प्रचण्डयुगको मलामी पुष्पकमल

२०८० कार्तिक १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

डण्डिराज घिमिरे(विवेक)

नेपालमा अबहुने समाजवादी क्रान्तिको प्रचण्ड को बन्ला ?

‘प्रचण्ड’ नामको परिधि मात्र थिएन क्रान्तिकारी युग थियो । नेपालका उत्पिडित वर्ग, समुदाय, जाती, श्रमजीवि, मजदुर किसान लागायतको उच्च्व चेतना तथा आदर्श थियो प्रचण्ड । तर हिंजोआज प्रचण्ड शब्दको ओज र गरिमा फगत पुष्पकमल नाममा सिमित छ ।

पुष्पकमल दाहालको समानार्थी शब्द प्रचण्ड हुँदैहोइन । प्रचण्ड भनेको त दश बर्षे महान जनयुद्धले स्थापित गरेको बिम्ब थियो । क्रान्ति, संघर्ष, परिवर्तन र गतिशिलताको पर्याय थियो प्रचण्ड । कुनै ब्याक्तिको साँघुरो, नियन्त्रित र अवसरवादी चरित्रभित्र प्रचण्ड बिम्बलाई सिमित गर्नु भनेको प्रचण्डयुगको मलामी जानु हो ।

के हो प्रचण्ड बिम्ब ?
प्रगतिशिल परिवर्तनको सजिव समयरुपी बिम्ब थियो प्रचण्ड । बिम्बको प्रयोगले भाव सम्प्रषण गर्नमा मद्धत मिल्छ अनि बिम्बले भावलाई सशक्त र प्रभावकारी बनाउने गर्दछ । दिर्घकालिन जनयुद्धको मर्म र भावनाको सिंगो प्रतिनिधित्वको भाव सम्प्रेषण थियो प्रचण्ड । असम्भवलाई सम्भव बनाउने अस्त्र थियो प्रचण्ड । असम्भव देख्नेहरुलाई गण्तन्त्र, संघीयता, समावेशीता, धर्मनिरपेक्षता , संविधानसाभा बाट संविधान लगाएत वर्तमानका उपलब्धीको सिंहासनमा बिराजमान गराउने तागत पनि हो प्रचण्ड ।

पुष्पकमलको आत्मसमर्पण
वर्तमान नेपाल प्रचण्डयुगले स्थापित गरेका ऐतिहासिक राष्ट्रिय आयाम तथा उपलब्धिमा सगौरव उभिएको छ । तर विडम्बना प्रचण्डयुगका आयामहरु आज पुष्पकमल दाहालको आत्मसमर्पणका कारण धरापमा छन् ।

प्रतिक्रान्तिकारी, सामन्तवादी र विस्तारवादीको सामु घुँडा टेकेर पाएको कुर्सीले वास्तविक सत्ताको अधिकार दिँदैन । नेपाली जनताले आसा र भरोसाको केन्द्र स्विकारको प्रचण्डले आफ्नो ओज र गरिमा किन गुमाउनु पर्यो ? प्रचण्डको मलामी जान पुष्पकमल दाहाल किन बाध्य छन् ?

पुष्पकमल दाहालले देशभित्र पालैपालो अप्राकृतिक गठबन्धन गर्ने र देश बाहिर साम्राज्यवादी/विस्तारवादीसंग आत्मसमर्पण गरेर भए पनि सत्तामै चढ्न खोज्नु प्रचण्डको मलामी जानु होइन र ? देशी विदेशी दलालका सामु घुँडा टेकेर सत्ता खोज्ने प्रचण्डबाट हुनैसक्दैन । यो त प्रचण्डको मलामी गएका पुष्पकमलहरुले मात्र गर्नसक्छन् ।
सशस्त्र युद्धको बेलामा लक्ष्य प्राप्तिका लागि कहिलेकाहीँ प्रतिक्रान्तिकारीलाई र कुनै वर्ग शत्रुलाई पनि साथमा लिएर अर्को दुश्मन माथि हमला गर्नुपर्छ भन्ने सिके–सिकाएका प्रचण्डले खुला राजनीतिमा त्यही रणनीति हुबहु सफल हुँदैन भन्ने कुरा बुझ्नुपर्ने हो तर पुष्पकमलले बुझेनन् ।

