sajalsandesh

गुटले कांग्रेस बिग्रियो , यसले मुलुकलाई पनि क्षति पुर्याउँछ : सुजाता

काठमाडौं – नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले गुटका कारण कांग्रेस बिग्रिएको बताएकी छन्। ‘गुट र उपगुट पार्टीका लागि राम्रो होइन, गुट समाप्त हुनुपर्छ’, शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘गुटले पार्टीलाई त बिगारेकै छ। यसले कांग्रेसलाई मात्र होइन, मुलुकलाई पनि क्षति पुर्याउँछ।’

उनले कांग्रेस बनाउन गुट समाप्त गर्नुपर्नेमा जोड दिइन्। उनले गुटको अन्त्य भए आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने दाबीसमेत गरिन्। ‘कांग्रेस बनाउन गुटलाई समाप्त पार्नुपर्छ। कसैले पनि गुटको राजनीतिक गर्नु हुँदैन’, उनले थपिन्, ‘गुटको राजनीति नगरी मिलेर चुनाव लड्यौँ भने हामी बहुमत ल्यएर आगामी चुनाव जित्न सक्छौँ।’

पार्टी सभापति शेरबहादुर देउवाको कमजोरी भनेकै गुटको राजनीति भएको उनको आरोप छ। ‘सभापतिको कमजोरी भनेकै उहाँले गुटको राजनीति गरेको देखिन्छ’, उनले देउवालाई सुझाव दिँदै भनिन्, ‘सभापतिले गुट समाप्त पारेर ठूलो हृदयका साथ सबैलाई समेटेर अगाडि बढ्नुपर्छ। पार्टी आफै बन्छ।’

उनले कांग्रेसको कमजोरी नै गुट भएको उल्लेख गरिन्। गुटकै कारण संगठन बन्न नसकेको उनको बुझाई छ। ‘कांग्रेस कमजोरको कारण नै गुट हो। गुटले गर्दा संगठन बन्न सकेन’, उनले भनिन्, ‘एउटा नेताको एउटा गुट, अर्को नेताको अर्को गुट छ। एउटाले अर्कोको कुरा नमान्ने, अर्कोले अर्कोको नमान्ने अवस्था छ। कांग्रेसले गुट अन्त्य गर्ने पहल गर्नुपर्छ तर त्यस्तो लिडरसीप नै भएन। त्यसैले पार्टी कमजोर भयो।’

उनले अन्य पार्टी गुट भए पनि कांग्रेसको जस्तो समस्याको रुपमा नभएको बताइन्। ‘प्रजातान्त्रिक सिस्टमा सबै पार्टीमा गुट हुन्छन्’, उनले भनिन्, ‘तर, कांग्रेसमा सबैभन्दा ठूलो समस्याको रुपमा गुट देखिएको छ।’

ismt college
dish home