खोला उत्खननको विरोध गर्ने युवकलाई टिपरले किचेर सिध्याइयो

२०७६ पुष २५, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुरधाम – अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकलाई टिपरले किचेर सिध्याइएको छ ।

धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर ज्यान लिइएको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले उत्खननको विरोध गर्ने युवकलाई ना.७ ख ६४१३ नम्बरको टिपरले किचेरको बताए ।

महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यही उनीमाथि टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक यादवले बताए ।

मृतकको शवलाई परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिपर र टिपरका चालकलाई नियन्त्रणमा लिइएको छ । चालकको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार