sajalsandesh

राप्रपा अध्यक्ष थापाद्वारा देवघाटमा स्नान र पूजा

दमौली – माघेसङ्क्रान्ति पर्वका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा स्नान गर्नुभएको छ । अध्यक्ष थापाले पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम पुगेर स्नान तथा पूजाआजा गर्नुभएको हो ।

सो अवसरमा थापाले तनहुँको देवघाट गाउँपालिकास्थित गलेश्वर आश्रम, हरिहर आश्रम, महेश आश्रम र गुरुकूलको अवलोकनसमेत गर्नुभयो । उहाँले स्वामी ज्ञानानन्द, रमणनान्द, कालीबाबासँग पनि साक्षात्कार गर्नुभयो । देवघाट पुगेर स्नान गर्न पाउँदा ईश्वरीय आनन्दको अनुभूति भएको थापाले बताउनुभयो ।

माघेसङ्क्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान गर्न भक्तजनको भीड रहेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढाटाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै देवघाट आइपुगेका थिए ।

धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघेसङ्क्रान्तिमा स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो ।

देवघाट आउने भक्तजनको सुरक्षाका लागि व्यवस्था मिलाइएको तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको देवघाटमा कुनै भवितव्य घटना भएको छैन । रासस

ismt college
dish home