sajalsandesh

सिटौलाको ध्यान आफ्नै समूहमा

काठमाडौँ – कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र आफ्नो समूह छुट्टै रहेको सन्देश दिएका छन् । पार्टी संरचनाको भागबन्डामा बारम्बार सिटौला समूह कता भन्ने प्रश्न उठेपछि उनले सार्वजनिक कार्यक्रममार्फत नै संस्थापन र रामचन्द्र पौडेल समूह कुनैमा पनि नरहेको बताएका हुन् ।

तेस्रो समूहमा रहेका सबै नेतालाई एउटै मञ्चमा राखेर जीपी कोइराला, लोकतन्त्र संवर्द्धन केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा सिटौलाले १३ औं महाधिवेशनदेखि आफूसँग जोडिएका सबै नेता तथा कार्यकर्ता एकै ठाउँ रहेको पनि दाबी गरे । ‘देउवातिर पनि होइन, पौडेलतिर पनि होइन । १३ औं महाधिवेशनपछि हामी जहाँ छौं, त्यहीँ छौं ।

बरु विस्तारित हुँदै गएका छौं,’ कार्यक्रमपछि कान्तिपुरसँग सिटौलाले भने । उनले पार्टीभित्रको बृहत् एकता र १४ औं महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक बनाउने दिशामा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

कार्यक्रम केन्द्रीय सदस्य तथा गत महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीमा उठेका गगन थापाको भने उपस्थिति थिएन । थापाको अनुपस्थितिलाई सिटौला पक्षीय अन्य नेता तथा कार्यकर्ताले अर्थपूर्ण रूपमा लिएका छन् । पारिवारिक भ्रमणमा रहेकाले मंगलबारको कार्यक्रममा थापा उपस्थित हुन नसकेको सिटौलाको भनाइ छ ।

कार्यक्रममा गत महाधिवेशनमा सिटौला प्यानलबाट कोषाध्यक्षका उम्मेदवार उमाकान्त चौधरी पनि अनुपस्थित थिए । उनी माघी पर्वको कारण देखाएर नआएका हुन् । तेस्रो धारसँग जोडिएका नेताहरू प्रदीप पौडेल, शिव हुमगाईं, भीमसेनदास प्रधान, धना खतिवडा र कालीकोट, सिन्धुपाल्चोक, उदयपुर, ताप्लेजुङका जिल्ला सभापतिलगायत भने कार्यक्रममा सहभागी थिए ।
कान्तिपुर दैनिकबाट

ismt college
dish home