मकर संक्रान्ति : सखरखण्डमा भारतकै भर

२०७६ माघ १, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ – मकर संक्रान्तिमा विशेषगरी तरुल, सखरखण्ड, तिलको लड्डु खाने प्रचलन छ । तर नेपालमा उत्पादन हुने तरुल र सखरखण्डले यहाँको माग धान्दैन, भारतबाट पनि ल्याउनुपर्छ । मकर संक्रान्तिकै लागि पुसमा मात्र १ हजार २ सय ९५ टन तरुल ल्याइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक छ । जसमध्ये भारतबाट ४२ टन आएको छ ।

सखरखण्ड २४२ टन भित्रिएको छ । यी वस्तु एक साताको अवधिमा भित्रिएको समितिले जानकारी दिएको छ । ‘मकर संक्रान्तिमा तरुल नै धेरै बिक्री हुन्छ । यसमा हामी आत्मनिर्भर उन्मुख छौं,’ समितिका उपसचिव विनय श्रेष्ठले भने, ‘सखरखण्ड भने धेरैजसो भारतबाटै आयात हुन्छ ।’ तरुल मकर संक्रान्तिलाई लक्ष्य गरी ल्याइन्छ ।

सखरखण्ड भने त्यसपछि पनि बिक्री हुने उनले बताए । गत वर्ष पुसमा ९८२ टन तरुल भित्रिएको समितिले जानकारी दिएको छ । त्यसमा भारतबाट मात्रै ७१ टन आयात भएको थियो । सखरखण्ड १६३ टन आयात भएको थियो । मुलुकका विभिन्न जिल्ला र भारतबाट ल्याइएको तरुल र सखरखण्ड विशेषगरी कालीमाटी तरकारी बजारमा भित्रिन्छ ।

बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । बाँकी ३० प्रतिशत बल्खु तरकारी बजारले पूर्ति गर्दै आएको छ । दुई दिनमा ५० टन तरुल आयात भएको बल्खु तरकारी बजारका म्यानेजर श्याम लामिछानेले जानकारी दिए । उक्त तरुल धादिङ, पाल्पा, चितवन, मकवानपुर, सर्लाहीलगायत ठाउँबाट भित्रिएको उनले बताए । तरुलबाहेक सखरखण्ड पनि आयात भएको छ । ‘गत वर्षको तुलनामा तरुलको माग बढेको छ,’ लामिछानेले भने ।

नेपालमा सखरखण्डको उत्पादन पर्याप्त मात्रामा नहुँदा आयातकै भर पर्नुपरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले बताए । भैरहवा र काँकडभिट्टा नाकाबाट यस्ता वस्तु ल्याउने गरिएको उनको भनाइ छ । ‘आयातित सखरखण्डले माग धान्नुपरेको छ,’ उनले भने । ०७४ पुसमा कालीमाटीमा ६८८ टन तरुल भित्रिएकामा भारतको हिस्सा ४९ टन थियो ।

०७३ पुसमा भने ७४३ टनमध्ये भारतबाट मात्रै ११७ टन तरुल आयात भएको समितिको तथ्यांक छ । पछिल्ला वर्ष उत्पादनमा भने सुधार हुँदै आएको व्यवसायीको दाबी छ । सर्लाही, चितवन, धादिङ, मकवानपुरलगायत जिल्ला उत्पादन हुने तरुल उपत्यका आउने गरेको छ । ‘गत वर्षको तुलनामा तरुलको माग बढ्दो छ ।

मूल्य पनि सोहीअनुसार बढेको छ,’ व्यवसायी यानबहादुर तिमिल्सिनाले भने, ‘गत वर्ष प्रतिकिलो ४०र५० रुपैयाँमा पाइने तरुल अहिले ७० रुपैयाँ पुगेको छ ।’

यो एक सातामा सर्लाहीबाट सबैभन्दा बढी ५५५ टन तरुल भित्रिएको समितिले बताएको छ । ‘उत्पादनमा केही सुधार भए पनि विहारको तरुल सर्लाही भएर पनि उपत्यका भित्र्याउने गरिएको एक व्यवसायीले बताए ।

मकर संक्रान्तिका लागि धादिङबाट १५६, नवलपरासीबाट १०२ र सुनसरीबाट १२१ टन तरुल भित्रिएको छ । यी जिल्लाबाहेक चितवनबाट ८२, झापाबाट ४५ र मकवानपुरबाट २६ टन तरुल भित्रिएको समितिले जानकारी दिएको छ ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार