sajalsandesh

जाे पेन्सनको पैसाले विद्यार्थीलाई खुवाउँछन् खाजा

काठमान्डौ – विद्यालयमा ३८ वर्षसम्म बालबालिकालाई सावाँ अक्षर सिकाएर जागिरे जीवनबाट अवकाश पाउँदा उनले गरेको अनुभवमध्ये एउटा हो- दिउँसो खाजा खान पाए विद्यार्थीले मन लगाएर पढ्छन्।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङका जनार्दन प्रसाईंले अनुभव मात्रै गरेनन्, व्यावहारिक रूपमा आफूले गर्न सक्नेसम्म गरिरहेका छन्। फावाखोलाको कालिका प्रावि, सादेवाको सिद्धेश्वरी निमावि, फूलबारीको गुप्तेश्वर मावि हुँदै आफ्नै गाउँ हाङपाङको सरस्वती मावि आएपछि १५ वर्ष पढाएका उनले पेसामै रहँदा त्यसलाई कार्यान्वयन गर्न सकेनन्।

एक जनाले मात्रै दिँदा अरू शिक्षकले के भन्लान्, तल्लो कक्षाका लागि दिँदा माथिल्लो कक्षाले हामीलाई चाहिँ किन नदिएको भन्ने सोच्लान् जस्तो लाग्थ्यो। जब अवकाश भए, त्यही दिनबाट आफूले पढाएको अन्तिम विद्यालयमा खाजा कार्यक्रम सुरु गरे।

२०६८ मंसिरमा अवकाश भएका उनले अझैसम्म यसलाई निरन्तरता दिएका छन्। अवकाश भएकै दिन खाजा कार्यक्रमका लागि ५० हजार रुपैयाँ विद्यालयलाई बुझाए। आमाबुबाको निधनपछि बरखीको सेता लुगा लगाएका बेला आमा पवित्रा प्रसाईंका नाममा खाजा कार्यक्रम सुरु गरे। उनका आमाबुबाको चार महिनाको अन्तरमा निधन भएको थियो।

उनको योजनाअनुसार विद्यालय पुरी, तरकारी र रोटीलगायतका खाजा खुवाइदिन सहमत भयो। सुरु गर्दा खाजा खाने बालकक्षामा २६ जना विद्यार्थी थिए। अहिले विद्यालयले प्राथमिक तहलाई खाजा खुवाउँछ।

नर्सरी तहको जिम्मा भने उनकै छ। विद्यालयले पठाएको बिलको रकम उनी भुक्तान गर्छन्। बालकक्षाकालाई मात्रै खुवाउँदा उनको मासिक १६ हजार रुपैयाँ खर्च हुन्छ। मासिक २५ हजार पेन्सन आउने भएकाले उनले त्यही रकमबाट विद्यालयलाई खाजा खर्च दिने गरेका छन्।

‘मैले पढाउँदाताका पनि हरेक दिन गोजीमा चकलेट, अमला, अम्बाजस्ता फलफूल र मिठाई बोकेर स्कुल पुग्थें,’ प्रसाईंले भने, ‘नानीहरू झुम्मिन्थे। अवकाश पाए पनि उनीहरूलाई खाजा खुवाउन पाउँदा खुसी लाग्छ।’ यो खबर आजको कान्तिपुरमा आनन्द गौतमले लेखेका छन्।

दुई छोरा र एक छोरीका पिता ६९ वर्षीय प्रसाईं श्रीमती लक्ष्मीका साथ गाउँमै बस्छन्। खाजा कार्यक्रम मात्रै नभएर विद्यालयको भवन निर्माणलगायतमा पनि सहयोग गरेका छन्।

ismt college
dish home