वर्गशत्रु नचिन्ने माओवादी
प्रचण्ड चेतनाको अवसान पछिको पुष्पकमल नेतृत्व आज वर्गशत्रुहरुको सामना गर्न डराइरहेको छ । बाह्र बर्ष भन्दा बढी सशस्त्र युद्ध गर्दा कहिल्यै नडराएको माओवादी पार्टी नेतृत्व अहिले चरा मुसाहरुसँग डराएको छ । यो सत्ताको र शक्तिको लोभले प्रचण्ड बिहिन पुष्पकमलमा पलाएको त्रास हो । प्रचण्ड गुमाएको पुष्पकमल नेतृत्वको माओवादी पार्टी आफूभित्रको सैद्धान्तिक संक्रमणकालीन अवस्थाले नीति बिहिनतामा गन्हाउँदै जान थालेका छ ।

म नेपाली जनताको मुक्ति र क्रान्तिको सपना बोकेको नेकपा माओवादी केन्द्रको समर्थक हुँ र पार्टीले नेपाली क्रान्तिमाथि गद्दारी नगरुन्जेल रहनेछु । तर म र हामीले जान्न चाहेको कुरा यत्ति हो, माओवादी केन्द्र पार्टी अहिले कुन कित्तामा छ ?

जनविद्रोहका लागि यति धेरै आधार बनाएर पनि नेतृत्व किन जनताको बीचमा जान नसक्ने भयो ? क्रान्तिका लागि डराउनेहरु पार्टीको नेतृत्वमा किन बसिरहेका छन् ? के घाटबाट प्रचण्ड चेतनालाई जिवित फर्काउन सकिएला ?

नेपालमा अबहुने समाजवादी क्रान्तिको प्रचण्ड को बन्ला ?
माक्र्सवाद–लेनिनवाद – माओवादको सिर्जनशिल प्रयोगबाट समाजवादको यात्रामा प्रचण्ड बिम्ब सगरमाथा झैँ उभिन सक्नुपर्छ । तब मात्र बर्गविहिन समाजको परिकल्पनाले क्रमशः सार्थकता पाउने छ । प्रचण्ड ताज पुष्पकमलमा स्खलित भएर होइन युगको आवस्यकता, युगको सामाधान र परिणाम बनेर समाजवादमा फक्रिनु पर्दछ ।

प्रचण्ड बिम्ब चमत्कार, फ्युजन, छलाङ लगाएतका मौलिक श्रृङखलाबाट उतारचडबका कयौं घुम्ती र मोडहरु छिचोलेर नेपाली समाजको स्पन्दन स्पन्दनमा समाजवादको बिरुवा हुर्काउदैथ्यो । तर यो बिरुवामा इतिहासको सिंचाईले मात्र पुग्दैन वर्तमानको अझ धेरै रगत र पसिनाले सिंचित गर्नु पर्दथ्यो । यसो हुन नसक्दा आम श्रमजिवी नेपालीको समाजवादको स्वर्णीम सपना अधुरो नै रहन सक्छ ।

नेपाली समाजले अबहुने समाजवादी क्रान्तिको आवस्यकतामा लखन थापा, गंगालाल अनि दिलबहादुर रम्तेलहरु फेरी जन्माउनु पर्ने छ । तर प्रचण्ड ओज गुमाएको पुष्पकमल दाहाल नेतृत्वले मात्र क्रान्तिको त्यो जहाजको सफल अवतरण गराउने सम्भावना कमजोर हुँदै गएको छ ।

बदलिदो नेपालको समाजवाद उन्मुख वर्तमान कम्युनिष्ट राजनीतिमा प्रचण्ड बिम्बमा को स्थापित हला ? सबैको चासो र चिन्ताको बिषय रहेको छ यतिबेला । तसर्थ अध्यक्ष पुष्पकमल भन्नु भन्दा पनि अध्यक्ष प्रचण्ड भन्नु इतिहास प्रतिको सम्मान तथा सार्थकता हुन्छ ।

वर्तमान क्षणिक समयसम्म त इतिहासको ब्याजले जिवित रहन सक्छ तर इतिहासको ब्याजले मात्र सिंचित वर्तमान क्रमशः कुपोषित हुन्छ । समयसापेक्ष गतिशिल प्रचण्ड बन्ने अवसर धेरैलई समाजवाद तर्फको यात्राले पक्कै दिनेनै छ । नेपालको अबको समाजवादी क्रान्तिको युगमा पुष्पकमल दहालको होइन प्रचण्डहरुको आवस्यकता छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय