेशीका किताब किनेर आफुलाई गौरव ठान्छौ तर यदि नेपालीले नै उत्कृष्ट किताब लेख्यो र धेरै बिक्रि भयो भने यो त् बजार हो भन्ने चलन छ। हामी पनि राम्रो विषय लिएर किताब लेखौ विदेशीले किनिदिउन। देशलाई सम्वृद्ध हुन् कसैले रोक्दैन। हामी केवल मेची, महाकालीको सिमाना बाधेर राजनीतिका चाहिदा नचाहिदा गफौड़े किताब लेख्न रुचाउछौ। कसरी हामी विकसित हुन्छौ। लेखन मानव उत्थानका किताबहरु अन्य नागरिकले पनि पढोस।

१०) अन्त्यमा ?

म मेरो किताबहरु अन्तराष्ट्रिय सम्म पुर्याउन चाहन्छु र मेरा किताब अन्तराष्ट्रिय क्षमता भएका छन्। मैले कमाउन खोजेको होइन। म र मेरो देशको पहिचान बनोस कति हामी मात्र विदेशी किताब पढ्ने अब विदेशीले पनि हाम्रो किताब पढ्नुपर्छ भन्ने मेरो कामना हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय