चन्द्रागिरि नगरपालिकामा वनको जग्गा हाउजिङ र व्यक्तिका नाममा

२०७६ आश्विन १२, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मा रहेको सार्वजनिक वनको जग्गा कीर्ते गरी हाउजिङ र व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । कानून व्यवसायी र मालपोत कार्यालयका अधिकृतकै मिलेमतोमा जग्गा कीर्ते गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।

९२ रोपनी सरकारी जग्गा कीर्ते सम्बन्धमा सिआइबीले गरेको अनुसन्धानमा सो रहस्य खुलेको हो । सिआइबीले अनुसन्धान प्रतिवेदन हिजो जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रादेशानुसार अनुसन्धान गरेको सिआइबीले सो जग्गा सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरी व्यक्तिलाईसमेत बिक्री गरेको पाइएको जनाएको छ ।

उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दासमेत चलाएको छ । मालपोत कार्यालय कलङ्कीका तत्कालीन अधिकृत शिवप्रसाद रिमाल, कानून व्यवसायी रामबहादुर शाहसमेत छ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट कीर्ते लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दामा म्याद थप गरी सिआइबीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा कित्ता नं १०१ को ९२ रोपनी जग्गा अभियुक्त रामबहादुर शाहको योजनामा मिनाकुमारी थापाको नाममा नक्कली जग्गा धनी प्रमाण पूर्जा बनाई रामकुमार सुयल थापा सञ्चालक भएको सुयल हाउजिङ कम्पनीको नाममा बिक्रीको करार गरी कागजात तयार पारेको अनुसन्धानमा खुलेको छ । सो जग्गाको हाल पाँच करोड ८९ लाख ६० हजार रुपैया बिगो कायम भएको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार