तीन गजल

दर्के पानीमा चुहिँदा घरको छानो बा’लाई सम्झिएँ

गुजरा चलाउन नहुँदा एक मानो बा’लाई सम्झिएँ ।

२०७७ आश्विन १०, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गजल -१
– रुपा बुढाथोकी, झापा, गौरादह

दर्के पानीमा चुहिँदा घरको छानो बा’लाई सम्झिएँ
गुजरा चलाउन नहुँदा एक मानो बा’लाई सम्झिएँ ।

कोरोनाको त्रास कायमै छ, थपियो बाढी, पहिरो पनि
पर्दा विपतमा आफ्नो बिरानो बा’लाई सम्झिएँ ।

पीडा जति थपिएनी जिन्दगीमा सहनु पर्दो रहेछ
चोट बोकेको मौन अचानो देखे बा’लाई सम्झिएँ ।

मेट्न सजिलो तर लेख्न धेरै गाह्रो रहेछ जिन्दगी
पुनः बल्झिदा अतीत पुरानो बा’लाई सम्झिएँ ।

छोरी,जीन्दगी भन्नु संघर्षको पाटो हो भन्नु हुन्थ्यो
दुःख पर्दा ठुलो, सानो बा’लाई सम्झिएँ ।

०००

गजल–२
–लोचन पाण्डे, लम्की, हालः मुम्बइ, भारत

गजलकार पनि, ठोस कदम चाल्न सक्छन्
चानचुने नसोच, देशमा आगो बाल्न सक्छन्

कलम हतियार हो, निब तिखो बनाउनु छ
गरे शब्दको प्रहार पक्कै सत्ता ढाल्न सक्छन्

नून खाएको कुखुरा झैँ किन झोक्रिन्छौ नेता
गजलकार’नि सासन सत्ता समाल्न सक्छन्

बिन्ती पालैपालो नचुस हाम्रो देशको गरिमा
नेपाल आमा पलपल आँसु खसाल्न सक्छन्

स्वार्थी छँदै छैनन् नेपाली साहित्यकारहरू
महान विचारको संगठन पो अंगाल्न सक्छन्

०००

गजल-३
–शारदा पौडेल, चितवन, हालः स्पेन

आफ्नो कर्तव्यको दायरामा जो हुँदैन
त्यस्तो मानिस कदापि भरपर्दो हुँदैन

स्वार्थले मात्र भरिएको सन्तान छ भने
आमाबाका लागि पनि ऊ आफ्नो हुँदैन

कोही पनि भिन्न छैनौँ हामी समान छौँ
भन्नुहोस् न कसको रगत रातो हुँदैन

लुटाहा र फटाहाले सम्पत्ति जोडे पनि
आखिरमा सँगै लैजाने कुनै बाटो हुँदैन

सम्पत्ति, ऐस आराम सबथोक भए पनि
उसैका लागि किनेर राखेको कात्रो हुँदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय