खानेपानीमन्त्री बीना मगरज्यू, नेपालको पानी कहिले कतारलाई बेच्ने ?

२०७६ पुष २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेपाल जलस्रोतको दोस्रो धनी देश । नेपालका ठूला नदीको मुहान हिमाली क्षेत्र रहेका छन् । विद्युत उत्पादनसँगै नेपालले पानी निर्यात गर्ने विषयमा छलफल गरेको थियो ।

एक वर्ष अघि खानेपानीमन्त्री बीना मगरले नेपालको पानी कतार निर्यात गर्ने बताएकी थिइन् । १९ चैत २०७५ मा कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँगको शिष्टाचार भेटघाटमा मन्त्री मगरले नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिएकी थिइन् । नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको पनि उनले बताएकी थिइन् ।

नेपालको पानी त्यसै खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै मन्त्री मगरले भनेकी थिइन्, ‘ ‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर कतार निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ ।’सोही क्रममा कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको बताएको जानकारी दिइएको थियो । तर, मन्त्री मगरले पानी कतार निर्यात गर्ने बताएको एक वर्ष पुग्न लाग्दा यसबारे थप कार्य भएको देखिँदैन ।

नेपाली नागरिकले नै स्वच्छ पानी खान नपाएका बेला मन्त्री मगरको पानी कतार निर्यात गर्ने कुराले सबैलाई मेलम्ची खानेपानी आयोजनाको स्मरण गराएको थियो । मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीलाई खुवाउने लक्ष्य हालसम्म पूरा हुन सकेको छैन । एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा बनिरहेको मेलम्ची आयोजनाले हालसम्म पूर्णता पाएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार