sajalsandesh

नेकपाले संसदको मानहानी गरेको भन्दै कांग्रेस नेता अदालत जाने

काठमान्डौ – सभामुखको निर्वाचन पर धकेलेको तथा प्रदेशको नाम र राजधानी तोक्ने प्रदेशको अधिकार खोसेको भन्दै नेपाली कांग्रेसले सत्तारुढ नेकपाको आलोचना गरेको छ ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद जीतेन्द्र नारायण देवले नेकपाले संसदको अधिकार खोसेको र मानहानी गरेको आरोप लगाएका हुन् ।

‘प्रदेशको राजधानी कसले राख्ने भन्ने संविधानले प्रदेशलाई दिएको छ तर प्रदेश ३ का एक सांसदले विष पिउने वा पार्टी छाड्ने अवस्था आएको भनेर वक्तव्य दिएका छन्,’ सांसद देवले भने, ‘सभामुखको निर्वाचन वा प्रदेशको नामाकरण संविधानको अक्षर र भावनामा हुने कि यो विषय पार्टीको नाममा शीर्ष नेताको निरंकुशताको बन्दी हुने ? संवैधानिक प्रश्न तेर्सिएको छ ।’

सांसद देवले प्रतिनिधिसभा सभामुख चयनमा पनि नेपाले निरंकुशतावादी चरित्र देखाएको आरोप लगाए । ‘सभामुखको चुनाव स्पष्ट संवैधानिक व्यवस्था छ, २७ गतेबाट सभामुख चयनको प्रक्रिया अगाडि बढाइयोस् । सभामुख चयन प्रक्रिया रोकेर संसदको मानहानी भइरहेको छ, यो विषय अदालतमा जान सक्छ । संसदीय लोकतन्त्रको प्रतिष्ठा र अधिकारको अवमूल्यन भइरहेको छ ।

कम्युनिस्ट पार्टीभित्र केन्द्रीय समितिको नाममा पोलिटब्यूरो, पोलिटब्यूरोका नाममा स्थायी समिति, स्थायी समितिको नाममा सचिवालय र सचिवालयको नाममा १–२ नेताले निर्णय गरेर आम कार्यकर्ता आँसु बगाएर बस्नुपर्ने देखिन्छ,’ सांसद देवले भने, ‘संविधान र लोकतन्त्रप्रति आस्था छ भने यो समस्यालाई धेरै दिन अड्काएर राख्नु हुँदैन । प्रदेश नम्बर ३ लाई नियमावली अनुसार प्रदेशको नाम राख्ने निर्णय दिनुपर्दछ । २७ गते प्रतिनिधि सभाले सभामुख निर्वाचन गर्न पाउनुपर्छ ।’

नेकपाको राजनीतिक सिद्धान्तप्रति उनले प्रश्न गरे, ‘संविधान नमान्ने यो पार्टी बहुदलीय जनवाद छाडेर एकदलीय तानाशाहीमा गएको हो ?’

ismt college
dish home