देउवाले पार्टी चलाउन जानेनन् : शशांक

२०७६ पुष २६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भरतपुर – नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताउनु भएको छ ।

भतरपुर विमानस्थलमा सञ्चारकर्मीसँग नेता कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने जिकिर पनि गर्नु भयो । “म चार वर्षसम्म चुप लागेर बसेको थिए । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछकी भनेर तर आएन । अति भएपछि मुख खोल्न बाध्य भए । अबको महाधिवेशनले नेतृत्व परिवर्तन गर्छ ।”

सुरुमा पार्टी नेतृत्वको विरोध गर्दा पार्टीनै विभाजन हुने भएकाले समय कुरेर बसेको उहाँको भनाई थियो । अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सञ्चालन प्रकृयामा कुनै स्पष्ट खाका आउन सकेको नसकेको पनि कोइरालाले थप्नुभयो ।

सभापति देउवाप्रति कडा रुपमा प्रस्तुत हुनुभएका महामन्त्री कोइरालाले अबका दिनमा काँग्रेसले के गर्दा देश उन्नति तर्फ जान्छ भन्ने सोच्नु पर्ने बताउनुभयो ।
सरकारले पनि केही काम गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनता निरासमा छाएको उहाँको भनाइ थियो ।

महामन्त्री कोइरालाले अगाडि भन्नुभयो “सभापतिहरुको भेला हामीले नै बोलाएको हो । बरिष्ठ नेता र महामन्त्रीको हैसियतले बोलाएका थियौ ।” भेलाको सन्देशपछि पार्टीले पुष ११ गते गरेको निर्णय सच्चिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

‘टेक्निकल रुपमा पार्टी भित्र हामीले गरेको बहिस्कार गरेपछि सभापति देउवा केही नरम हुनुभएको छ’, उहाँले भन्नुभयो । सभापति देउवाले निर्णय सच्याउनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार